नौलो बहुउद्देश्यीय सहकारीद्वारा खुला रक्तदान

मेचीकाली संवाददाता

१५ कार्तिक २०८३, शनिबार
16 shares

बुटवल, कार्तिक १४ । बुटवल उपमहानगरपालिका वडा नम्बर–७ दिपनगरस्थित नौलो बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले खुुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रम अन्तर्गत शनिबार दिपनगर सोमबारे हाटबजारमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमको उद्घाटन नेपाल स्वयमसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले चाडपर्वको कारण रुपन्देहीमा रगतको अभाव देखिएको भन्दै निरोगी सबै व्यक्तिले रक्तदान गर्न आग्रह गरे । नौँलो सहकारीले जस्तै जिल्ला सबैजसो सहकारीले रक्तदान कार्यक्रम राख्न आवश्यक देखिएको बताए । उनका अनुसार अहिले जिल्लामा दैनिक १५० युनिट रगतको माग छ ।

कार्यक्रम सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठले सहकारी सामाजिक कार्यमा निरन्तर लागिरहने बताए । अध्यक्ष श्रेष्ठले आफूले नियमित वार्षिक कार्यक्रम अनुसार रक्तदान गर्दै आइरहेको बताए । सहकारीका शिक्षा समिति संयोजक तथा रक्तदान कार्यक्रम संयोजक विकास जंग बस्नेतले प्रत्येक स्वस्थ युवाहरुले आफ्नो १८ औं जन्मदिनपछि नियमित रक्तदान गर्नुपर्ने बताए । सो अवसरमा ३८ युनिट रगत संकलन भएको बस्नेतले जानकारी दिए । सहकारीका करिब ५ सय जना शेयर सदस्य छन् ।