बुटवल । बुटवल–१२, तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । बिहीबार एक समारोहकाबीच सुविधासम्पन्न नयाँ भवनको वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले उद्घाटन गरे ।
संस्थाका ज्येष्ठ शेयर सदस्य ८९ वर्षीय गनबहादुर सुस्लिङ, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार संयोजक सूर्यबहादुर राना र ज्येष्ठ महिला सदस्य यमकुमारी पौडेलले संस्थाको नाम अङ्कित पट्टिका संयुक्त रूपमा अनावरण गरीएको थियो । सोही अबसरमा संस्थाका जन्मदाता स्वर्गीय बखानसिंह गुरुङको तस्बिरमा माल्यार्पण गरीएको थियो ।
संस्थाका अध्यक्ष भीमबहादुर थापाले भवन निर्माणको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०६० मा स्थानीय शिक्षित युवाहरूको पहलमा स्थापित भई २०६५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको संस्थामा हाल १ हजार ६३० जना शेयर सदस्य आबद्ध रहेको जानकारी दिए ।
दुई दशकभन्दा लामो सहकारी यात्रामा आफ्नै भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याउनुलाई संस्थाले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको उनले बताए । नयाँ भवनबाट सदस्यहरूलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह हुनुका साथै संस्थाको पहिचान, संस्थागत विकास र दीर्घकालीन स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, गुणस्तर, मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर निर्माण कार्य सम्पन्न गरिएको उनले बताए ।
उपाध्यक्ष प्रकाशमणि खनालको स्वागत तथा सचिव तीर्थराज काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको संस्थाका सञ्चालक झबिन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

