एनपिएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

मेचीकाली संवाददाता

२० कार्तिक २०८३, बिहीबार
1 shares

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२।०६ को स्ट्राइक रेटमा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन् ।

विराटनगरको लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्त्वपूर्ण बनेको थियो । आक्रामक ब्याटिङ गरिरहेका उनले छोटो समयमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन् ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित रसेलसँगै नेपाली ब्याटरले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रता लिनु घरेलु क्रिकेटका लागि सकारात्मक पक्ष हो ।

लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पुर्‍याउन थालेका छन् ।

विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीले एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताउनुभयो । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक सङ्केत भएको उहाँको भनाइ छ ।

“जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो”, पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहनुभएका चौधरीले रासससँग भन्नुभयो ।

ब्याटिङमा मात्र नभई बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८।२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् ।

सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । कप्तानीसँगै बलिङ र ब्याटिङ दुवैतर्फ जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्त्वपूर्ण बनेको छ ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङ्ग्यान्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन् । उनीहरू दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन् । उनले चार खेलमा ६।१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ ।

जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुरको दुई जितमा राहुलको योगदान महत्त्वपूर्ण रहेको छ ।

कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइसकेका छन् । अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएर आत्मविश्वासपूर्ण प्रदर्शन गरेका राहुल नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक सम्भावना भएको जनकपुरमा आबद्ध इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले बताएका छन् । उनले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमासमेत दिएका छन् ।

विराटनगर किङ्सका निर्देशक चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तरराष्ट्रियस्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको सङ्केत गरेको उनको भनाइ छ ।

“विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ”, उनले भने।

नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वछनोट समिति संयोजकसमेत रहेका चौधरीले प्रतियोगिताभर नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गरे । पूरा सिजनमा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उनको भनाइ छ ।
(((