देवदह । लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको शान्ति पोस्टर प्रतियोगिता बुधबार देवदहमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष बिनिता श्रीसको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी, नेपालका पास्ट डिस्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै प्रधानाङ्गले पोस्टर प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने सिर्जनात्मक प्रतियोगिता भएको उल्लेख गरे । यसले बालबालिका तथा विद्यार्थीहरूमा शान्ति, सद्भाव, विश्वबन्धुत्व र सकारात्मक सोचको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा डिष्ट्रिक कोअडिनेटर सीता भट्टराईको विशेष उपस्थिति रहेको थियो। साथै, न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल लायन विनोद थापा मगरको पनि उपस्थिति रहेको थियो । विद्यालयका तर्फबाट प्रतियोगिताको समन्वय लायन लक्ष्मी थापा मगरले गरेी थिइन । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान देवदह बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा जेसा राना मगर, द्वितीय स्थान एसियन लाइट इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा जिनिशा घर्ती मगर तथा तृतीय स्थान सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा कामना राई हासिल गर्न सफल भएका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य क्लबका अध्यक्ष लायन बिनिता श्रीसले व्यक्त गरेकी थिइन । कार्यक्रम सञ्चालन क्लबका सचिव पूजा ढुंगानाले गरेकी थिइन ।

