बिष्णुहरि आचार्य (योगिराज)
आज नेपाल सरकार स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयको अभिभावकत्वमा ‘प्रकृति अनुकुल आहार, औषधी र बिहार रोग मुक्त समाजको आधार’ भन्ने आदर्श वाक्यका साथ नागरिक स्वास्थ सचेतनासँगै स्वास्थ प्रवद्र्धनको मुख्य लक्ष्य राखेर २७ औं राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती मनाइँदै छ ।
सन्तुलित आहार, योग ध्यान, व्यायाम र आयुर्वेदीय जीवनशैली अपनाऔँ । स्वस्थ रहौँ, नसर्ने रोग र मानसिक तनाव जन्य रोगबाट बचौँ भन्ने ऋषि धन्वन्तरिको धेरै वर्ष पहिलाको वैज्ञानिक अन्वेषणको महत्व अहिले झन बढेर गहिरहेको छ ।
मानव सभ्यताको अध्यन गर्दा पृथ्वी सृष्टिको केही समयपछि पृथ्वी लोकमा विभिन्न किसिमका जीवजन्तु, सजिव प्राणीका साथै मानव जातिको विकास भएको पाइन्छ । त्यो समयमा पृथ्वीमा धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो । इतिहासको अध्यन गर्दा मानव जातिको क्रमागत विकाससँग दुई किसिमको संस्कृति जोडिएको थियो । जसमध्ये एउटा देवता र ऋषि संस्कृति थियो भने अर्को दैत्य र राक्षसहरुको । देवता र ऋषि संस्कृति तथा दैत्य र राक्षस प्रवृत्तिबिच बेला बेलामा द्वन्द्व र लडाइँहरु चलिरहन्थे । पटकपटका द्वन्द्वहरु बाट कुनै पनि उपलब्धि नभेटिने देखेपछि दुवै पक्षबिच समुद्र मन्थन गर्ने निष्कर्ष निस्कियो । समुन्द्र मन्थनको साझा प्रयास पछि ऋषिहरु र दैत्यहरु समुन्द्र मन्थनमा सहभागी भए ।
समुन्द्र मन्थनको क्रममा धन्वन्तरि नाम गरेका ऋषि दुवै हातमा अमृत कलश लिएर प्रकट भए । जुन कलशमा चार वटा भुजाहरु थिए । चार भुजामध्ये माथिल्लो दुई भुजामा शंख र चक्र थिए भने अन्य दुई भुजामा एउटामा जलौका (जुका) र अर्कोमा अमृत जलसहित विभिन्न किसिमका औषधीय वनस्पति जडिबुटी, रस, रसायनहरु थिए । यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात् काग तिहारको दिन थियो । जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरि जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ ।
त्यसपछिको समय ऋषि धन्वन्तरिले पृथ्वीमा भएका विभिन्न किसिमका वनस्पति, जडिबुटी, रस,रसायनको अध्यन गर्दै तिनमा भएका राम्रा नराम्रा गुण एवं औषधीय विशेषता पत्ता लगाई त्यो ज्ञान अन्य ऋषिहरु हुँदै आम नागरिकसम्म ल्याउने काम गरे । जसले रोगी व्यक्तिहरुको रोग न्यूनीकरण गर्न र निरोगी व्यक्तिहरुको स्वास्थ्यलाई चुस्त दुरुस्त राख्ने चिकित्सकीय सचेतता अभियानको सन्देश प्रवाह ग¥यो । त्यसैले उत्त दिनलाई आरोग्य दिवस पनि भनिन्छ । आयुर्वेदको इतिहासलाई अध्यन गर्दा विभिन्न ग्रन्थमा आयुर्वेद सम्बन्धी आलेखहरु उपलब्ध भएको उल्लेख गरिएता पनि आयुर्वेद विज्ञानको भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरिसंहिता नै भएको प्रष्ट हुन्छ । आयुर्वेद विज्ञानका अन्य अनुसन्धान कर्ता चरक, सुश्रुत आदि ऋषिहरुले पनि आयुर्वेद ज्ञान् धन्वतरिद्वारा नै प्राप्त गरेको विभिन्न अध्यनहरुले पुष्टि गरेको पाइन्छ ।
धन्वन्तरिको समय इसा पूर्व ७ हजार वर्ष पहिला भएको थियो । उनी कासिका राजा धन्वका पुत्र थिए । उनले शल्य (चिरफार) मा समेत महत्वपूर्ण अध्यन गरेका थिए । धन्वन्तरिका नाति दिवोदास धन्वन्तरीले त्यसलाइ परिमार्जन गरी अहिलेको शल्य (सर्जरी ) चिकित्साको विकास गरेका थिए । त्यसैले सर्जरी उपचारको पहिलो ज्ञाताको अभिभारासमेत धन्वन्तरी ऋषिलाई जाने गर्छ । वर्तमान समयमा आमनागरिक हामी सबै कुनै न कुनै रोग व्याधि र मनोत्राश जन्य मानसिक कारणले अस्वस्थ हुने क्रम दिन प्रतिदिन बड्दै छ ।
कुनै पनि एउटा चिकित्सा पद्धति आमनागरिकमा देखिने फरकफरक किसिमका स्वास्थ समस्याहरु व्यवस्थापन गर्न अपुरो भएको हामी सबैले महसुस गरेको विषय हो । त्यसैले विभिन्न काल खन्डमा विभिन्न अनुसन्धान कर्ताहरुले अनुसन्धान गरेका चिकित्सा विधाहरु र योग ध्यानलाई समय सापेक्ष बनाउँदै अघि बढ्न सकेमा रोग न्यूनीकरण र नागरिक स्वास्थ्य प्रवद्र्धनमा टेवा थपिने छ । जय धन्वन्तरी जय आरोग्य दिवस । (लेखक लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीमा कार्यरत योग आयुर्वेद अभियान्ता हुन् ।)

