तुलसीराम पौडेल
फर्साटिकर, कार्तिक २१
रुपन्देहीको शुद्धोधन गाउँपालिका-४, सौफर्साटिकरमा रहेको गणपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रुपमा सहकारीका शेयर सदस्य एवं शुद्धोधन गाउँपालिका वडा नं. ४ का अध्यक्ष केशव अधिकारी रहेका थिए ।
कार्यक्रममा संचालक समिति सदस्य ठागे प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव केशवराज कँडेलले गरेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष गोविन्द घिमिरेले संस्थाको वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक लिला गिरिले लेखा प्रतिवेदन र कोषाध्यक्ष लालबहादुर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सल्लाहकारहरु दलबहादुर थापा र टंकनाथ अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थालाई यहाँसम्म ल्याउन जीवनभर पसिना बगाउनुभएका, सहकारीको जग बसाल्नुभएका ६५ वर्ष उमेर पूरा गर्नुभएका आदरणीय बुबाआमाहरुलाई दोसल्ला ओढाएर, सम्मानपत्रले सम्मान गरिएको थियो।
उहाँहरुको अनुभव, त्याग र आशीर्वाद नै संस्थाको सबैभन्दा ठूलो पूँजी भएको बताउँदै कार्यक्रममा उपस्थित सबैले उहाँहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
सहकारीले लिएको ऋणलाई समयमै, इमानदारीपूर्वक तिरेर सहकारीप्रति विश्वास र अनुशासन देखाउनुभएका असल ऋणीलाई सम्मान गरिएको थियो।

सहकारीको कारोबारलाई बलियो बनाउन असल ऋणीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले उहाँहरुलाई सम्मान गरिएको संस्थाले जनाएको छ
यसैगरी माध्यमिक तह, स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएर गाउँको नाम उज्वल पार्ने शेयर सदस्यका सन्ततिहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव अधिकारीले सहकारीका अगाडि धेरै चुनौती रहेपनी सबैको सक्रियतामा समाधान हुने बताए ।


