तुलसीराम पौडेल
सियारी, कात्तिक २१
सियारी गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय शिक्षक कवितप्रतियोगिता बिहिवार सम्पन्न भएको छ।
प्रतियोगितामा आफ्ना शब्द र भावनाले सबैको मन जित्दै पब्लिक नमुना माध्यमिक विद्यालयका आदरणीय शिक्षक छविलाल न्यौपाने प्रथम हुनुभएको छ। उहाँको कविताले दर्शकको मन छोएपछि उहाँले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान प्राप्त गर्नुभएको छ।
त्यसैगरी आफ्ना मिठा शब्दहरूले सभाहललाई नै भावुक बनाउनुभएकी सरस्वती ज्ञान निकेतन इङ्लिस सेकेन्डरी स्कुलकी शिक्षिका पुष्पा रानाभाटले दोस्रो स्थान हासिल गर्नुभएको छ। उहाँले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ।
भावना र सिर्जनाको सुन्दर संगम पस्कनुभएकी विरेन्द्र माध्यमिक विद्यालयकी शिक्षिका खुमा भण्डारीले तेस्रो स्थान प्राप्त गर्नुभएको छ। उहाँले ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ।
प्रतियोगितामा सान्त्वना हुनुभएका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
जनता माध्यमिक विद्यालयका रामप्रसाद घिमिरे, गणसारी माध्यमिक विद्यालयकी शर्मिला पौडेल र समय माध्यमिक विद्यालयकी शिक्षिका योगमाया गुरुङले पनि आफ्ना कवितामार्फत सबैको मन जित्नुभएको थियो। उहाँहरू प्रत्येकले ३ हजार ३ सय ३३ रुपैयाँ सान्त्वना नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र शिक्षा शाखा प्रमुख सुधिर पौडेलले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा अधिकृत शिला पन्थीले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष थानेश्वर घिमिरेले कविता शिक्षकको मात्र सिर्जना नभई विद्यार्थीलाई सिकाउने, समाजलाई सोच्न लगाउने र भाषा-संस्कृतिलाई जोगाउने माध्यम भएको बताउनुभयो। शिक्षकहरूमा रहेको सिर्जनात्मक प्रतिभालाई यस्ता प्रतियोगिताले उजागर गर्ने भएकाले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो।


