तुलसीराम पौडेल
सियारी, कात्तिक २१
रुपन्देहीको सियारी गाउँपालिकामा तिहार, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा प्रथम त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
सोही कार्यक्रमको शुभ अवसरमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आफूले प्राप्त गर्नुहुने सेवा सुविधाबाट सियारी गाउँपालिका वडा नं. ७ निवासी करन मल्लाहलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
हवाईजहाज लगायत विभिन्न प्रकारका उड्ने नमुना तथा यन्त्रहरूको निर्माण गर्ने मल्लाहको सिर्जनात्मक प्रतिभा र नवीन सोचलाई प्रोत्साहन एवं थप हौसला प्रदान गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। करन मल्लाहले केही महिना अगाडि आफैले बनाएको नमुना हवाईजहाज सफलतापूर्वक उडाएर सबैको ध्यान तान्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा नेपाली कांग्रेसका सूर्यनारायण यादव, नेकपा एमालेका सन्तबहादुर कुँवर, नेकपाका चन्द्रकान्त शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र रानाभाट र समाजसेवी विश्वबहादुर बानियाँले शुभकामना मन्तव्य दिनुभयो ।
उहाँहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचारा बढाउने बताउँदै सबैलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको थियो।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष घिमिरेले चाडपर्वले सबैलाई जोड्ने र एकताको सन्देश दिने बताउनुभयो। उहाँले भन्नुभयो, “तिहार, नेपाल संवत् र छठ जस्ता पर्वले हामीलाई एकतामा बाँध्छन्। यही पावन अवसरमा करन जस्ता सिर्जनशील युवालाई प्रोत्साहन गर्न पाउँदा खुसी लागेको छ। यो सहयोग रकम ठूलो होइन, तर उहाँको प्रतिभालाई सम्मान र हौसला हो।”
गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सिर्जनशील र प्रतिभावान् युवाहरूलाई खोजेर प्रोत्साहन गर्दै जाने अध्यक्ष घिमिरेले बताउनुभयो।
कार्यक्रममा प्रथम त्रैमासिक समीक्षा समेत गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनाभित्र पालिकाका प्रत्येक शाखाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी प्रशासन प्रमुख रोमलाल पुरीले वडाहरूको गतिविधि एवं प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
सहयोग पाएपछि करन मल्लाहले आफूलाई अझै नयाँ-नयाँ यन्त्र बनाउन हौसला मिलेको बताउँदै अध्यक्षप्रति आभार व्यक्त गर्नुभयो ।

