निर्वाचनपछि सुकुम्बासी समस्या समाधान हुन्छः पौडेल

मेचीकाली संवाददाता

१७ कार्तिक २०७९, बिहीबार
422 shares

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा बितरण गर्ने बताएका छन् ।
बिहीबार बुटवलमा चुनावी भेलामा बोल्दै नेता पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दावी गरे । यसअघि एमाले नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पु¥याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथामिकताका साथ काम गर्ने पौडेलले बताए ।

‘लालपूर्जा सर्वाधिक चासोको विषय हो’ पौडेलले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथामिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । सुकुम्बासीका विरोधीहरुले अदालतमा गएर यो काम रोकी पाउँ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाड्न पाइदैन नयाँ कानून बनाएर मात्र काम सुरु गर्नु भनेर फैसला गर्दा यो काम रोकिएका हो ।’

पौडेलले थपे, ‘भूमिहीनको पक्षमा पहिलो कानून बनाएका छौं । त्यही अनुसार निर्वाचनपछि जग्गाधनी प्रमाणपत्र एमालेले वितरण गर्नेछ । अरु कुनैपनि दलले गर्न सक्दैन । निर्वाचनपछि उच्च प्राथामिकताका साथ यो काममा लाग्छौं । लालपूर्जा वितरण गछौं ।’
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यही अनुसार काम अगाडि बढाउने समेत बताए । भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ । रुपन्देही विकासका दृष्टीले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको पौडेलको भनाइ छ ।

चुनावको समयमा जथाभावी आरोप लगाउने र बदनाम गर्ने कोशिस हुने भन्दै उनले कसैलाई आरोप नलगाई आफूले गरेका काम र एजेण्डा जनतामाझ लैजान एमाले कार्यकर्ताहरुलाई अपिल गरे । पौडेलले भने ‘राजनीतिलाई गालीगलौज र आरोप प्रत्यारोप भन्दा माथि उठाएर मर्यादित बनाऔं ।’