गार्गी एकेडेमीमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम

मेचीकाली संवाददाता

५ मंसिर २०८३, शुक्रबार
83 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले स्तन क्यान्सरबाट पीडित शिक्षिकाको उपचारमा सहयोग पु¥याउन मौलिक देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयमा अध्यापनरत शिक्षिका जुनु जोशीको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले शुक्रबार विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष झविन्द्र अधिकारीले मौलिक देउसीभैलोको संरक्षण आवश्यक रहेको बताए । नेपाली संस्कृति, पहिचान र पुख्र्यौली परम्परालाई जीवन्त राख्न मौलिक देउसीभैलो खेल्ने परम्परालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।
विद्यालयका प्राचार्य भुवन अधिकारीले भावी पुस्तालाई मौलिक संस्कृति हस्तान्तरण गर्दै यसको संरक्षणको महत्त्व बुझाउन विद्यालय तहबाटै यस्ता कार्यक्रम आयोजना गरिएको बताए । उनले उपचाररत शिक्षिका जोशीका लागि विद्यालय परिवार, शिक्षक तथा कर्मचारीबाट १ लाख १४ हजार ८३५ रुपैयाँ सहयोग संकलन गरिएको जानकारी दिए । कार्यक्रममा विद्यालयका सल्लाहकार राजेन्द्र ढकालले विद्यालयले आफ्ना सदस्यको सुखदुःखमा साथ दिँदै अघि बढेकोमा खुसी व्यक्त गरे । विद्यालयका निवर्तमान अध्यक्ष रणबहादुर थापाले छोटो समयमै गार्गी एकेडेमीले सफलता हासिल गर्नुमा सबैको एकता र सहकार्य महत्त्वपूर्ण रहेको बताए । त्यस्तै, विद्यालयका सञ्चालक जीवनप्रसाद अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यबाट यस्ता रचनात्मक तथा सामाजिक कार्य सम्भव हुने धारणा राखे ।
कार्यक्रममा शिक्षक भुवन अधिकारीले आफ्नै मौलिक भाकामा देउसी गीत प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति राखेर दर्शकको मन जितेका थिए । कार्यक्रमको सञ्चालन माध्यमिक तहका संयोजक समीर अधिकारीले गरेका थिए । विद्यालयमा हाल दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।