मदन भण्डारी कप राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा

मेचीकाली संवाददाता

१ जेष्ठ २०८१, मंगलवार
500 shares

रमेश पराजुली

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जेठ ३ गते बुटवलमा हुने दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला हाफ म्याराथन तथा दौड (रोड रेस) प्रतियोगिता र वाल्कथुनको सम्पूर्ण तयारी पूरा भएको छ । एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ३१ औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको खुला हाफ म्याराथन तथा दौड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

बालकदेखि वृद्धासम्मलाई जोडेर आयोजना गरिएको दोस्रो संस्करणको प्रतियोगितामा देशभरका हजारौँ धावकहरु सहभागी हुने एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । धावकहरुले उत्साहजनक रुपमा नाम दर्ता गराइरहेको उनले बताए । खेलाडीहरुको स्वास्थ्य (मेडिकल) परीक्षण जेठ २ गते दिउँसो साढे ३ बजे कालिका मानवज्ञान माविमा गरिने अध्यक्ष आचार्यले जानकारी दिए । हाफ म्याराथनको दूरी २१ किलोमिटर रहने उनले बताए । हाफ म्याराथनमा मात्रै एक सय बढी धावकहरुले प्रतिस्पर्धा गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियोगिता बिहान ६ बजे राजमार्ग चौराहाबाट सुरु हुनेछ ।

हाफ म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार, चौथो, पाँचौँ र छैठौं हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै १० किलोमिटर (कलेजस्तरीय खुला छात्र र खुला महिला) दौडको विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, चौथो, पाँचाँै र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

५ किमी (विद्यालयस्तरीय खुला छात्र) विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १२ हजार, चौथो, पाँचौँ र छैठौं हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तैगरी ३ किमी (विद्यालयस्तरीय छात्रा) विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार, चौथो, पाँचौँ र छैठौं हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिनेछ भने विद्यालय स्तरीय १० वर्षसम्मका छात्र÷छात्रा (१०० मिटर) दौड र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुका लागि वाल्कथुन प्रतियोगितामा पनि पुरस्कारको व्यवस्था गरिएको एकेडेमीले जनाएको छ ।

प्रतियोगितालाई व्यवस्थित गर्न साइकल टिमसँगै स्वयंसेवक परीचानलन गरीने खेल संयोजक मोहन घलेले जानकारी दिए । सोही अवसरमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नियमित औषधी उपचारका लागि एकेडेमीले दुई वर्षका लागि मासिक ४ हजारका दरले औषधी खर्च उपलब्ध गराउने पनि उनले बताए । प्रतियोगितामा एकेडेमीका केन्द्रिय सदस्य तथा स्वास्थ्य विभाग प्रमुख डा.शक्ति बस्नेतको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरीने उनले बताए । साथै आवश्यक एम्बुलेन्स, पानीलगायतको व्यवस्था गरिएको छ । हाफ म्याराथन, १०, ५ र ३ किलोमिटर दौड प्रतियोगिताका लागि ट्रनिङ पोइन्ट क्रमशः पथ्थरडाँडा, मणिग्राम, ड्राइभरटोल र जानकीनगर कायम गरिएको छ भने योगिकुटीमा आएर प्रतियोगिता समापन हुनेछ ।

‘सबैका लागि खेल’ भन्ने नारासहित मदन भण्डारी स्पोर्टस् एकेडेमी २०६६ पुस १७ गते स्थापना भएको हो । तत्कालीन एमाले महासचिव मदन भण्डारीको स्मृतिमा उनको भावना समेट्ने गरी मदन भण्डारी फाउण्डेशनले एकेडेमी स्थापना गरेको हो । स्थापनापछि यसले खेलाडि उत्पादन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल गतिविधि गरिरहेको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । गत वर्ष शान्तिको कामनासहित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यसपटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।