अमृत गिरी
बुटवल । गुल्मी बिरबासका युवा शंकर शर्मा नौ वर्षअघि कफीबारे सामान्य जानकारी पनि नहुने गाउँले युवाबाट आज कफी नर्सरी, खेती, प्रशोधनदेखि कफीका परिकारसम्मका सीप दिने प्रशिक्षकका रूपमा परिचित भएका छन् । उनले अरु केही युवाहरुलाई साथमा लिएर कफीको सुगन्ध फैलाउने काम गरिरहेका छन् ।
बुटवल उपमहानगरपालिका–९, मिलनचोकमा सञ्चालन गरिएको लुम्बिनी बारिस्टा एण्ड हस्पिटालिटी ट्रेनिङ प्रालि मार्फत उनले हजारौं किशोर किशोरीलाई कफी र खानाका विभिन्न परिकार बनाउने सीप सिकाई दैनिकीमै आत्मनिर्भर बन्ने बाटो खोलेका छन् । भने विदेश जानेहरुका लागि एउटा खोजीको दक्ष जनशक्ति बनाइरहेका छन् ।

प्रालिका म्यानेजिङ डाइरेक्टरसमेत रहेका शंकरको समूहले केवल कफी बनाउने कक्षा चलाएका मात्र होइनन्, उनीहरुले कफीको खेती हुने गाउँमा पुगेर विज्ञहरुलाई समेत साथमै लगेर किसानलाई कफी खेती कसरी सुरु गर्ने, विरुवा उमार्ने, मल–पानी व्यवस्थापन, रोग–कीट नियन्त्रणदेखि ‘रेड चेरी’ संकलन र प्रशोधनका व्यवहारिक सीपसमेत विज्ञहरुको सहायतामा सिकाइरहेका छन् ।
शंकरसँगै सहकार्यमा छन् सूर्य जिसी, लक्ष्मी रिजाल, प्रकाश थापा र सन्तोष बुढा मगर । जिसी प्रालिका अध्यक्ष समेत हुन् । अरु प्रशिक्षक पनि । उनीहरुसँगै विभिन्न विषयका १२ जना प्रशिक्षकले बुटवलको मिलनचोक, भैरहवाको बुद्ध चोक र कपिलवस्तुको जितपुर चोकमा रहेका प्रशिक्षण केन्द्रमा बारिष्टा र हस्पिटालिटी सम्बन्धी सीप सिकाइरहेका छन्, युवा पुस्तालाई दक्ष बनाउन सघाइरहेका छन् ।

यहाँ आधारभुत, एड्भान्स र प्रोफेशनल अन्तर्गतका आवधिक तालिमहरु सञ्चालन हुँदै आएका छन् । यसका लागि सम्बन्धित सरकारी निकायबाट विषयगत अनुमति लिइएको छ भने शुल्क पनि सोही अनुरुप तोकिएको म्यानेजिङ डाइरेक्टर शर्माले बताए । यो समूहले हालसम्म पाँच हजार भन्दा धेरै युवा पुस्तालाई दक्ष बनाइसकेको छ र ती सबैलाई स्वरोजगार र रोजगारयुक्त बनाएको कम्पनीले दाबी गरेको छ । ती सबैको फेहरिस्त सहितको तथ्यांक सुरक्षित रहेको उनीहरुको दाबी छ ।
मुलुकका ५० जिल्लाबाट १६ देखि ४५ वर्ष उमेर समूहको पुस्ताले यहाँ कफी, बेकरी, सुसी, ममोजदेखि विभिन्न खानाका परिकारहरु बनाउन सिकिरहेको छ ।
नेपालमा माग अनुसार कफी उत्पादन नहुँदा बिदेशबाट वर्षेनी करोडौँ मुल्यको कफी आयात भइरहेको छ । उनिहरुले बिदेशी कफीको आयात रोक्न गुल्मीको आँपचौरमा कफीको नर्सरी देखि खेती प्रबद्र्धन सम्मका काम गरिरहेका छन् र त्यहाँ उत्पादन भएको सबै कफी खपत गर्नेगरी सहरमा योजना बनाइरहेका छन् । त्यो गाउँमा मात्रै करिब एक लाख विरुवा कफी लगाउने तयारीमा रहेको प्रालिका म्यानेजिङ डाइरेक्टर शर्माको भनाइ छ । गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरलाई कफीको हब मानिन्छ । अहिले गुल्मीका धेरै ठाउँमा कफीको खेती हुन्छ । यहाँको कफी विश्वमै रुचाइएको कफी मानिन्छ ।
गाउँबाट सुरु भएको शर्माको कफी यात्राले आज धेरै युवालाई रोजगारी, किसानलाई सम्भावना र नेपाली कफीलाई विश्वबजारसम्म पु¥याउने बाटो खोलिदिएको छ ।
जसले सिकाइरहेछन् लोकप्रिय सूची
शंकरले सिकाउने कफी परिकार केवल क्याफेको पेयमा सीमित छैनन्, उनी प्रशिक्षार्थीलाई प्रतिस्पर्धा गराउँदै कफीको बहुपक्षीय प्रयोग पनि देखाउँछन् । एस्प्रेसो, अमेरिकानो, कापुचिनो, लाते, मोका, म्याकियातो, कोल्ड ब्रु, आइस्ड कफी, फ्रेप्पुचिनो, कफी–केक/कफी बिस्कुट, कफी चकलेट/कफी प्रालिन आदि परिकारका साथै बेकरी र सुसीका बिभिन्न प्रकारहरु पनि यिनले बनाउन सिकाइरहेका छन् ।
यी प्राय परिकारका बारेमा सिकाउने विषयगत प्रशिक्षक समेत राखिएको प्रालिका अध्यक्ष जिसीको भनाइ छ । तालिमलाई व्यावसायिकतासँग जोड्दै रोजगारीमुखी बनाउने लक्ष्य रहेको जिसीले बताए ।
भैरहवा शाखाका म्यानेजर लक्ष्मी रिजालले भारतबाट समेत यूवाहरु तालिम लिनका लागि भैरहवा आउने गरेको बताइन् । उनका अनुसार बोल्न, सुन्न नसक्ने व्यक्तीहरुले पनि तालिम लिएर आत्मनिर्भर भएका छन् ।
नवौँ वार्षिकोत्सवमा बिशेष कार्यक्रम
लुम्बिनी वारिष्टा एण्ड हस्पिटालिटी ट्रेनिङ प्रालिले शनिबार बिशेष कार्यक्रमको आयोजना गरी नवौँ वार्षिकोत्सव मनाएको छ । सोही अबसरमा तालिम लिइरहेका प्रशिक्षार्थीहरुको सीप निखार्न प्रतिस्पर्धा समेत गराइएको थियो । प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल भएका समूहलाई पुरस्कारसहित सम्मान गरीएको थियो ।
यस्तो छ नेपाली कफीको इतिहास
नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको सुरूआत भएको मानिन्छ । नेपालमा शुरूदेखि नै रोपण गरेको कफी अराविका जातको हो ।
अराविका कफी पारखीको पहिलो रोजाईमा पर्ने र विश्वमा कुल उत्पादनको झन्डै ७५ प्रतिशत यही जातको उत्पादन हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा बढ्दै गएको छ । सरकारले केही वर्षदेखि कफीको ग्रेड अनुसारको मूल्य निर्धारण गर्दै आएको छ ।
दर्जनभन्दा धेरै मुलुकमा निर्यात
नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । तर मागअनुसार आपूर्ति नहुँदा विगत केही वर्ष कफीको आयात बढेकोमा पछिल्ला दुई÷तीन वर्षमा न्यून मात्रामै भए पनि निर्यात गर्न थालिएको छ ।
नेपालबाट अष्ट्रेलिया, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, हङकङ, जापान द.कोरिया, नेदरल्याण्ड, नर्बे, सिंगापुर, स्वीट्जरल्याण्ड, चाइना, ताइवान, संयुक्त अरब इमिरेट्स तथा अमेरिका र बेलायतलगायतका मुलुकमा निर्यात् भइरहेको भन्सार विभागको तथ्यांकमा छ ।
कफीका फाइदा र सावधानी
वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले कफीका फाइदा धेरे भएको तर, सेवनमा भने सावधानी अपनाउन जरुरी रहेको बताउँछन् । कफीमा रहेको क्याफिन शरीरमा ऊर्जा र चुस्ती ल्याउने प्राकृतिक स्रोत हो । वैज्ञानिक अध्ययनअनुसार दिनमा दुई–चार कप कफी पिउनुले मधुमेह, मुटुरोग, अल्जाइमर्स, डिमेन्सिया, पार्किन्सन्स र कलेजोमा बोसो जम्ने समस्याको जोखिम घटाउन मद्दत गर्छ ।
पाचन प्रणाली सक्रिय राख्ने, मानसिक सतर्कता बढाउने र दीर्घरोगको जोखिम कम गर्ने प्रमाणहरूले कफीलाई स्वस्थ पेयका रूपमा स्थापित गरेका छन् । दिनमा चार कपभन्दा बढी कफी पिउँदा छटपटी, अनिद्रा, मुटुको धड्कन बढ्ने, पेट पोल्ने, चक्कर, हात काँप्ने जस्ता समस्या देखिन सक्छन् । क्याफिनको लत लाग्ने भएकाले अत्यधिक सेवनले ‘विड्रअल’ प्रभाव पनि दिन सक्छ । त्यसैले गर्भवती महिला, १८ वर्षमुनिका बालबालिका तथा मुटु/रक्तचापसम्बन्धी समस्या भएका व्यक्तिले कफी सेवनमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञ रेग्मीको भनाइ छ ।
