लुम्बिनी प्रदेशस्तरीय युवा खाद्य सम्मेलन सम्पन्न

मेचीकाली संवाददाता

२२ असार २०८१, शुक्रबार
359 shares

बुटवल । लुम्बिनी प्रदेशस्तरीय प्रादेशिक युवा खाद्य सम्मेलन तिलोत्तमामा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय युवा परिषद्को सहकार्यमा बिहीबार सम्मेलन आयोजना गरीएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य शान्ति लोधले रोजगारी सिर्जना र विदेशिने युवालाई देशमै रोक्न कृषिलाई व्यावसायिक बनाउनुपर्ने बताइन् । आर्थिक समृद्धिबिना देशको विकास हुनै नसक्ने भएकाले युवालाई व्यावसायिक कृषिमा जोड्न सके मात्रै मुलुकको समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले युवालाई कृषिसँग जोडेर देशभित्रै रोजगारी र उत्पादनमा जोड्नुपर्ने बताइन् । नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई देशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । ‘पछिल्लो समय युवा पुस्तामा कक्षा १२ उत्तीर्ण भएपछि विदेश जानुपर्छ भन्ने नेगेटिभ सोंच विकास भएको छ । यो सम्मेलनले त्यस्तो सोंचलाई नियन्त्रण गर्न सकोस् ।’ उनले भनिन् ।

यस्तै, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकेमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताए । कृषकलाई प्रविधिसँग जोड्न आबश्यक रहेको बताउँदै उनले किसानलाई नयाँनयाँ प्रविधिको प्रयोग गर्न आबश्यक तालिम प्रदान गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए । बाहिरबाट प्राबिधिक जनशक्ति ल्याउँदा यहाँका किसान बेरोजगार हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए ।

राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरेले युवाको नेतृत्व तथा उद्यमशीलताको विकासमा केन्द्रित रहेर काम गर्दै आएको बताए । एफएओ नेपालका प्रतिनिधि युवा विज्ञ सविन लामिछानेले कृषि तथा खाद्य क्षेत्रमा काम गर्दै गर्दा युवाको सक्रिय सहभागितासँगै कृषि, खाद्य र उद्यममा यूवालाई जोड्नका लागि यो सम्मेलन आयोजना गरीएको बताए । युवाका समस्या समाधानका लागि सुझाव संकलन गरीएकोले अबको यात्रा कसरी तय गर्ने भन्ने निर्णय गर्न सहज हुने उनले बताए । बढ्दो युवा पलायन रोक्ने खालका कार्यक्रम सञ्चालन हुने उनले बताए । एफएओ नेपालले प्रादेशिक तथा राष्ट्रिय संस्करणको विकास गरी काम गर्ने योजना बनाएको उनले बताए ।

कृषिमा नवीनतम सोच, कृषिको आधुनिकरण, प्रविधि र लगानीसहित युवा सहभागिताका आयामसँगै कृषि खाद्य प्रणालीको अनुकुलित रुपान्तरण, कृषिमा लगाती प्रवर्धन जस्ता विषयहरुमा वृहत् छलफल गरिएको थियो । उक्त सम्मेलनमा प्रदेशका विभिन्न जिल्लाका कृषि अध्ययन गरीरहेका र अन्य विभिन्न पेशा व्यवसायमा आबद्ध १७० जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम राष्ट्रिय युवा आयोजीत नमुना युवा सांसद २०७८ को युवा राष्ट्रपति प्रकृति पोखरेलको सहजीकरण तथा पुनम विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।