दर्ता नभएका ई–रिक्सालाई कारवाही गर्न मजदुर संगठनको आग्रह

मेचीकाली संवाददाता

१८ भाद्र २०७८, शुक्रबार
504 shares

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुटवल उपमहानगरपालिकामा दर्ता प्रक्रियामा नआउने विद्युतीय रिक्सा (ई–रिक्सा) कारवाहीको प्रक्रिया अगाडि बढाउन ट्राफिक प्रहरीलाई आग्रह गरेको छ । संगठनले शुक्रबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै अटो रिक्साको अविलम्ब व्यवस्थापन गरी बुटवललाई स्वच्छ र दुर्घटनारहित बनाउन आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझाउँदै संगठनका प्रदेश अध्यक्ष कृष्ण कंडेलले बुटवल शहरलाई स्वच्छ र दुर्घटना रहित बुटवल बनाउनको लागि आफूहरू कार्यविधि अनुसार नचलेका रिक्सालाई नियमन गरी कारवाही गर्न आग्रह गरिएको बताए । ई–रिक्सालाई उपमहानगरमा दर्ता गराउन मजदुर संगठनले सार्थक पहल गरेको थियो ।

कंडेलले उपमहानगरपालिकाको निर्णण र विधि विपरीत सञ्चालनमा आएका ई–रिक्साका कारण दुर्घटना बढ्दै जाने र ट्राफिक व्यवस्थापमा समेत बाधा पर्ने हुँदा त्यस्ता रिक्सालाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको बताए ।

बुटवल उपमहानगरपालिकाले जारी गरेको सूचना र त्यसको अवधिमा कागजातसहित आवेदन दर्ता गराएका एक हजार १८ वटा विद्युतीय ई–रिक्साहरुको ब्लुबुक तयार पार्ने र इजाजतका लागि अरु नियामक निकायमा सिफारिस गरिएको छ । उपमहानगरमा दर्ता भएका, ब्लुबुक तयार भएका १ हजार १८ वटा मात्रै ई–रिक्सा चल्न पाउने छन् । १ हजार ८ सय भन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको अनुमान छ ।

ज्ञापनपत्र बुझदै एसपी थापाले उपमहानगरपालिकाले नियमनमा नआएका रिक्सालाई कारवाहीको लागि पत्राचार गरे आफूहरू निश्चित समय तय गरी कारवाही गर्न तयार रहेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य ठाकुर गैरेले आफूहरूको पहलको सुनुवाई नभए संगठन बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए । २०७२ मा भएको नाकाबन्दीको समयमा बुटवलमा अटो रिक्सा भित्रिएका थिए ।