नयाँ बर्ष २०८२ देखि बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युतको महशुल बढायो

मेचीकाली संवाददाता

२ चैत्र २०८१, आईतवार
82 shares


मुक्ति न्यौपाने
वालिङ् । स्याङ्जाका उपभोक्तालाई बिपिसीले नयाँ बर्ष २०८२ देखि आफ्ना उपभोक्तालाई उपहार स्वरूप बिधुत महशुल बढाएको छ ।
बुटवल पावर कम्पनी (बिपिसी), आँधीखोला जलविद्युत् केन्द्रबाट उत्पादन भएको विद्युतको महसुलमा वृद्धि गराउने भएको छ ।
उक्त क्षेत्रका उपभोक्ताहरूले बढेको मुल्यका आधारमा नयाँ बर्ष संगै महसुल समेत महङ्गो र नयाँ दररेटमा बुझाउनु पर्ने भएको छ ।
नेपाल सरकार संगको परामर्श र विद्युत् नियमन आयोगले बिपिसीले गरेको प्रस्तावको आधारमा उपभोक्ताको विद्युत् महसुलमा पुनरावलोकन गरेको बताउदै नयाँ महसुल दर निर्धारण गरेको छ ।
आयोगले प्रकाशित गरेको सूचना अनुसार महसुलमा भारी वृद्धि गरेको छ । सामान्य उपभोक्ता मूल्यमा थोरै वृद्धि गरिएको भए पनि व्यवसाय तथा उद्योगहरूका लागि भने झण्डै सतप्रतिशत वृद्धि गरिएको सार्वजनिक सुचनामा उल्लेख गरिएको छ ।

वैशाखमा आयोगले गरको कायम मूल्यमा केही थपघट गर्दै नयाँ उपभोक्ता महसुल सार्वजनिक गरिएको जारी सूचनामा उल्लेख छ ।
उपभोक्ताहरुले २०८२ वैशाख महिनाको खपत र २०८२ जेष्ठ महिनाको बिलिङ्बाट लागु हुने गरी बढेको महसुल तिर्नु पर्ने आयोगले जनाएको छ ।
जारी सुचना अनुसार ५,१५,३० र ६० एम्पियर विद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले फरक फरक दरमा महसुल तिर्नुपर्ने देखिएको छ । २० युनिट सम्म २० रुपियाँ आधारभुत मूल्य तिर्दै आएका उपभोक्ताले भने अब ३० रुपियाँ तिर्नु पर्ने आयोगले बताएको छ ।
५ एम्पियरको विद्युत् जडान गरेका उपभोक्ताले २५० युनिटमाथि खपत गर्दा आधार दर ८० तिर्दै आएका थिए । अब १५० तिर्नु पर्ने छ । यस्तै ७ रुपियाँ तिर्ने उपभोक्ताले ९ रुपियाँ ६० पैसा तिर्नु पर्ने छ ।

स्याङ्जाका अधिंकास घरहरुमा ५ र १५ एम्पियरको विद्युत् जडान रहेको बिपिसीले जनाएको छ । १५ एम्पियरमा ३० देखि ८० रुपियाँसम्म आधार दरमा पैसा तिर्दै आएको उपभोक्ताले अब ५० देखि १७५ रुपियाँसम्म तिर्नुपर्ने भएको छ । यस्तै प्रति युनिट दुई रुपियाँ ६० पैसा देखि ७ रुपियाँ तिर्दै आएका उपभोक्ताले अव ३ रुपियाँ ६० पैसा देखि ९ रुपियाँ ६० पैसासम्म तिर्नुपर्ने आयोगले बताएको छ ।

आयोगले निकालेको सूचना अनुसार खानेपानी, सिँचाइ लगायतका क्षेत्रमा समेत महसुल वृद्धि गरिएको छ । विद्युतीय गाडीको चार्जिङ स्टेसनका लागि दिउँसोमा भारी मुल्य वृद्धि गरिएको छ भने रातिको समयलाई सामान्य महसुल कायम गरिएको जारी सुचनाले बताएको छ ।

यश अगाडि विद्युत् नियमन आयोगले २०८१ वैशाख १७ गते महसुल वृद्धि गरेको थियो । यस क्षेत्रका उपभोक्ताहरूको निरन्तरको आन्दोलन र दबाब पछि नियमन आयोगले महसुलमा पुनरावलोकन गरेको थियो । नियमन आयोगले गत वैशाखमा बढाएको मूल्यमा केही कम गरेर नयाँ महसुल दर सहितको सूचना प्रकाशन गरेको हो ।

बुटवल पावर कम्पनीले स्याङ्जाको गल्याङमा रहेको आँधीखोला जलविद्युत् केन्द्र मार्फत ३८ हजार भन्दा बढि ग्राहकलाई ५ रुपियाँ ८० पैसामा प्रतियुनिट विद्युत् बिक्री गर्दै आएको थियो ।

नियमित खर्च सञ्चालन, प्राविधिक मर्मतसम्भार खर्च बढि भएको दाबी गर्दै आएको कम्पनीले प्रतियुनिट ११ रुपियाँ महसुल प्रस्ताव गरेको थियो । केन्द्र मार्फत ९ दशमलब ४ मेगावाटको विद्युत् वितरण गर्दै आएको छ ।
महसुल दर बढाउने निर्णय पछि वालिङ,गल्याङ,रामपुर र चापाकोट क्षेत्रका संघर्ष समिति गठन गरेर आन्दोलन समेत गरेका थिए ।
तत्कालीन आन्दोलनमा महसुल वृद्धि स्थगित भएपनि पुनः महसुल परिमार्जन सहित वृद्धि गरिएको बुझिएको छ ।
नयाँ महसुल दर सार्वजनिक हुदा समेत नागरिक समाज, स्थानीय सरकार,राजनीतिक दलहरु तथा उधोग वाणिज्य संघ तथा चेम्बर अफ कमर्स जस्ता जिम्मेवार संघ संस्था मौन बसेका छन् ।