

अमृत गिरी
बुटवल । सैनामैना नगरपालिका–१, रानीबगियाकी हरिमाया सुवेदी एकल महिला हुन् । उनले आफन्तको स्मृतिमा सडक छेउमा वरपिपलको संरक्षण गर्दै चौपारी बनाएकी थिइन् । २०४६ सालदेखि सानो महिरो बनाएर वरपिपलमा जल चढाउँदै आएकी उनले ०६० सालमा झण्डै ३५ हजार रुपैयाँ खर्चेर प्लास्टर गरेको व्यवस्थित चौपारी बनाएकी रहिछन् । चौपारीमा सिलामा उनको नाम र मितिसमेत उल्लेख गरिएको रहेछ ।

हरेक शनिबार त्यही चौपारीमा रहेका वरपिपलमा पूजा गर्न र जलार्पण गर्न उनीसहित कैयौं महिलाहरु बिहानै लाम लाग्ने गर्थे । बोलबम धाम जाने मुख्य चोकसमेत त्यही भएकाले त्यहाँका चौपारीमा जहिल्यै भिड लाग्थ्यो । अहिले त्यो चौपारी भत्काइयो, कल्पवृक्ष मानिने वरपिपल र समीका बडेमानका रुखहरु टुक्राटुक्रा पारियो । सडक विस्तारका लागि यसरी चौपारी मासिएपछि र रुख काटिएपछि हरिमायाको मन पनि कुँडिएको छ । खिन्न छिन्, दुखित छिन् र त्यतातिर हेर्न पनि मन लाग्दैन भन्छिन् । तर, विकासका लागि जेपनि सहनुपर्ने रहेछ भनेर चित्त पनि बुझाउँछिन् ।

बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तारको क्रममा कल्पवृक्षसहितका ७ हजारभन्दा धेरै रुखहरू एकैपटक काटिएका छन् भने कैयौं चौपारीहरु मासिएका छन् । यीमध्येका केही रुखलाई अन्यत्र सारेर जोगाउने उपाय खोज्न गरिएका आग्रहको भने सुनुवाइ नै भएन । विदेशमा भने यस्ता महत्वपूर्ण वृक्षलाई जोगाउने चलन छ र निर्माणको जिम्मा लिने कम्पनीलाई रुख सार्ने उपकरण सम्झौताअघि नै अनिवार्य राख्न लगाइन्छ ।

करिब ६३ वर्षपछि विस्तार थालिएको यस सडक खण्डमा रहेका वर, पिपल, समी, आँप, सित्तलचिनी, कदम, साल तथा सिमलजस्ता महत्वपूर्ण वृक्षहरू काट्नुपरेको हो । रुख कटानमा खटिएका निर्माण कम्पनीका एकजना प्राविधिकका अनुसार यो खण्डमा कतिपय चौपारी भत्काउन र रुख काट्न घण्टौं समय लागेको थियो । सैनामैनामा रहेको एउटा पिपल मात्रै काटेर गाडीमा लोड गर्दा आठवटा गाडी (टेक्टर) भरिएको उनको भनाइ छ । वन विभागले अनुमति दिएपछि कपिलवस्तु हुँदै रुपन्देहीको सैनामैना हुँदै बुटवल पाखापानी क्षेत्रसम्मका अधिकांश रुख काटिसकिएको छ । यीमध्ये केहीलाई सार्न सकिने उपाय हुँदाहुँदै पनि त्यस्तो अभ्यास नै गरिएन । कपिय रुख त अहिले उमार्नै धौधौ पर्ने खालका छन् । न सार्ने उपाय खोजियो, न जोगाउने नै विकल्प रह्यो ।

कसित मुलुकहरूमा यस्ता ठूला रुखहरू हटाउन परे काट्नेभन्दा सार्ने प्रविधिको प्रयोग गरिन्छ । निर्माण कम्पनीसँग आवश्यक उपकरणमध्ये रुख सार्ने उपकरण अनिवार्य रहेछ । रुखलाई काट्नेभन्दा पनि जोगाउने र सार्ने उपाय नै लगाइने रहेछ । तर, नेपालमा भने यो प्रविधिलाई अवलम्बन गर्नेतर्फ ध्यान दिइएन । बरु, वातावरणीय मुद्दा उठाउनेलाई नै विकास विरोधीको रूपमा चित्रित गर्ने प्रवृत्ति मौलाइरहेको छ । अर्कोकुरा वनका सम्बन्धित निकायले आयोजना नै प्रभावित हुनेगरी फाइल रोक्ने, अड्को थाप्ने, दुख दिने नियतले सताउने गरेका घटना कम भएका छैनन् । यसैका आधारमा अतिरिक्त कमाइको मेसो मिलाउने गरेको आरोपको उनीहरु खण्डन नै गर्न सक्तैनन् ।

बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकलाई एसियाली स्तरको राजमार्गका रूपमा विस्तार गर्न थालिएको छ । यो काम तीव्र गतिमा अघि बढिरहेको छ । यो खण्डमा काटिएका रुखको सट्टामा अन्यत्र कतै रुख रोप्ने भन्दै सडक आयोजना कार्यालयले वन विभागको खातामा करोडौं रकम (करिब साढे चार करोड रुपैयाँ) अग्रिम रुपमै बैंक दाखिला गरेको छ । काटिएका सबै रुखको घाटगद्दी गरेर विक्री वितरण पनि वन मातहतका कार्यालयले नै गर्छन् ।

वन विभागले अन्य विकास आयोजनामा साना झाडीका कारण अनुमति प्रक्रियामा ढिलाइ गर्दै आएको भए पनि यसपटक भने तीन महिनामै हजारौं रुख काट्ने अनुमति दिएको छ, जुन सम्भवतः अहिलेसम्मकै छिटो प्रक्रिया हो । सडक विस्तार आयोजना कार्यालयका प्रमुख इन्जिनियर कुलशता न्यौपानेले सडक विस्तारका लागि वन विभागले छिटो र सहज रुपमा अनुमति दिएर सहजीकरण गरेको बताइन् ।

विकासका नाममा पर्यावरणीय मुद्दालाई गौण ठान्दा भविष्यमा अर्को संकट आउने निश्चित रहेको वातावरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञहरु बताउँछन् । ई.खेटराज दाहालले त ससाना खोल्सा, खोल्सी मासिनु, हुर्केका रुखहरु एकैपटक सखाप पार्नुले पानीका प्राकृतिक मूलहरु मासिँदै गएको र वातावरणीय क्षेत्र कमजोर बन्दै गएको टिप्पणी गर्दै आएका छन् ।

कल्पवृक्षः वातावरणीय सन्तुलनका रक्षक
कल्पवृक्ष वा वरपिपल जस्ता रुखहरु शुद्ध हावा, छायाँ मात्र नभई जैविक विविधताको अभिन्न हिस्सा हुन् । यी रुखहरुले भूमिक्षय रोक्न, जलवायु नियन्त्रण गर्न तथा अन्य जीवजन्तुलाई आश्रय दिन महत्वपूर्ण भूमिका खेल्छन् । तर, विकासको नाममा यस्ता बहुमूल्य रुखहरु मासिँदा वातावरणीय प्रभावबारे पर्याप्त छलफल भएन ।

सहरी विकास तथा राजमार्ग निर्माणका क्रममा वृक्ष कटानका साटो वृक्षारोपणको नीति लागू गर्न जरुरी देखिन्छ । विकास परियोजनामा पर्यावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अनिवार्य गर्न जरुरी रहेको वातावरणको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका वरिष्ठ पत्रकार डीआर घिमिरेको भनाइ छ ।

सकारात्मक समाधान आवश्यक
पूर्वाधार विकास महत्वपूर्ण छ, तर वातावरण संरक्षणलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । रुख सार्ने प्रविधि अवलम्बन गर्न सकिने थियो, जसले वातावरणीय क्षति कम गर्ने थियो । भविष्यका योजनाहरुमा यस्तो अभ्यास अपनाइने सुनिश्चित गर्नु आवश्यक देखिन्छ । वन विभागका निर्देशक दीपक ज्ञवालीका अनुसार मेचीकालीले उठाएको यो विषय गम्भीर छ र अबका योजना निर्माणमा वातावरणमैत्री उपायलाई प्राथमिकता दिने बताइएको छ । अबको आवश्यकता भनेको वातावरणमैत्री विकासका उपाय अपनाउनु हो, जसले दिगो विकासको आधारशिला तयार गर्नेछ ।

‘वृक्ष आयुर्वेद’ अहिले झन सान्दर्भिक
वृक्ष आयुर्वेदका बारेमा अभियान चलाउँदै आएकी अभियन्ता डा.प्रतिमा पौडेलले मानव स्वास्थ्यका लागि पर्यावरण स्वस्थ रहनु अपरिहार्य रहेको बताउँदै हाम्रो खानाको स्रोत बोटबिरुवा र पशुपन्छी नै रहेकाले संरक्षण अपरिहार्य रहेकोमा जोड दिन्छिन् । विश्व स्वास्थ्य संगठनले ‘सबैका लागि स्वास्थ्य’ भनिरहँदा सबैमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनुसँगै माथिको हेलचेक्य्राइँ पनि सच्याउनु जरुरी रहेको डा.पौडेलको भनाइ छ ।

विभिन्न स्वास्थ्य संगठनले गरेको अनुमानअनुसार नसर्ने रोग एवं प्रतिजैविक प्रतिरोध अबको ठुलो महामारीका रूपमा बढ्दै छ । । ‘वृक्ष आयुर्वेद’ सुरपाल नामका आयुर्वेद चिकित्सकले इसं.१००० मा लेखेको एक पुस्तक हो; जसमा कृषि उत्पादन, खाद्य बालीको विकास तथा बोटबिरुवामा लाग्ने रोग नियन्त्रण र उपचारका बारेमा लेखिएको छ । यही पुस्तक र अन्य सन्दर्भ सामग्रीहरुको अध्ययन गर्दै डा.पौडेलले पर्यावरणको क्षेत्रमा अभियान सञ्चालन गरिरहेकी छन् ।

हरेक वर्ष अत्यधिक गर्मी बढ्दै जानेछ
संयुक्त राष्ट्रसंघको विपत् जोखिम न्यूनीकरण कार्यालयको १२ नोभेम्बर २०२४ मा प्रकाशित लेखअनुसार हामीलाई अब अत्यधिक गर्मीसँग जुध्न साहसिक समाधानको आवश्यकता छ । वातावरणमा आएको परिवर्तनले हाम्रो जलवायुमा प्रभाव परेको छ । यस समस्याबाट निस्कनका लागि विद्यमान हावा–प्रणालीमा भर पर्न सक्दैनौँ । गत जुलाइमा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अत्यधिक गर्मीको सम्बन्धमा एक विश्वव्यापी सहकार्यको आह्वान गरेका थिए, जसलाई सबैले खुलेरै प्रसंसा गरे । नेपाल पनि यस कार्यक्रममा सहभागी भएको थियो ।
