तिलोत्तमा । रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो पहिलो जिल्ला अनुदान (DG 2025/26-213) अन्तर्गत सञ्चालित ‘ह्याप्पी स्कूल परियोजना’ मार्फत रुपन्देहीको तिलोत्तमा नगरपालिका–कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयमा चिल्ड एन्ड प्युरिफाइड वाटर डिस्ट्रीब्युसन सिस्टम (Chilled and Purified Water Distribution System) जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई चिसो, प्रशोधित, शुद्ध तथा पर्याप्त पिउने पानी उपलब्ध गराउने उद्देश्यले १२० लिटर र ८० लिटर क्षमताका दुई वटा मेसिन जडान गरिएको क्लबका अध्यक्ष आबिष्कार खनालले जानकारी दिए। उनले प्रणालीको सही सदुपयोग गर्न आग्रह गर्दै यसबाट विद्यार्थीहरूको स्वास्थ्य तथा सिकाइ वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ (DRR) दिनेश गैरेले साना–साना सामाजिक कार्यले पनि समुदायमा ठूलो र दीर्घकालीन प्रभाव पार्न सक्ने बताए। उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष जिल्लाभर धेरै प्रभावकारी परियोजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्दै रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउनले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताए।
विद्यालयका प्रधानाध्यापक बेदनारायण भट्टराईले विभिन्न सामाजिक संस्था तथा दातृ निकायहरूको सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण टेवा पुगिरहेको बताउँदै रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउनप्रति आभार व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बाला घिमिरेले विद्यालयको आवश्यकता पहिचान गरी चिसो तथा शुद्ध पिउने पानीको व्यवस्था गरिदिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गरिन्।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्ष बाबुराम बञ्जाडेले रोटरी तथा रोटर्याक्टले विद्यार्थी तथा शिक्षा क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएको बताए। क्लबका उपाध्यक्ष विकास टण्डनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव केशव पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्षहरू जीवनप्रसाद अधिकारी, रामप्रसाद बेल्बासे र सौरभ भुसाल, निवर्तमान अध्यक्ष दिल्लीराज ढकाल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका निर्वाचित अध्यक्ष धर्मदत्त ज्ञवाली, डिस्ट्रिक्ट अफिसियल युकेशमान ज्ञवाली, छिमेकी क्लबका अध्यक्ष विजय अधिकारी, सुलभ घिमिरे लगायत क्लबका बोर्ड सदस्य तथा सदस्यहरूको उपस्थिति रहेको थियो। साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक–शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
