अमृत गिरी
बुटवल, जेठ १६ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको विश्व स्वास्थ्य तथ्याङ्क–२०२६ प्रतिवेदनले विश्वभर सुर्तीजन्य पदार्थको प्रयोग घट्दो क्रममा रहेको देखाएको छ । प्रतिवेदनअनुसार सन् २०१० मा २६.२ प्रतिशत रहेको विश्वव्यापी सुर्ती सेवन दर सन् २०२४ मा घटेर १९.५ प्रतिशतमा पुगेको छ भने सन् २०२५ मा यो दर १९.२ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
एक समय विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगको लागि सबैभन्दा बढी बोझ भएको क्षेत्र, दक्षिण–पूर्वी एसियालाई लिइन्थ्यो । विश्वव्यापी प्रयोगकर्ताको ८० प्रतिशतभन्दा धेरै हिस्सा एसियामै छ । अहिले एसियाका मुलुकहरुले पनि सेवन कम गरेको पाइएको छ । विश्वमै सबैभन्दा तीव्र गिरावट हासिल गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा छ । सन् २००० र २०२४ को बिचमा, वयस्क पुरुषहरूमाझको प्रचलन ७०.१ प्रतिशतबाट ३७.४ प्रतिशतमा र वयस्क महिलाहरूमाझ ३८.० प्रतिशतबाट ९.३ प्रतिशतमा झरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा छ ।
प्रतिवेदनले सुर्ती सेवन नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि गैरसञ्चारी रोग नियन्त्रणका लागि तय गरिएको ३० प्रतिशत कटौतीको लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको जनाएको छ । पुरुषमा सुर्ती सेवनको दर महिलाभन्दा उल्लेखनीय रूपमा बढी रहेको तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा यसको प्रभाव अझै गम्भीर रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा नेपाललाई छुट्टै देशका रूपमा उल्लेख नगरिए पनि दक्षिण–पूर्वी एसिया क्षेत्रअन्तर्गत नेपाल पनि सुर्तीजन्य पदार्थको चुनौतीसँग जुधिरहेको मुलुकका रूपमा रहेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा सुर्तीजन्य पदार्थका कारण क्यान्सर, मुटुरोग, स्ट्रोक तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढिरहेको छ ।
विभिन्न अध्ययनअनुसार सन् २०१७ मा मात्रै सुर्तीजन्य पदार्थको सेवनबाट नेपाललाई वार्षिक ४७ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो, जुन कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब १.८ प्रतिशत बराबर हो । यस्तै, टोबाको एटलसका अनुसार धुम्रपानसँग सम्बन्धित रोगहरूको उपचार, कार्यक्षमता ह्रास तथा अकालमा मृत्युका कारण नेपालमा वार्षिक ३२ अर्ब रुपैयाँभन्दा बढी आर्थिक भार पर्ने गरेको छ ।
सुर्ती प्रयोगकर्ताको ८० प्रतिशत हिस्सा एसियामा
विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रकी प्रभारी अधिकृत डा.क्याथरिना बोहेमका अनुसार विश्वभर १.२ अर्बभन्दा बढी मानिसले सुर्तीजन्य वा निकोटिनजन्य पदार्थ प्रयोग गरिरहेका छन् ।
तीमध्ये दक्षिण–पूर्वी एसिया क्षेत्रमा मात्रै ३२ करोड २० लाख वयस्क, ८६ लाख किशोरकिशोरी तथा २८ करोड ८० लाखभन्दा बढी धुम्ररहित सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेका छन् । यो संख्या विश्वका कुल धुम्ररहित सुर्ती प्रयोगकर्ताको करिब ८० प्रतिशत हो ।
उनका अनुसार दक्षिण–पूर्वी एसियाले सुर्ती नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । सन् २००० देखि २०२४ सम्ममा यस क्षेत्रमा वयस्क पुरुषमा सुर्ती सेवनको दर ७० दशमलव १ प्रतिशतबाट ३७ दशमलव ४ प्रतिशतमा झरेको छ भने महिलामा ३८ प्रतिशतबाट ९ दशमलव ३ प्रतिशतमा सीमित भएको छ । सन् २०१० देखि २०२५ बिचमा यस क्षेत्रमा वयस्क सुर्ती प्रयोगमा ४० प्रतिशत कमी आउने अपेक्षा गरिएको छ, जुन विश्व स्वास्थ्य संगठनले तय गरेको ३० प्रतिशत लक्ष्यभन्दा माथि हो ।

तर पछिल्ला वर्षहरूमा सुर्ती तथा निकोटिनजन्य पदार्थको स्वरूप परिवर्तन हुँदै गएको डब्लुएचओको निष्कर्ष छ । परम्परागत चुरोटको प्रयोग घट्दै गए पनि इलेक्ट्रोनिक चुरोट, निकोटिन पाउच तथा स्वादयुक्त निकोटिन उत्पादनमार्फत विशेषगरी युवापुस्तालाई आकर्षित गर्ने प्रयास बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कानुन छ, कार्यान्वयन कमजोर
हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थ तथा धुम्रपानरहित दिवस मनाइन्छ । यसवर्ष ‘अपिललाई उजागर गर्दै–निकोटिन र सुर्तीजन्य पदार्थको लतको प्रतिरोध गर्दै’ भन्ने नाराका साथ मनाइँदैछ ।
डब्लुएचओका अनुसार हरेक ८ सेकेन्डमा संसारमा एक जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । विश्वभर प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थका कारण जाने गरेको तथ्याङ्क छ ।
नेपालले सन् २००६ मा सुर्तीजन्य वस्तु नियन्त्रणसम्बन्धी विश्व स्वास्थ्य संगठनको महासन्धि (एफसिटिसी) अनुमोदन गरिसकेको छ । सार्वजनिक स्थानमा धुम्रपान निषेध, सुर्तीजन्य पदार्थका प्याकेटमा स्वास्थ्य चेतावनी तथा विज्ञापन नियन्त्रणजस्ता कानुनी व्यवस्था पनि लागू गरिएका छन् तर सार्वजनिक स्थानमा धूम्रपान, युवामाझ बढ्दो आकर्षण तथा कानुन कार्यान्वयनको कमजोरीका कारण सुर्ती नियन्त्रण अझै चुनौतीपूर्ण बनेको सरोकारवालाहरू बताउँछन् ।
डा.बोहेमले नयाँ निकोटिनजन्य उत्पादनमाथि कडा नियमन, स्वादयुक्त उत्पादनमा प्रतिबन्ध, डिजिटल विज्ञापन नियन्त्रण तथा डब्लुएचओको ‘एमपावर’ रणनीति र सुर्ती नियन्त्रण महासन्धिको पूर्ण कार्यान्वयनमार्फत मात्र सुर्ती र निकोटिनको लतको चक्र तोड्न सकिने बताएकी छन् ।
