मेचीकाली प्रकाशन प्रालिमा होमराज बस्यालको अध्यक्षतामा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

३१ भाद्र २०७८, बिहीबार
862 shares


बुटवल । मेचीकाली सन्देश प्रकाशन प्रालिको सत्रौं साधारणसभा तथा छैठौं अधिवेशन बिहीबार बुटवलमा सम्पन्न भएको छ । उक्त अधिवेशनले प्रालिको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

प्रालिको सञ्चालक समितिमा होमराज बस्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको अधिवेशन निर्वाचन समितिका संयोजक डिल्लीराज भण्डारीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष बस्यालले संस्थालाई अझ सुदृढ, सशक्त र गतिशील बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रालिले लिएका लक्ष्य र आगामी योजनालाई कार्यान्वयन गर्न सबैको समन्वय, सहकार्य र सहयोगको अपेक्षा रहेको बताए ।
प्रालिको सञ्चालक समितिमा देवेन्द्रप्रसाद ध्वजू, वसन्तराज खनाल, तेजकुमार पाठक, रेनुका खरेल, आदित्यनारायण कसौधन, गोपाल राना, बालाराम भट्टराई र यमलाल लोहनी सर्वसम्मत चयन भएका छन् ।

विसं.२०५७ मंसिरमा सहकारीमार्फत स्थापना भएको मेचीकाली सन्देश २०६१ साउनदेखि प्रालिमा रुपान्तरण भएको हो । प्रालिअन्तर्गत रंगीन कलेभरको मेचीकाली सन्देश राष्ट्रिय दैनिक नियमित प्रकाशन हुँदै आएको छ । मेचीकाली सन्देश प्रकाशन प्रालिको उक्त साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रदेश सभाका सांसद तथा नेकपा एमालेका नेता भोजप्रसाद श्रेष्ठले पत्रिकाले समुदायलाई सुसुचित गर्ने र समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

आमसञ्चारका माध्यमहरुलाई अहिलेको अवस्था अनुरुप अपडेट गरी डिजिटल माध्यममा लैजान जरुरी रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले समृद्ध मुलुक, सुखी जनताको राष्ट्रिय संकल्पलाई साकार पार्नेगरी आमसञ्चारका माध्यमले सहकार्य गर्नुपर्नेमा जोड दिए । संविधानसभा सदस्य तथा मेचीकालीका सञ्चालक समिति सदस्य आदित्यनारायण कसौधनले सामाजिक एकतासहितको राष्ट्रियताका पक्षमा र समाज रुपान्तरणको पक्षमा मिडिया केन्द्रित हुनुपर्ने बताए ।

यस्तै साधारणसभामा सञ्चालकहरु तेजकुमार पाठक, रेनुका खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले प्रालिको गत आवको लेखापरीक्षण, आर्थिक प्रतिवेदन, नयाँ रणनीतिक कार्ययोजना सम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रमको सञ्चालन प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गैरेले गरेका थिए ।