टोपलाल अर्याल
गुल्मी । गुल्मीको महेन्द्र माविले छठौँ फार्टिन स्टार कप जिल्लाका माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि प्राप्त गरेको छ । इस्मा गाउँपालिका–१ को विपि पार्क खेल मैदानमा सञ्चालन भएको खेलमा महेन्द्र माविले पालुखा माविलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो हाफमा महेन्द्रले जित आफ्नो पोल्टामा पारेको हो । फोर्टिन स्टार कप फुटबलको पहिलो, दोस्रो र तेस्रो संस्करणमा महेन्द्र मावि बिजेता बनेको फोर्टिन स्टार युवा क्लवका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । चौथो संस्करणमा अर्जे माविले उपाधि आफ्नो पोल्टामा पारेर फुटबलको सम्भावना गाउँमा पनि रहेको पुष्टी गरेको थियो । परिणामस्वरुप पाँचौं संस्करणको उपाधि पनि जनसहयोगले सदरमुकामबाट बाहिरिएको थियो ।
पहिलो र दोस्रो संस्करणमा रिर्डस पब्लिक हाइस्कुल, तेस्रोमा अर्जे मावि र चौथो तथा पाँचौं संस्करणमा महेन्द्र मावि उपविजेता बनेको थियो । प्रतियोगिताको विजेता महेन्द्र माविले उपाधिसहित नगद ३५ हजार र उपविजेता पालुखा माविले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आचार्यले जानकारी दिए । विजेता र उपबिजेता विद्यालयलाई इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले पुरस्कृत गरेका थिए । प्रतियोगितामा १४ विद्यालयले सहभागीता जनाएका थिए ।
२०६७ सालमा स्थापना भएको क्लबले २०७४ बाट प्रत्येक वर्ष छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । कोभिड सङ्क्रमणको कारण दुई वर्ष प्रतियोगिता सञ्चालन हुन नसकेपनि त्यसपछिका वर्षहरुमा भने निरन्तर रुपमा प्रतियोगिता भइरहेको छ । विद्यालय जीवनमै फुटबल खेलमा रुचि भएर अवसरको खोजीमा रहेका खेलाडीहरुको पहिचान गर्न प्रतियोगिता निकै फलदायी भएको आचार्यले बताए । ।कार्यक्रमकै क्रममा महिला फुटबलर मनिषा सेनलाई सम्मान गरिएको छ ।
विगतका पाँच वटा संस्करणहरु चिदिचौर खेलमैदानमा सञ्चालन भए पनि यो वर्ष चिदिचौर पुनर्निर्माणको काम चलिरहेकोले प्रतियोगिता बिपी पार्कमा लैजान पर्ने अवस्था आएको क्लबले जनाएको छ । प्रतियोगितामा महेन्द्र माविका उमेश श्रीस म्यान अफ द म्याच घोषणा भए । त्यसैगरी भुवन ढेगां उत्कृष्ट खेलाडी, लभ बोहोरा वेष्ट मिड फिल्डर, गणेश मुखिया वेष्ट डिफेन्डर, निर्जल राना इमर्जिङ्ग प्लेयर घोषणा भएका थिए ।
