रोमाञ्चक खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित

मेचीकाली संवाददाता

२७ माघ २०८२, सोमबार
11 shares

बुटवल। टी–२० विश्वकप २०२६ को पाँचौं खेल अर्थात् नेपाल आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा आइतबार भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पच्छाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा १० रनको आवश्यक हुँदा खेल रोमाञ्चक मोडमा गएको थियो तर सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नेपालले जित निकाल्न सकेन ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरे तर चौथो ओभरमा आसिफ शेख आउट भए भने छैटौं ओभरमा कुशल भुर्तेल पनि आउट भए । भुर्तेलले १७ बलमा २९ रन बनाए । त्यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।
दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । उनीहरुले राम्रो साझेदारी गर्दै इङ्ल्यान्डलाई दबामा राखेको थियो तर ४४ रन बनाएर दीपेन्द्र आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरे । योसँगै उनले टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा पनि गरे । दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।
यस्तै ३४ बल खेलेका कप्तान रोहितले दुई चौका र एक छक्काको मद्दतमा ३९ रन बनाएर । यस्तै लोकेश बम ३९ रनमा अवजित रहे । उनले दुई छक्का र चार चौका प्रहार गरे । आरिफ शेख बने १० रन बनाएर आउट भए ।

बलिङमा इङ्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए । यस्तै लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डको सुरुवात खराब रहेको थियो । दोस्रो ओभरमा फिल साल्ट आउट भए । त्यसबेला इङ्ल्यान्डको स्कोर केवल ५ रनमा मात्र थियो । त्यसपछि बटलरले राम्रो इनिङ खेले तर उनी पनि पाँचौं ओभरमा आउट भए । बटलरले १७ बलमा २६ रन बनाए ।
इङ्ल्यान्डका ज्याकब बेथेल र ह्यारी ब्रुकले अर्धशतक प्रहार गरे । ज्याकब बेथेलले चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान ह्यारी ब्रुकले चार चौका र तीन छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रन बनाए । त्यसक्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादव सबैभन्दा सफल बलर रहे । दीपेन्द्र र नन्दनले दुईदुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एकएक विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ तारिखमा इटालीसँग खेल्नेछ । नेपाल र इटालीबिचको खेल पनि मुम्बइको वानखेडे स्टेडियममै दिउँसो १५ः१५ बजे सुरू हुनेछ । इटाली युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै यो विश्वकपमा उपस्थित भएको हो । युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा नेदरल्यान्ड्स पहिलो र इटाली दोस्रो भएका थिए ।

यसैगरी, नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी १५ तारिखमा बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबिचको खेल पनि मुम्बइको वानखेडे स्टेडियममै बिहान ११ः१५ बजे सुरू हुनेछ । वेस्ट इन्डिज पनि टी–२० विश्वकपको दुईपटकको विजेता हो । सन् २०१२ मा पहिलोपटक उपाधि जितेको क्यारेबियन टोलीले सन् २०१६ मा दोस्रोपटक उपाधि चुमेको थियो । समूहगत चरणको अन्तिम खेल नेपालले फेब्रुअरी १७ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाल र स्कटल्यान्डबिचको खेल पनि मुम्बइको वानखेडे स्टेडियममै साँझ १९ः१५ बजे सुरू हुनेछ ।