आमा जागरण समूहद्वारा मानवसेवा आश्रमका आश्रितलाई भोजन

मेचीकाली संवाददाता

११ बैशाख २०८३, शुक्रबार
11 shares

बुटवल । आमा जागरण समूह बुटवल उपमहानगरपालिका वडा नम्बर–२ तल्लो फूलबारीले साधारणसभाको अवसरमा मानवसेवामा आश्रितहरुलाई भोजन गराएको छ । समूहको १९ औं साधारणसभा तथा १० औं अधिवेशनको पूर्वसन्ध्यामा समूहले सामाजिक कार्य गर्ने उद्देश्यसहित बेसाहारा र घरबारबिहीन आश्रितलाई शुक्रबार साँझको खाना खुवाएको हो । विगतका वर्षमा पनि समूहले विभिन्न सामाजिक काम गर्दै आएको थियो ।

सो अवसरमा बोल्दै बुटवल वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्यले दुःख पीडितहरुलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले समूहले गरेको कामको प्रशंसा गर्दै शाक्यले आगामी दिनमा पनि यस्तै सामाजिक काम गर्दै जान सुझाए । समूहका सल्लाहकार खगिसरा गुरुङले वि.स.२०५६ देखि संस्था गठन भई विभिन्न कार्यमा सक्रिय रहदै आएको बताइन् ।

समूहका अध्यक्ष उषादेवी आलेले मानवसेवाका लागि सबैको हात फैलाउन आग्रह गरिन । गाँस, बाँस र कपासबिहीन सेवा नैँ वास्तविक धर्म रहेको उनको भनाइ छ । समूहका उपाध्यक्ष मनु थापाको स्वागत तथा सचिव शशी कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । समूहको १९ औं साधारणसभा शनिबार हुने सदस्य तिलका रिजाल काफ्लेले जानकारी दिइन ।