‘सुपर एल–निनो’को खतरामा एसिया, जेठदेखि साउनसम्म कडा खडेरी पर्ने पूर्वानुमान

मेचीकाली संवाददाता

२२ बैशाख २०८३, मंगलवार
17 shares

अमृत गिरी

बुटवल । वैशाखको अन्त्यसम्म परेको छिटफुट वर्षाले मौसम केही शीतल देखिए पनि आगामी जेठ दोस्रो सातापछि नेपालसहित दक्षिण एसियामा मौसमको स्वरूप एकाएक बदलिने अन्तर्राष्ट्रिय मौसम विज्ञहरूको अनुमान छ । आगामी चार महिनामा ‘सुपर एल–निनो’को प्रभाव पर्ने सम्भावनाले चरम गर्मी, लामो खडेरी र कमजोर मनसुनको जोखिम बढेको प्रक्षेपण गरिएको छ ।
यो अन्तर्राष्ट्रिय प्रक्षेपण भएको समारोहमा नेपालका पनि मौसमविद्हरु सहभागी थिए । यसैका आधारमा अब नेपालले आफ्नो भूगोलअनुसारको अलग्गै प्रक्षेपण गर्नेछ । यही विषयमा केही दिनअघि माल्दिभ्समा सम्मेलन भएको छ । उक्त सम्मेलनमा नेपाल पनि सहभागी थियो ।

अन्तर्राष्ट्रिय मौसम विश्लेषण प्लेटफर्म सेभर वेदर युरोपले सार्वजनिक गरेको सन् २०२६ को दीर्घकालीन पूर्वानुमानले विश्वव्यापी मौसममा ठुलो परिवर्तन आउने संकेत गरेको छ । विशेषगरी शक्तिशाली ‘सुपर एल–निनो’ विकसित हुने सम्भावनाले गर्मी, खडेरी र अनियमित वर्षाको जोखिम बढाउने देखिएको छ ।
यसैगरी विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) लगायत अन्तर्राष्ट्रिय निकायहरूले सन् २०२६ को मध्यतिर एल–निनो विकसित हुने उच्च सम्भावना रहेको जनाउँदै तापक्रम वृद्धि र वर्षामा गिरावट आउने चेतावनी दिएका छन् ।

के हो ‘एल–निनो ’ ?
समुद्रको सतहको तापक्रम सामान्यभन्दा २ डिग्री सेल्सियसभन्दा बढीले बढ्नुलाई ‘सुपर एल–निनो’ भनिन्छ । यो प्राकृतिक जलवायु चक्र हो, जसमा प्रशान्त महासागरको पूर्वी क्षेत्रमा पानी असामान्य रूपमा तातो हुन्छ र यसले विश्वभरको मौसम प्रणालीमा ठुलो परिवर्तन ल्याउँछ ।

एल–निनोका बेला एसिया र अस्ट्रेलियातर्फ जाने हावाको प्रवाह कमजोर भई उल्टो दिशामा बहन थाल्छ, जसले वर्षाको ढाँचामा असन्तुलन ल्याउँछ । मौसमविद्हरूका अनुसार एल–निनोको वर्षमा विश्वव्यापी तापक्रम औसतभन्दा बढी हुने गर्छ । यही कारण सन् २०२६ अहिलेसम्मकै सबैभन्दा तातो वर्षमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ ।
यसले नेपाल, भारत, इन्डोनेसिया र अस्ट्रेलियामा मनसुन कमजोर बनाउनेछ भने दक्षिण अमेरिका र अमेरिकाका केही भागमा अत्यधिक वर्षा र बाढीको जोखिम बढ्ने मौसमविद्हरुको चेतावनी छ ।

नेपालमा पर्ने सम्भावित असर
नेपालको सन्दर्भमा एल–निनोले मुख्यतः वर्षात्को मुख्य सिजनमै पानी पर्नेछैन । मनसुन कमजोर हुनेछ, यसले पानी पर्ने चक्रलाई प्रभावित पार्नेछ । असार–असोजमा वर्षा कम हुँदा त्यसको सिधा असर खेतीपातीमा पर्नेछ, खानेपानीका मुहानमा पर्नेछ, लामो खडेरी पर्नेछ ।
यसले अस्वभाविक रुपमा तापक्रम बढाउनेछ । कृषि उत्पादन, विशेषगरी धान खेतीमा प्रत्यक्ष प्रभाव पार्नेछ । साथै हिउँदमा पनि कम वर्षा हुँदा वन डढेलो र वायु प्रदूषण बढ्ने खतरा देखिएको छ ।

माल्दिभ्स सम्मेलनले बढायो चिन्ता
हालै माल्दिभ्समा आयोजित एसिया स्तरको मौसम सम्मेलनमा प्रस्तुत रिपोर्टहरूले मौसमविद्हरूलाई थप चिन्तित बनाएको छ । दक्षिण एसियाली क्षेत्रको साझा मौसमी पूर्वानुमान तयार पार्न आयोजित उक्त कार्यक्रममा नेपालसहित विभिन्न देशका विज्ञहरूले आगामी मौसम असामान्य रूपमा प्रतिकूल हुनसक्ने निष्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी नेपाली मौसमविद् सुदर्शन हुमागाइँले नेपालले अब आफ्नै विस्तृत प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

अप्रिल २०२६ को अन्त्यमा माल्दिभ्सको राजधानी मालेमा दक्षिण एसियाली देशका मौसमविद्हरूको एउटा महत्वपूर्ण सम्मेलन ३४ औँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च र जलवायु सेवा प्रयोगकर्ता मञ्च सम्पन्न भएको थियो । सम्मेलनमा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाका राष्ट्रिय मौसम विज्ञान र जलविज्ञान सेवाका विज्ञहरू, विश्व मौसम विज्ञान संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए । सम्मेलनले तयार पारेको क्षेत्रीय प्रतिवेदनका आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले छिट्टै नेपालको लागि विस्तृत मनसुन पूर्वानुमान सार्वजनिक गर्ने तयारी गरिरहेको मौसमविद् हुमागाइँको भनाइ छ ।

‘राष्ट्रिय मनसुन फोरम–२०८३’ हुँदै
यसैबिच जल तथा मौसम विज्ञान विभागले आगामी वैशाख २५ गते शुक्रबार ‘राष्ट्रिय मनसुन फोरम–२०८३’ आयोजना गर्ने भएको छ । उक्त फोरममार्फत जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिको समग्र मौसम प्रक्षेपण सार्वजनिक गरिने जनाइएको छ । माल्दिभ्सम हालै सम्पन्न भएको ३४ औँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च र जलवायु सेवा प्रयोगकर्ता मञ्चको सम्मेलनले तयार पारेको क्षेत्रीय प्रतिवेदनका आधारमा जल तथा मौसम विज्ञान विभागले छिट्टै नेपालको लागि विस्तृत मनसुन पूर्वानुमान सार्वजनिक गर्ने तयारी गरिरहेको मौसमविद् हुमागाइँको भनाइ छ ।