मेचीकाली संवाददाता

१ जेष्ठ २०८३, शुक्रबार
75 shares

इन्द्रेणी सहकारीद्वारा दुग्धजन्य वस्तु विक्री वितरण सुरु


बुटवल । बुटवलको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनका लागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको हो । बहुउद्देश्य कार्यक्रम अन्तरगत इभि चार्जिङ स्टेशन संचालन गरेको सहकारीले सोमबारदेखि दुग्द्य जन्य पदार्थको विक्रि वितरण थालेको छ । सहकारीले सोमबारदेखि बुटवल धर्मपथमा रहेको आफ्नै भवनबाट तिलोत्तमामा रहेको लुम्विनी विशिष्टिकृत सहकारी संघका उत्पादनहरु विक्रि गर्ने गरि दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरण थालेको हो ।

दुध तथा दुधजन्य पदार्थ विक्रि कक्षको जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले उद्घाटन गर्दै सहकारीले सदस्यलाई बलियो बनाउने कार्य गरेर उदाहरणीय कार्यको थालनी गरेको बताउनुभयो । बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले सहकारीहरु उत्पादनमुलक क्षेत्रमै लाग्नु पर्ने विचार राख्नुभयो । कार्यक्रममा लुम्विनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष ज्ञानु पौडेलले सहकारीहरुले सदस्य केन्द्रीत कार्यक्रम गर्नु पर्ने बताउदै इन्द्रेणीले थालेका कार्यक्रमले बहुउद्देश्य कार्यक्रम सफल भएको बताउनुभयो ।

इन्द्रेणी सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बजारमा पाईने दुध तथा दुग्धजन्य पदार्थमा गुणस्तरीयताका प्रश्नहरु आउने गरेकाले गुणस्तरीय, स्वच्छ र स्वस्थवर्धक दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरणका लागि विक्रि केन्द्रको शुभारम्भ गरिएको बताउनुभयो । सहकारीको बहु उद्देश्य कार्यक्रम अन्तरगत इभि चार्जिङ्ग स्टेशन र दुध तथा दुग्धजन्य पदार्थ विक्रि केन्द्र संचालनका लागि डेढ करोड बढीको लगानी गरेको छ ।

संस्थाका उपाध्यक्ष माया गौतमको स्वागत तथा सचिव नरबहादुर रजालीको संचालनमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष डोलप्रसाद अर्याल, लुम्विनी सहकारीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, कल्याणकारीका अध्यक्ष लक्ष्मण अर्याल, इन्द्रेणीका संस्थापक अध्यक्ष भुपालकुमार श्रेष्ठ, पुर्वअध्यक्ष धुर्वकुमार धिताल, शिवलाल राना, मित्रबहादुर शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, विशिष्टिकृत सहकारीका उत्पादन प्रमुख मिना चिदी रानालगायतले इन्द्रेणी बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रका कार्यक्रम संचालन गरेकोमा शुभकामना दिनुभयो । ६३ करोड कुल पँुजी रहेको इन्द्रेणीले साढे पाँच करोड बढी बहुउद्देश्य कार्यक्रममा लगानी गरेको छ । दुई हजार एक सय शेयर सदस्य रहेका छन् ।