टोपलाल अर्याल
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गरे । उनले खेल अनुशासन र पहिचानका हिसाबले निकै महत्वपूर्ण भएकाले वर्षेनी आयोजना गर्दै आएको बताएका थिए ।
युवाहरुको खेलप्रतिको रुचि बढाउने, खेलाडीहरुको प्रतिभा पहिचान र खेल क्षेत्रको विकासका लागि अध्यक्ष कपसहितका अरु प्रतियोगिता सञ्चालन, संरचना निर्माण र प्रोत्साहनमा गाउँपालिकाले काम गरेको केसीले बताए । यो प्रतियोगिता वडास्तरीय रुपमा हुनेछ । जेठ ५ र ६ गते पुरुषतर्फ आठ र महिलातर्फ पाँच समूहबिच भलिवल प्रतियोगिता हुने गाउँपालिकाका शिक्षा अधिकृत नयनसिंह ठकुरीले जानकारी दिए ।
भलिबलमा चन्द्रकोटको छुट्टै पहिचान रहेको छ । गाउँपालिकासहित स्थानीय अरु क्लब तथा संघ–संस्थाहरुले पनि वर्षेनी ठुला राशिका भलिबल प्रतियोगिता गर्ने गरेका छन् । चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेका अनुसार आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रतियोगिता सञ्चालन भएको छ ।
पुरुष भलिबलतर्फ बिजेताले ६५ हजार, उपबिजेताले ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्रको व्यवस्था पालिकाले गरेको छ । त्यसैगरी महिला भलिबल प्रतियोगितामा बिजेताले ३५ हजार, उपबिजेताले २५ हजार, तृतीय हुनेले १५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत चालिसेले जानकारी दिए । प्रतियोगीतामा विधागत रुपमा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिब्रो र सर्वोत्कृष्ट खेलाडीलाई समेत ट्रफी र मेडल प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
