जङ्गली जनावरको आतङ्क: बाली जोगाउन खोज्दा किसानकै ज्यान जोखिममा

मेचीकाली संवाददाता

१९ असार २०८३, शुक्रबार
5 shares
तस्वीरः एआइको सहयोगमा

रमेश पराजुली

बुटवल । नेपाली किसानका लागि अहिले खेती लगाउनु मात्र चुनौतीको विषय होइन, खेती जोगाउनु झन् ठुलो चुनौती बनेको छ । वर्षभरि पसिना बगाएर हुर्काएको बाली पाक्ने बेला जङ्गली जनावरको हुलले केही क्षणमै सखाप पारिदिने समस्या अहिले देशका अधिकांश पहाडी जिल्लाका किसानको साझा पीडा बनेको छ । बाली नष्ट हुने क्रम बढ्दै जाँदा किसानहरू आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा समेत निराश बन्दै गएका छन् । यही समस्याबाट बाली जोगाउन कतिपय किसानले विद्युतीय तार, पासो वा अन्य जोखिमपूर्ण उपाय अपनाउन बाध्य भएका छन् । यस्ता उपायका कारण किसान स्वयं तथा सर्वसाधारण अङ्गभङ्ग हुने, गम्भीर घाइते हुने र कतिपय अवस्थामा ज्यानै गुमाउनुपर्ने दुःखद अवस्थासमेत सिर्जना हुने गरेको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीकी हुमकला भण्डारीको गत मंगलबार राति जङ्गली बँदेल धपाउन बारीमा प्रवाह गरिएको विद्युत् करेन्ट लागेर मृत्यु भयो । बँदेलले पटकपटक मकैबारीमा पसेर नोक्सान गरेपछि उनका श्रीमान् भेषराजले साँझ घर नजिकैको बारीमा करेन्ट प्रवाह गरेका थिए । दुर्भाग्यवश त्यही करेन्टमा परेर ६० वर्षीया हुमकला गम्भीर घाइते भइन् । उपचारका लागि राति नै जिल्ला अस्पताल तम्घास पु¥याएपनि उनको ज्यान बँच्न सकेन । चिकित्सकले बुधबार बिहान करिब साढे ३ बजे उनलाई मृत घोषणा गरे, उज्यालो नहुँदै उनले संसार छाडिन् ।

गुल्मीमा करिब डेढ वर्षको अन्तरालमा उस्तै प्रकृतिको घटना पुनः दोहोरिएको हो । यसअघि २०८१ चैतमा मुसिकोट नगरपालिका–७ मा पनि श्रीमान्ले बाली जोगाउन बारीमा राखेको करेन्टमा परेर श्रीमती चन्द्रकला कुमालको ज्यान गएको थियो । यी घटनाले एउटा परिवारको शोक मात्रै होइन, समग्र किसान र जङ्गली जनावरबीच बढ्दो द्वन्द्वको दर्दनाक चित्र दर्शाएको छ ।

धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशवराज भण्डारीले यो घटनाले सिङ्गो गाउँनै शोकमा डुबेको बताए । ‘घरमा वृद्ध दम्पती मात्र बस्दै आउनुभएको थियो । बँदेलले रातको समयमा मकैबारीमा पसेर धेरै नोक्सान गरेपछि जङ्गलबाट बँदेल आउने सम्भावित बाटोमा विद्युत् करेन्ट छोड्नुभएको रहेछ । सोही करेन्टमा परेर घरकै सदस्यले ज्यान गुमाउने गरी दुःखद घटना घट्यो ।’ उनले भने ।

वडाध्यक्ष भण्डारीले पछिल्ला केही वर्षयता वन्यजन्तुको समस्या निकै बढेको बताए । पहिले मानव बस्तीभन्दा टाढा वन क्षेत्रमा सीमित रहने बँदेल, बाँदर, दुम्सी, खरायो र मृगजस्ता वन्यजन्तु अहिले नियमित रूपमा बस्ती नजिकका खेतबारीमा पुग्न थालेका छन् । यसका कारण मकै, धान, आलु, गहुँ, तरकारी तथा फलफूललगायतका बालीमा व्यापक क्षति पुगिरहेको छ । गाउँका किसानले जसोतसो खेती गरेपनि जोगाउन सक्ने अबस्था नरहेको वडाध्यक्ष भण्डारीले बताए ।

जङ्गली जनावरबाट बाली जोगाउन किसानहरु रातभर खेतमा बस्छन् । टिन ठटाउने, टर्च बाल्ने र कुकुरको सहारा लिने जस्ता उपाय सामान्य बनिसकेका छन् । तर, जनावरहरू ती उपायसँग पनि अभ्यस्त हुँदै गएका छन् । लगातारको क्षतिले निराश बनेका केही किसानले लुकिछिपी करेन्ट, पासो वा अन्य जोखिमपूर्ण उपाय अपनाउन थालेको वडाध्यक्ष भण्डारीको भनाइ छ । उनी भन्छन्,‘कानुनी रूपमा यस्ता उपाय निषेध भए पनि बाली जोगाउन किसानहरूले लुकिछिपी यस्ता जोखिमपूर्ण उपाय अपनाउने गर्नुभएको छ ।’

बाँझिँदै खेतबारी, घट्दै खेतीप्रतिको आकर्षण
जङ्गली जनावरको बढ्दो आतङ्कका कारण धेरै ठाउँमा खेतीयोग्य जमिन बाँझो छोड्ने क्रमसमेत बढ्न थालेको छ । समयमा वर्षा नहुनु, उत्पादन लागत निरन्तर बढ्दै जानु, कृषि उपजको बजार मूल्य अनिश्चित रहनु र अन्ततः पाकेको बालीसमेत जंगली जनावरबाट जोगाउन नसकिने अवस्थाले धेरै किसान खेतीपातीबाटै पलायन हुन थालेको धुर्कोट गाउँपालिका–७, वाग्लाका अगुवा कृषक जीवन पौडेल बताउँछन् ।
‘अहिले किसानको दैनिकी निकै कष्टकर बनेको छ । दिउँसो बाँदरको हुल र राति बदेल तथा दुम्सीबाट मकैबाली जोगाउन किसान खेतमै बस्न बाध्य छन् ।’ उनले भने,‘यति गर्दा पनि बाली सुरक्षित हुँदैन । मकैलगायतका अन्य बाली जोगाउन नसकिने भएपछि धेरै खेतीयोग्य खेतबारी बाँझै छोड्ने क्रम वर्षेनी बढ्दै गएको छ ।’

विगत ५–६ वर्षयता रातिको समयमा जंगली बँदेलको आतङ्क बढ्दै गएको र पछिल्लो समयमा यसको समस्या झन् गम्भीर बन्दै गएको उनले बताए । उनका अनुसार बाँदर, बँदेल, दुम्सीलगायत जंगली जनावरको बढ्दो आतङ्कले खेतीपाती गर्नै कठिन बन्दै गएपछि गाउँबाट बजारतर्फ बसाइसराइ गर्ने क्रम पनि तीव्र भएको छ । ‘गाउँका अधिकांश युवायुवती अध्ययन, रोजगारी र व्यवसायका लागि सहर तथा विदेशतर्फ गएका छन् । गाउँमा रहेका वृद्धवृद्धाले जङ्गली जनावरसँग रातदिन संघर्ष गरेर खेती जोगाउन सक्ने अवस्था छैन,‘पौडेलले भने,‘यही कारण धेरै उब्जाउ खेतबारी पनि बाँझै रहन थालेका छन् । गाउँमा बसेर खेती गर्न चाहनेहरू पनि जंगली जनावरको त्रासका कारण निरुत्साहित भइरहेका छन् ।’

जङ्गली जनावरले बाली नष्ट गर्ने समस्या केवल कृषिमा सीमित नरही ग्रामीण बस्ती र स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर पार्न थालेको छ । खेतीयोग्य जमिन बाँझो हुने, कृषि उत्पादन घट्ने र गाउँ रित्तिँदै जाने क्रमले ग्रामीण जीवनशैली नै सङ्कटमा परेको उनी बताउँछन् ।
नेपालले वन संरक्षण र वन्यजन्तुको संख्या वृद्धि तथा जैविक विविधताको संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ । तर, संरक्षणको प्रत्यक्ष भार भने किसानले मात्रै बोक्नुपर्ने अवस्था न्यायोचित नभएको किसानहरूको गुनासो छ । बालीमा हुने क्षतिको समयमै उचित क्षतिपूर्ति नपाउनु, प्रभावकारी विद्युतीय वा सुरक्षित तारबारको अभाव, आधुनिक तथा सुरक्षित प्रविधिमा पहुँच नहुनु र समस्या समाधानका दीर्घकालीन तथा प्रभावकारी कार्यक्रम कार्यान्वयनमा आउन नसक्दा किसान निराश बन्दै गएको वाग्लाकै अर्का कृषक रामप्रसाद पराजुलीले बताए ।

उनले भने, ‘किसानले खेती जोगाउन किसानले रातभर खेतमा बस्नुपर्ने, विद्युतीय धराप वा अन्य जोखिमपूर्ण उपाय अपनाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद विषय हो ।’ उनका अनुसार जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी तारबार, सुरक्षित प्रविधिको प्रयोग, छिटो र सहज क्षतिपूर्ति प्रणाली तथा दीर्घकालीन व्यवस्थापन योजना आवश्यक छन् । किसानको ज्यान र जीविकोपार्जनसँग जोडिएको यो समस्यालाई संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको माग छ ।

सुरक्षित विद्युतीय वा सौर्य तारबारको विस्तार, सामुदायिक संरक्षण प्रणालीको सुदृढीकरण, बाली बीमा, शीघ्र तथा प्रभावकारी क्षतिपूर्ति व्यवस्था र स्थानीय आवश्यकताअनुसार वन्यजन्तु व्यवस्थापनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र किसानको पीडा उल्लेखनीय रूपमा कम गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ ।

उता, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बाली जोगाउने नाममा विद्युतीय करेन्ट, पासो वा अन्य घातक माध्यम प्रयोग गर्नु अत्यन्त जोखिमपूर्ण हुने बताए । यस्ता उपायले जङ्गली जनावर मात्र नभई मानिसको समेत ज्यान जाने घटना समय–समयमा दोहोरिने गरेको भन्दै उनले मानव जीवनको सुरक्षालाई प्राथमिकतामा राख्दै गैरघातक तथा सुरक्षित वैकल्पिक उपाय अपनाउन उनले किसानलाई आग्रह गरे ।