लुम्बिनीमा तीव्र गतिका कारण बढ्दै सडक दुर्घटना, दुई महिनामै ५८ जनाको मृत्यु

मेचीकाली संवाददाता

५ आश्विन २०८३, सोमबार
1 shares

रमेश पराजुली

बुटवल । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर भएका ८३४ वटा सवारी दुर्घटनामध्ये झण्डै ६९ प्रतिशत अर्थात् ५७४ दुर्घटना तीव्र गतिका कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले जानकारी दिए । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने १ हजार ४७२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४७ पुरुष र ११ जना महिला छन् ।

प्रहरी उपरीक्षक थापाका अनुसार भदौ महिनामा मात्रै लुम्बिनी प्रदेशमा ४१६ वटा दुर्घटना भएका छन् । दुर्घटना १९ पुरुष र ४ महिला गरी २३ जनाको मृत्यु भएको छ भने ७६२ जना घाइते भएका छन् । भदौमा सबैभन्दा धेरै तीव्र गतिका कारण २८७ दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । तीव्र गति पछि चालकको असक्षमता तथा लापरबाहीका कारण दुर्घटना हुने गरेको छ । भदौमा चालकको असक्षमता तथा लापरबाहीका कारण ४९ दुर्घटना भएका छन् । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ३९, अन्य लापरबाहीका कारण ६, ब्रेक फेल भएर ४, छाडा चौपाया तथा जनावरका कारण ५, हतारमा बाटो काट्दा २ र अनावश्यक ओभरटेकका कारण ४ वटा दुर्घटना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार रुपन्देहीमा भदौ महिनामा १५७ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २६२ जना घाइते भएका छन् ।

यस्तै, नवलपरासी पश्चिममा २७ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । कपिलवस्तुमा ६९ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् । पाल्पामा १० वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । गुल्मीमा १२ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

यस्तै, अर्घाखाँचीमा भदौ महिनामा ४ वटा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दाङमा १४ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बाँकेमा ८५ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।

त्यस्तै, बर्दियामा २३ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । यस्तै, प्युठानमा ५ वटा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । रोल्पामा ९ वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । रुकुम पूर्वमा एउटा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

सवारी साधनका आधारमा हेर्दा दुईपांग्रे सवारी सबैभन्दा बढी दुर्घटनामा संलग्न देखिएको छ । भदौ महिनामा मात्रै ३८५ वटा दुईपांग्रे सवारी दुर्घटनामा परेका छन् । त्यसपछि जिप, कार, अटो, टेम्पो, शारीरिक शक्तिबाट चल्ने सवारी, बस, ट्रक÷ट्याङ्कर, ट्याक्टर, माइक्रो बस, टिप्पर तथा अन्य सवारी साधनको संलग्नता रहेको छ । राजमार्गमा सवारी आवागमन सहज बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक निगरानी र कारबाहीलाई तीव्रता दिइएको प्रहरी नायव उपरीक्षक बुढथापाले बताए ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार भदौ महिनामा १० हजार ४८७ वटा सवारी कारबाहीमा परेका छन् । उक्त सवारी कारबाहीबाट १ करोड ३० लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ‘राजस्व संकलन गर्नेभन्दा पनि सचेतना, नियम पालना र दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिएर काम गरिरहेका छौँ ।’ प्रहरी नायव उपरीक्षक बुढथापाले भने,‘तर, नियम नमान्ने र उल्लंघन गर्नेलाई भने कानुनी दायरामा ल्याएर जरिवाना पनि गर्छौँ ।’

एक महिनाको अवधिमा ट्राफिक प्रहरीले १ हजार ३१८ वटा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ७२ हजार २९२ जना लाभान्वित भएका छन् । त्यस्तै, प्रहरीले स्कुल बसमा छड्के चेकजाँचलाई तीव्र बनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७० वटा स्कुल/कजेज बसलाई नियन्त्रणमा लिएर १२ वटालाई कारबाही तथा ५८ वटा बसका चालकलाई पुनः गल्ती नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानुप्रसाद पाण्डेले जानकारी दिए ।

यस्तैगरी ट्राफिक प्रहरीले ‘हिट एन्ड रन’को घटनामा मोटरसाइकल नियन्त्रणमा लिएको छ भने ४३ वटा स्टिकर टाँस गरेको तथा एउटा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ । ५० स्थानमा नो पार्किङ बोर्ड तथा सम्भावित दुर्घटनाग्रस्त क्षेत्रमा सचेतनामूलक बार्ड राखिएको छ । सवारीको यान्त्रीक चेकजाँच, रुपन्देहीको बुटवल र प्यूठानमा एकएकपटक चालकको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वरूप परिवर्तन गरिएका ५ वटा मोटरसाइकललाई कारबाही गरिएको छ । सवारी चालक अनुमतिपत्र निलम्बनका लागि ८ जनामाथि प्रक्रिया अघि बढाइएको छ । ओभरलोड बोकेका ५७६ वटा सवारीलाई कारबाहीका लागि यातायात कार्यालय पठाइएको छ । बाढीपहिरोका कारण अबरुद्ध राजमार्गमा ट्राफिक प्रहरीले सुरक्षा तथा सञ्चालन व्यवस्थापन गरेको जनाएको छ ।

ट्राफिक प्रहरीले यसअघि नै एकवर्षमा ५ पटकभन्दा बढी सवारी दुर्घटना भइरहने प्रदेशका ५३ स्थानलाई अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पट) घोषणा गरी दुर्घटना न्यूनीकरण कार्यक्रमअन्तर्गत आवश्यक उपकरण तथा सचेतनामूलक बोर्ड राखेको छ । ती स्थानमा भौतिक सुधारका लागि सडक डिभिजन कार्यालयलाई समेत जानकारी गराइएको छ ।
सीमित जनशक्ति र बढ्दो सवारी चापका बीच पनि दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकमा सडक सुरक्षा सचेतना अभिवृद्धि गर्न निरन्तर प्रयास भइरहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक थापाको भनाइ छ । लुम्बिनी प्रदेशमा हाल ४३४ जना ट्राफिक प्रहरी रहेका छन् । एक जना ट्राफिक प्रहरीले ३६ किलोमिटर सडक र ४ हजार सवारी व्यवस्थापन गर्ने जिम्मेवारी छ ।

लुम्बिनी प्रदेशमा गत असार मसान्तसम्म १५ हजार ७०६ किलोमिटर सडक सञ्जाल बिस्तार भएको छ । भने १७ लाख ५ हजार ४९ सवारीसाधन दर्ता भएका छन् । जसमा सबैभन्दा बढी ८५.८१ प्रतिशत् अर्थात् १४ लाख ६३ हजार २०५ वटा निजी मोटरसाइकल दर्ता भएको तथ्यांक छ । लुम्बिनी प्रदेशमा गत आवमा कुल ४ हजार ७९७ वटा सवारी दुर्घटना हुँदा ५८५ जना नागरिकले ज्यान गुमाएका थिए भने ८ हजार ५८ जना घाइते भएका थिए ।