अमृत गिरी/दिपेश पछाइँ
लुम्बिनी । बुद्ध जयन्ति मनाउने क्रममा (केही वर्षअघि) हावाहुरीले कार्यक्रम स्थल भत्काइदियो । कार्यक्रम प्रभावित भयो र सानो कोठामा औपचारिक कार्यक्रम गरि समापन भयो । त्यतिबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले कार्यक्रम प्रभावित भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, बुद्ध जयन्ति समारोह र हजारौंले एकैसाथ ध्यान गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र बनाउने घोषणा गरे ।
नेपाली सेनाले तयार पारेको एउटा अस्थायी हलमा दुई वर्षजति बुद्ध जयन्तिका कार्यक्रम सम्पन्न भए । ठूलो सभाहल बनाउने कामको शिलान्यास गर्दै ओलीले त्यसबेला भनेका थिए– मानवताको, बुद्धत्वको, शान्तिको र ज्ञानको उदय भएको भूमिमा हजारौंले एकै साथ ध्यान गर्न मिल्ने गरी ध्यान केन्द्र बनाउने संकल्प छ ।
अहिले त्यो संकल्प पूरा भएको छ । यो वर्षको बुद्धजयन्तिका अवसरमा ध्यान केन्द्रको उद्घाटन हुँदैछ । ओलीको साकार भएको संकल्प अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर औपचारिक रुपमा पूरा भएको घोषणा गर्नेछन् । ध्यान केन्द्रमा आज जेठ २ गतेको बुद्ध जयन्ति समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । पाँच हजार जनाले एकैपटक ध्यान गर्न मिल्ने गरी ध्यान केन्द्रको निर्माण गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षू मेत्तैयाले बताए । पलेटी मारेर बस्दा पाँच हजार तर, कुर्सीहरु मिलाएर राख्दा आठ हजार अट्ने क्षमता छ ।
२०७५ वैशाख १७ गते बुद्ध जयन्तिको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसबेला प्रधानमन्त्री रहेका ओली र पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका थिए । यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेवाले सभाहल निर्माणको जिम्मा पाएको थियो । संरचना निर्माणको काम पूरा गरेर अहिले सौन्दर्यकरणका काम धमाधम भइरहेका छन् । तीन वर्षमा निर्माण सक्ने सम्झौता भएपनि कोभिडलगायतका कारणले एकवर्ष ढिलो गरी चार वर्षमा निर्माण पूरा भएको छ ।
विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बनाउने गरी सभाहल तयार भएको शाक्यपुत्र भिक्षू मेत्तेयाको भनाइ छ । उनले ध्यान केन्द्रको शिल्यास गर्दा पूर्वप्रधानमन्त्री ओलीले भनेको कुरा अहिले पनि झलझली याद आइरहेको बताए । ‘त्यसबेला ओलीले उपाध्यक्षलाई लुम्बिनी मानवताको, बुद्धत्वको, शान्तिको र असल विचारको उद्गम भएको भूमि रहेको र सोही अनुरुपको विकास गर्नुपर्ने बताउनुभएको रहेछ ।’
लुम्बिनी पर्यावरणको हिसाबले, शान्तिको हिसाबले, जलचरको हिसाबले, जैविक विविधताको हिसाबले र संसारभर शान्ति छर्ने मुहानको हिसाबले पवित्र भूमि रहेको उल्लेख गर्दै उपाध्यक्ष शाक्यपुत्र भन्ते मेत्तैयाले लुम्बिनी परिसरमा गुरुयोजना अनुरुपका निर्माण भइरहेको बताए । यद्यपि कतिपय संरक्षणविद्हरुले भने लुम्बिनीमा कंक्रिटका संरचना ज्यादा बनाउन नहुनेमा सचेत बनाउँदै आएका छन् ।
परिसरबाटै शान्तिको आभास हुने ध्यान केन्द्र
८ हजार सिट क्षमता भएको तर, हाललाई पाँच हजार सिट मात्रै राखेर छाता शैलीको हल निर्माण भएको छ । हलमा यसअघि गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिसमेत राखिसकिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको कोषका योजना प्रबन्धक इन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।
ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । माथितिर कमलको फुल चिटिक्क पारिएको पेन्ट गरिएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ ।
ध्यानकेन्द्र अर्थात् सभाहलका संरचना त्यहाँ प्रवेश गरेपछि नै शान्तिको आभास हुनेगरी डिजाइन गरिएको छ । सकारात्मक सोंचको प्रतित हुने गरी साजसज्जा र डिजाइन भएको छ । ध्यानकेन्द्रको छानो गोलाकार रुफ इलिभेसन इलिप्टिकल आकारमा डिजाइनमा निर्माण गरिएको छ ।
हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि एक वर्ग मिटरको क्षेत्रफल राखिएको छ, जसमा एउटा ब्लकमा चारजना मानिस बस्ने सक्ने गरी बनाउने व्यवस्था मिलाइएको छ । आवतजावतका लागि दुई मिटर चौडाई भएको ठाउँबाट भित्र–बाहिर गर्न सक्ने गरी तयार हुनेछ भने फ्लोरमा सेतो रंगको माजाइक र चार इन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ ।
वातानुकूलित सभाहलको बीचको माथिको भागमा आकर्षक कमलको फुल बनाइएको छ । सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाइटको व्यवस्था गरिएको हुनेछ । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बनेको यो हल अन्तर्राष्ट्रिय ध्यान केन्द्रको रुपमा परिवर्तन गरिएको छ । पहिलो चरणमा पिल्लर र माथी छाना लगाएर कार्यक्रम गर्ने गरी हल बनाउने गरी काम भएपनि पछि अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाइएको छ । ध्यान केन्द्रको पहिलो चरणको काम अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले रु २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । पछि ध्यान केन्द्रमा रुपान्तरण गर्न दोस्रो चरणको कामका लागी थप रु ३३ करोड बजेट विनियोजन गरिएको थियो ।
३८ हजार वर्गमिटरमा फैलिएको उक्त ध्यान केन्द्र सर्कुलर डोमसेट शैलीमा निर्माण भएको छ । अन्तर्राष्ट्रिय ध्यानकेन्द्र ४० ओटा आरसिसि पिल्लर, मेटल ट्रस्ट स्टक्चर, दुई मिटर चौडाइको भित्र बाहिर गर्ने ढोका लगाइएको छ । ध्यान केन्द्रमा रोलर पार्टिसनको व्यवस्था गरिएकोले आवश्यकता अनुसार ५ सय, १ हजार,२ हजार र ३ हजार जना एकै पटकमा बस्न र ध्यान गर्न सकिने व्यवस्था रहेको छ ।
ध्यान केन्द्रमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन गरिने छ । ध्यानकेन्द्रमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण गरिएका छन् । ५५ साना ढोका रहेका छन् । हलको बाहिरी कम्पाउण्डवालमा गौतमबुद्धले ध्यान गरेका दुई फिट उचाइका ९७ वटा प्रतिमा राखिएका छन् ।
मुख्यद्वारमा छ फिट अग्लो बुद्धप्रतिमा राखिएको छ र नगिचै राष्ट्रिय झण्डा फहराइएको छ । पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँबायाँ भिभीआइपी लेन र प्रतिक्षालय निर्माण गरिएको छ । एकै पटक ६० जनाले प्रयोग गर्न मिल्ने गरी अपाङगमैत्री शौचालय निमार्ण गरिएको छ । रातिमा झलमm लाइट राखिएको छ ।
लुम्बिनीको गुरुयोजना अब ४३ वर्षपछि पूरा हुने चरणमा पुगेका बेलामा भारतबाट सरकार प्रमुखको ऐतिहासिक सांस्कृतिक भ्रमण भएको छ । यसले लुम्बिनीको पहिचान बढाउने र विश्वमाझ चिनाउन थप मद्दत मिल्ने विश्वास गरिएको संस्कृतिविद् डा.गितु गिरीको भनाइ छ ।