ज्योतिनगरमा चेक ड्याम र खोल्सी बनाएर पहिरो नियन्त्रणको प्रयास

मेचीकाली संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार
920 shares

अमृत गिरी
बुटवल । अहिले फेरि वर्षात् सुरु हुँदैछ । गत वर्षको वर्षात्मा बुटवलको ज्योतिनगरमा गएको पहिरोबाट प्रभावितहरुको व्यवस्थापनका काम अहिले पनि चलिरहेका बेला अब फेरि के–के आपत् आइलाग्ने हो भन्ने त्रास उत्पन्न भइसकेको छ । बुटवलमा गत वर्षको भदौ १३ गते गएको पहिरोले ज्योतिनगर क्षेत्रका थुप्रै घर प्रभावित भएका थिए । वडा नं. ३ र ४ वडाका धेरै टोलका बस्तीलाई पहिरोले प्रभावित र विस्थापित बनाएको थियो ।

त्यसबेला उपमहानगरले उपलव्ध साधन स्रोत जुटाएर बस्तीमा थुप्रिएको लेदो हटाउने र पहिरो नियन्त्रणका लागि सुुरु गरेको काममा पछि तीनै तहको सरकारको सहकार्य भयो । केही ठाउँमा समुदायले समेत उपभोक्ता समितिसमेत गठन गरेर पहिरो नियन्त्रणका काम अगाडि बढाए । झण्डै ९ महिनादेखि निरन्तर चलिरहेको काम अहिले केही ठाउँमा पूरा भएको छ । हालै एक कार्यक्रममा उपमहानगरका प्रमुख खेलराज पाण्डेले पहिरो क्षेत्रमा यसअघि सुरु भएकामध्येका खोल्सी खन्नेलगायतका केही काम पूरा भएको बताएका थिए । पहिरो प्रभावित क्षेत्रमा गत साउन–भदौदेखि नै काम भइरहेको थियो ।

गत भदौमा उपमहानगरले पहिरो नियन्त्रणका लागि त्यसबेलाका प्रमुख शिवराज सुवेदीले स्थानीय विपत् व्यवस्थापन समितिको बैठक राखेर तत्कालै करिब ८६ लाख रुपैयाँ बजेट विनियोजन गरी उपकरणसहितको टोली खटाएका थिए । पहिरो गएको क्षेत्रमा प्राविधिक अध्ययन र निगरानीमा पानीका भल काट्न खोल्सी खन्ने, जोखिमयुक्त क्षेत्रमा चेक ड्याम लगाउने र पहिले झरेको लेदो हटाउने काम त्यसैबेलादेखि नै सरु भएको थियो । गत पुस र फागुनमा सुरु भएको खोल्सी खन्ने र चेक ड्याम निर्माणको पहिलो चरणको काम भने अहिले पूरा भएको बुटवल उपहानगरले जनाएको छ ।

पहिरोले बस्तीमा झारेको लेदो (ढुङ्गामाटो) हटाउने र चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी खनिएको थियो । उक्त कामका लागि दैनिक सयभन्दा धेरै मजदुर खटिएका थिए । अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा थुप्रिएको लेदो हटाउने र खोल्सी खनेर पानी तर्काउने काम पूरा भएको पहिरो नियन्त्रणका काममा सुरुदेखि नै निरन्तर खटिएका स्थानीय अगुवा सरस्वती ठकुरीले बताइन् । त्यसबेलाका वडा अध्यक्षसमेत रहेकी अगुवा ठकुरीसहित त्यहाँका स्थानीय जनप्रतिनिधि, युवा र अगुवाहरुले पहिरो नियन्त्रणको काममा निरन्तर निगरानी गर्दै आएका थिए ।

ती कामको समन्वय सर्वदलीय रुपमा हुँदै अएको स्थानीय अर्का युवा अमृत खड्काले बताए । पहिरो नियन्त्रणको काममा निरन्तर निगरानीमा रहेका खड्काले केही ठाउँमा पुसदेखि र केही ठाउँमा गत फागुन ४ गतेदेखि निरन्तर काम भइरहेको बताए । तीमध्ये केही ठाउँको काम पूरा भएको र अर्को चरणको काम अहिले पनि जारी रहेको खडकाको भनाइ छ ।

पहिरो गएको बेला सर्वदलीय बैठक बसेर ज्योतिनगर पहिरो व्यवस्थापन तथा नियन्त्रण समिति र मिलनपथ पहिरो व्यवस्थापन तथा नियन्त्रण समिति गरी दुईवटा सर्वदलीय समिति गठन गरिएको थियो । तीनै समितिमार्फत त्यहाँ तीनै तहका सरकार मातहतका काम निरन्तर हुँदै आएको उपमहानगरका सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । उपमहानगरले तीनै तहको सहकार्य र स्थानीय उपभोक्तासमेतको समन्वयमा उपमहानगरका इन्जिनियर, उपकरण र अन्य प्राविधिक खटाएर निरन्तर काम गर्दै आएको ई.श्रेष्ठको भनाइ छ ।

पहिरो प्रभावित क्षेत्रमा बुटवल उपमहानगर, लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय र राष्ट्रपति चुरे मधेश संरक्षण कार्यक्रमअन्तर्गत पहिरो नियन्त्रण र व्यवस्थापनमा विभिन्न काम हुँदै आएका छन् । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रमअन्तर्गत बुटवलको उक्त पहिरो नियन्त्रणका लागि करिब एक करोड २५लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उपमहानगरका वातावरण इन्जिनियर योगेश चापागार्इँले गत पुसदेखि सोही कार्यक्रमअन्तर्गत नियन्त्रणका काम जारी रहेको बताए । उपमहानगरले प्रदेश सरकारसँगको सहकार्यमा गत भदौदेखि नै खोल्सी खन्ने, तारजाली लगाउने र लेदो व्यवस्थापनका काम गर्दै आएको थियो ।

यसअन्तर्गत ज्योतिनगर र मिलन पथ क्षेत्रको काम पूरा भएको छ भने अहिले लक्ष्मीनगर क्षेत्रमा काम जारी छ । त्यसक्षेत्रमा थुप्रिएको लेदो हटाएर तल बहुमुखी क्याम्पसको खुला क्षेत्रमा डम्प गर्ने काम भइरहेको छ । मितेरी खोल्सीदेखि माथि बाँसघारीसम्म पाँच ठाउँमा पाँच–पाँच मिटरका चेक ड्याम निर्माण गरिएका छन् । यी कामका लागि विभिन्न ११ वटा चेक प्वाइन्ट निर्माण गरेर काम गरिएको थियो । तीमध्ये खोल्सी निर्माणका लागि दैनिक एक सय जनाभन्दा धेरै मजदुरहरुले काम गरेका छन् ।

बाढी पहिरो तथा विपद्को जोखिम न्यूनीकरण गर्न ग्याबिन तारजाली लगाउने, च्यानलाइजेशन गर्ने, तटबन्ध निर्माण गर्ने, नहर निर्माण गर्ने तथा वृक्षारोपण गर्नेलगायतका कामहरु भइरहेको उपहानगरका महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए ।

चुरे शृंखलामा निरन्तर जोखिम
जैविक विविधताले धनी रहेको यो क्षेत्र अव्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू–उपयोग, खेती प्रणाली, पशुपालनले गर्दा उच्च जोखिममा रहेको छ । चुरे शृंखलामा नदी कटान, भू–क्षय, बाढी, पहिरो जस्ता प्रकोप बढिहरका छन् । चुरे र भावर क्षेत्रमा बस्नेहरुमा वातावरणीय तथा आर्थिक जोखिम बढिरहेको छ । बढ्दो जनघनत्व, अस्वभाविक बसाइसराइ तथा जलवायु परिवर्तनका छिटो छिटो देखिने असरका कारण चुरे क्षेत्रमा भूक्षयलगायतका विपत्को जोखिम निरन्तर बढेको छ । चुरे शृंखला नेपालको ७७ जिल्लाहरूमध्ये ३७ जिल्लाहरूका केही भूभाग ओगटी फैलिएको सबैभन्दा कान्छो पहाडी शृृंखला हो ।

चुरे क्षेत्रमा प्राकृतिक स्रोतको निरन्तर क्षय भइरहेको र जलवायु परिवर्तन तथा जल उत्पादन प्रकोपका जोखिम बढिरहेको भन्दै वातावरणविद्हरुले चिन्ता व्यक्त गर्दै आएका छन् । लामो समयदेखि वातावरणको क्षेत्रमा काम गर्दै आएका वातावरणविद् चक्रपाणि शर्माले क्षति न्यूनीकरण र असरका प्रभाव न्यूनीकरणका लागि एकीकृत स्रोत व्यवस्थापनका कामको खाँचो रहेको बताउँछन् । उपल्लो जलाधार क्षेत्रमा हुँदै आएको भू–स्खलनले धेरै ठाउँमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै शर्माले अब समुदायस्तरबाटै संरक्षणका कामलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रमकी सूचना अधिकारी अर्चना खड्काले कार्यक्रम कार्यन्वयनका लागि गुरुयोजना बनाएर विभागीय कामको जिम्मेवारी तोक्ने र कामलाई प्रभावकारी बनाउने काम भइरहेको बताइन् । नेपाल सरकारको मिति २०७४ जेठ २ गतेको निर्णयानुसार गुरूयोजना स्वीकृत भई सोअनुरूप कार्यक्रम कार्यान्वयन भइरहेको उनको भनाइ छ ।