सियारीमा पशु हाटबजार सञ्चालन

मेचीकाली संवाददाता

९ श्रावण २०७९, सोमबार
498 shares

सियारी । रुपन्देहीको सियारी गाउँपालिकामा पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिन पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैंकको साढे ५ करोड रुपैयाँ ऋण सहयोगमा सियारी गाउँपालिका–२ च्याङठामा व्यवस्थित पशु हाटबजार सञ्चालनमा आएको हो । यो लुम्बिनी प्रदेशमा दोस्रो व्यवस्थित पशु हाटबजार हो ।

तीन बिघा क्षेत्रफलमा बनेको पशु हाटबजारमा भैंसी, गाई, बाख्रा लगायतका पशुको किनबेच हुनेछ । पशु बेच्न टाढाबाट आएका किसानलाई बास बस्न, रगत, गोबर चेकजाँच गर्ने प्रयोगशाला तथा डिस्पेन्सरी, बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि २ तले किसान भवन बनाइएको छ । यस्तै क्यान्टिन, शौचालय, पशुलाई राख्न टहरो लगायतका संरचनाहरु बनेका छन् ।
हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजाँच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र बिक्री गर्न पाइने छ । बिक्रीयोग्य पशुको रमानापत्रका लागि हाललाई तीन सय रुपैयाँ शुल्क तोकिएको छ ।

पशु हाटबजारको आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् । सियारी च्याङठा पशु हाटबजार तथा बजार संचालन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले कृषि क्षेत्रको बिकासका लागि प्राथमितामा राखेको बताएका छन् ।
लुम्बिनी प्रदेश कृषि र पर्यटनको उर्भर भुमी भएकाले कृषि र पर्यटन क्षेत्रको बिकासका लागि नीति कार्यक्रम र बजेटको व्यवस्थापन गरिएको बताएका छन् ।

सियारीलाई पर्यावरणिय र पर्यटकिय स्थलको रुपमा बिकास गर्न आग्रह गरे । उनले किसानलाई सहयोग पुग्ने गरी जैविक मलखादको स्थापना गर्ने तयारी गरिएको बताउदै उत्पादन बढाउने योजनामा सरकार रहेको बताए । उनले बजारमा आउने पशुलाई क्वारेन्टाईन गरी स्वास्थ्य परिक्षण गरेर पशु खरिद तथा बिक्रि गरी किसानलाई आत्मनिर्भर बनाउने गरी सञ्चालन गर्न आग्रह गरे ।लुम्बिनी प्रदेशका शिक्षा मन्त्री वसिउद्धिन खाँले किसानका बिषयमा प्रतिपक्षी दल एमालेले अनावश्यक राजनीति गरेको आरोप लगाए ।

कृषि मन्त्री सुमन शर्मा रायमाझीले रासायनिक मलखाद बनाउने बिषयमा प्रदेश सरकारको पहलले मात्र हुन नसक्ने भएकाले प्रतिपक्ष दलले किसानलाई उचालेर केहि फाईदा नहुने बतइन् ।
गाउँपालिका अध्यक्ष थानेशवर घिमिरेले राजनीतिक व्यवस्था परिर्वन भएपनि किसानहरु सधै समस्यामा पर्ने गरेको उल्लेख गर्दै तीनै तहका सरकारले किसानलाई राहत दिन नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । संघीय सरकारको नश्ल सुधारको करोडौं वजेट बालुवामा पानी सरह भएको भन्दै अध्यक्ष घिमिरेले वास्तविक किसान लाभान्वित हुने गरी नश्ल सुधार कार्यक्रम ल्याउन माग गरे । नेपालमा गाई भैसी आयात भारतबाट गर्नुपर्ने भएकाले प्रहरी प्रशासनले सीमा नाकामा सहज गरिदिनुपर्ने माग समेत उनले गरे ।

कार्यक्रममा प्रदेशसभा सांसदद्वय तुल्सी चौधरी, पुष्पा थरुनीले बोल्दै पशु हाट बजारलाई व्यवस्थीत गरेर सञ्चालन गर्नु पर्नेमा जोड दिए । कार्यक्रम प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेको स्वागत तथा लेखा अधिकृत नारायण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।