ॐ नमः शिवाय सहकारीको अध्यक्षमा पुन: गिरी

१४ प्रतिशत लाभांस वितरण

मेचीकाली संवाददाता

२३ कार्तिक २०८२, शनिबार
147 shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–४ रुद्रपुरस्थित ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनले पुनः भरथ गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा मिनुता गिरी, सचिवमा कोहरसिंह गिरी, कोषाध्यक्षमा दीपा गिरी निर्विरोध चयन भएको निर्वाचन समिति संयोजक तथा संस्थाका कानुनी सल्लाहकार नेत्र पुरीले जानकारी दिए । यस्तै सदस्यहरुमा दिवाकर पुरी, राधिकाकुमारी गिरी, रिता गिरी, नरेन्द्र गिरी र लिलाराम पुरी रहेका छन् भने लेखा समिति संयोजकमा विश्वराज गिरी तथा सदस्यहरुमा जुना पुरी र मोहन पुरी चयन भएका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले देशको अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रतिको विश्वास घटिरहेको भन्दै उनले सहकारी ऐन, नियम र कानुनको परिधिभित्र रहेर सञ्चालनमा रहेका सहकारीमा समस्या नरहेको बताए । देश भरमा ३२ हजार ९ सय बढी सहकारी संस्था रहेकोमा एक सय सहकारीमा मात्र समस्या देखिएको उनले बताए । सहकारी सञ्चालनसम्बन्धी नयाँ कानुन बनेको बताउँदै उनले त्यसलाई कडाइका साथ पालना गरी संस्था सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा संस्थाका शुभेच्छुक युवराज गिरीले दशनामी बन्धुहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको गिरीले बताए ।
कार्यक्रममा नियमित रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष महेश खनालले रक्तदान जीवनदान भएकाले १८ वर्ष उमेर पुगेका स्वस्थ व्यक्तिले हरेक ३–३ महिनामा नियमित रक्तदान गर्न सक्ने बताए । नियमित रक्तदान गर्दा मानिस निरोगी हुने भन्दै उनले एक जनाले रक्तदान गर्दा ३ जनाको ज्यान बचाउन सकिने बताए । सहकारीहरुले बचत संकलन र ऋण लगानीसँगसँगै रक्तदानलगायतका सामाजिक काममा पनि जोडिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा संस्थापक उपाध्यक्ष ज्ञानुराम भारतीलगायतले बोल्दै ब्याजको दर घटाएर सहुलियत ऋण प्रदान गरी सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भरथ गिरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्याकालमा भएका कार्यक्रमहरु र आगामी योजनाबारे जानकारी गराए । दशनामी बन्धुहरुलाई एकताबद्ध गर्न ९ वर्षअघि संस्था स्थापना भएको स्मरण गर्दै उनले संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै सदस्यहरूको हातेमालो आवश्यक रहने बताए ।

कोषाध्यक्ष दिपा गिरी र लेखा समिति संयोजक विश्वराज गिरीले प्रस्तुत गरेको प्रतिवेदनसमेत साधारणसभाले पारित गरेको छ । कार्यक्रममा सहकारीका उत्कृष्ट बचतकर्ता, असल ऋणी, सदस्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।
नवौं साधारणसभाले १४ प्रतिशत लाभांस वितरण गर्न सफल भएको संस्थाका सचिव सुरेश गिरीले जानकारी दिए । उनका अनुसार हाल सहकारीमा ५१७ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ४१ लाख ६५ हजार रहेको छ भने २२६ जना सदस्यहरुलाई ३ करोड ४४ लाख ५४ हजार १६ रुपैयाँ ऋण लगानी गरेको छ ।

संस्थाले बुटवलको इट्टाभट्टीमा कार्यालय सञ्चालन गरी यस क्षेत्रका सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाका उपाध्यक्ष मिनुता गिरीको स्वागत, सहव्यवस्थापक संगिता गिरी पुरीको सहजिकरण तथा सल्लाहकार विष्णु पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।