अमृत गिरी
बुटवल। कुनै बेला कामको खोजीमा छिमेकी मुलुक भारतमा पुगेर त्यहाँका कोठी (घर), होटलमा समेत काम गरेका व्यक्ति अहिले नेपालकै सफल उद्यमी र नेपाली उत्पादनलाई अमेरिका निर्यात गर्ने अवस्थामा पुगेका छन् । उनी हुन् बुटवलका उद्यमी कृष्ण पौडेल ।
त्यो बेलाको किशोरावस्थाको उनको संघर्ष भनी साध्य छैन तर उद्यम व्यवसायको जीवनयात्रा भने अनुकरणीय छ । भारतबाट फर्केपछि सानोतिनो मासु पसल सुरु गरेका उनी मासुकै कैयन् परिकार तयार पारेर विक्रीवितरण गर्ने यसक्षेत्रको पहिलो व्यवसायी थिए । त्यसमा पनि उनलाई खुम्चिएर बस्न मन लागेन र अहिले आलुका प्रशोधित परिकार तयार पारेर नेपाली बजारमा मात्रै होइन तेस्रो मुलुकसम्म निर्यात सुरु गरेका छन् । कैयन् मुलुकबाट माग सुरु भइसकेको छ ।

स्वदेशी कच्चा पदार्थ, स्वदेशी परिश्रम र आधुनिक प्रविधिको मेलले नेपाललाई ‘आयातकर्ता’ बाट ‘निर्यातकर्ता’ राष्ट्रतर्फ अघि बढाउने बाटो देखाउने यसक्षेत्रका सफल उद्यमी बनेका छन् तिनै पौडेल ।
उनकै नेतृत्वमा रुपन्देहीको ग्रामीण भूभागबाट सुरु भएको एउटा उद्योगले अहिले विश्व बजारमा नेपालको नाम फैलाउन सफल भएको छ । शुद्धोधन गाउँपालिकामा पाँच वर्षअघि स्थापना भएको ‘फस्र्ट च्वाइस फुड्स’ले नेपालमै उत्पादन गरिएको ‘फ्रेन्च फ्राइज’ पहिलोपटक अमेरिका निर्यात गरेर स्वदेशी उत्पादनको गौरवशाली नयाँ अध्याय लेखेको छ ।
भैरहवा भन्सार कार्यालयबाट केही दिनअघि दुई वटा कन्टेनरमा ४२ मेट्रिक टन फ्रेन्च फ्राइज अमेरिकाका लागि भारतको बाटो हुँदै पठाइएको उद्यमी पौडेलले जानकारी दिए । ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डमा उत्पादन भएका यी फ्रेन्च फ्राइज अब अमेरिकी बजारमा नेपाली स्वादका रूपमा चिनिने छन् । तर, त्यहाँ पुग्न अझ केही दिन भने लाग्नेछ । अमेरिकाको सम्बन्धित निकायले गुणस्तर परीक्षण गरेपछि निर्यातको अनुमति दिएको हो ।

यसअघि भारत र नेपाली बजारमा लोकप्रिय बनेका यी उत्पादनहरू अब तेस्रो मुलुकमा पुगेका छन् । कम्पनीका अनुसार हरेक हप्तामा भैरहवाबाट अमेरिका निर्यात हुने योजना छ भने बेलायत, दुबई, मलेसिया र साउदी अरेबियाजस्ता मुलुकहरूबाट पनि माग आउन थालेको छ ।
करिब दुई अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यस उद्योगले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानसँग सहकार्य गर्दै आलु खरिद गरी प्रशोधन गरिरहेको उद्यमी पौडेलले बताए । युरोपियन प्रविधिमा आधारित उद्योगले आलुलाई फ्रेन्च फ्राइज, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउनलगायत दर्जनौँ परिकारमा रूपान्तरण गर्दै आन्तरिक बजारमा पनि आयात विस्थापनको दिशा लिएको उनको भनाइ छ । अहिले ७५ प्रतिशत फ्रेन्च फ्राइज आयात विस्थापित भइसकेको र आगामी वर्षमै सम्पूर्ण आयात रोक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार पहिलो खेपको निर्यातबाट नेपालले ४० हजार अमेरिकी डलर आम्दानी गरेको छ, जसले व्यापार घाटा घटाउने दिशामा सानो तर महत्वपूर्ण योगदान हो ।
नेपालका किसानलाई आत्मनिर्भर बनाउँदै उत्पादनदेखि बजारसम्मको चक्रलाई जोड्ने यस उद्योगले कृषिमा आधुनिकता र औद्योगिकीकरणको संयोजन प्रस्तुत गरेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको भनाइ छ । किसानलाई बिउ, मल, सिंचाइ र बजार सुनिश्चितता उपलब्ध गराउँदै उत्पादन खरिद गरेर उनीहरूलाई प्रत्यक्ष फाइदा पु¥याउने काम भइरहेको र यसले कृषि पेशामा समेत प्रोत्साहन मिलेको उद्योगी सापकोटाले बताए ।





