संवाद समूहद्वारा समिक्षा तथा आगामी निर्वाचनको तयारी अन्तरक्रिया

मेचीकाली संवाददाता

१८ श्रावण २०७९, बुधबार
405 shares

पार्वती आचार्य

कपिलवस्तु । संवाद समूह कपिलवस्तु द्वारा स्थानीय तहको निर्वाचन ०७९ को समिक्षा तथा आगामी निर्वाचनको तयारीको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले साक्षर जिल्ला घोषणा गर्नका लागि समन्वय सहकार्य भैरहेको बताउँदै यसलाई सहयोग गर्न संवाद समूहको पूर्ण सहयोगको अपेक्षा रहेको बताए । देशभरका ६२ जिल्लाहरुमा शाक्षरता घोषण भैसकेको र केही जिल्लाहरु घोषणाको तयारीमा रहेको जनाकारी दिँदै लुम्बिनी प्रदेशमा शाक्षरता घोषणा हुन कपिलवस्तु जिल्ला मात्र बाँकी रहेको समन्वय प्रमुख आचार्यले बताए ।

कपिलवस्तु जिल्लाका ४ स्थानियतहमा साक्षरता घोषणा भैसकेको र अझै ६ वटा स्थानियतहमा घोषणा हुन बाँकी रहेको समेत जानकारी दिए । यसैगरी छाडाचौपाहरुलाई नियन्त्ररण गर्नका लागि सम्पूर्ण स्थानिय तहहरुसँग समन्वय सहकार्य भएको बताए ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले मतदाता शिक्षालाई अगाडि बढाउन निर्वाचन कार्यालयले बिषेश ध्यान दिन जरुरी देखिएको बताए । निर्वाचनमा आफू डिजे साउण्ड बजाएर हिँड्नुभन्दा पनि आफू गाउँ र घर घरमै पुगेर ब्यक्तिहरुसंग भोट मागेको दाबी गरे । आगामी निर्वाचन निश्पक्ष र भयरहित गराउन यस समूहको साथसपोर्ट हुन आवश्यक देखिएको बताए । प्रमुख जिल्ला अधिकारी धम्रेन्द्रकुमार मिश्रले संवाद समूह कुनै पनि दलको रुपमा नमुछिएर कार्य गर्नुपर्ने बताए । हिँडडुल गर्न नसक्ने अपांग मतदाताहरुको घरमै पुगेर मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई आग्रह गरे ।

यस्तै निर्वाचनमा खटाइने मतदान अधिकृतहरुलाई मानसिक, स्वेच्छिकलगायतका तालिमहरु दिनुपर्ने र राजनैतिक दलहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी के गर्न हुने के गर्न नहुने भन्ने बिषयमा तालिम दिनुपर्ने बताए । विगतको निर्वाचनमा सवारी पासहरुको दुरुपयोग भएको हुँदा आगामी दिनमा यस बिषयमा विशेष ध्यान दिन आवश्यक भएको बताए । आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै यस समूहले छाडा चौपाया नियन्तरणका लागि स्थान पहिचान गरी श्रोतको व्यवस्थापन गर्न समेत आग्रह गर्नु भयो । महाराजगंज, कृष्णनगर, शिवाराज, मायादेवी र कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापन गर्न जरुरी देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी अनिता क्षेत्रीले निर्वाचन आयोगले छोटो समयमा नै निर्वाचन गर्दा मतदाता शिक्षा व्यापक रुपमा संचालन गर्न नसकिएको बताइन् । स्थानीय तहको निर्वाचनमा कुल मतदाता संख्या ३ लाख ७३ हजार १ सय रहेको र मतदान स्थल २ सय ३५ र मतदान केन्द्र ४ सय ६८ रहेको जानकारी दिइन् । उनले जिल्लामा उम्मेदवार संख्या ३ हजार ५ सय ५३ रहेकोमा जसमा पुरुष उम्मेदवार संख्या २ हजार २ सय ५२, महिला उम्मेदवार संख्या १ हजार ३ सय १ जना रहेका थिए ।
मतदान प्रतिशत ७६.६० र सम्पुर्ण बदरमत १.८१ प्रतिशत रहेको निमित्त अधिकारी क्षेत्रीले बताइन् । जिल्लामा अद्यावधिक गराएका राजनैनिक दल २७ वटा , स्थानिय तहमा भाग लिने २४ र प्रतिनिधित्व गर्ने दल १० वटा मात्र रहेको उनले बताइन् । निर्वाचन खर्च बिवरण हाल सम्म १ सय ५८ जनाले बुझाएका छन् ।

कार्यक्रममा संवाद समूह प्रदेश सदस्य रबिन्द्रनाथ ठाकुरले २०६४ भदौ ३० मा भएको मोहित खाँको हत्या लगाएतको बिभिन्न घटनाहरुलाई समाधान गर्नका लागि संवाद समूह गठन गरी समन्वय गर्दै आएको बताए । यस्तै बिगतका निर्वाचनहरुमा देखिएका समस्याहरुको बिषयमा जानकारी दिंदै आगामी दिनमा आउने निर्वाचनमा शान्तिपूर्ण, मानव अधिकारमैत्री निर्वाचन गर्नका लागि पूर्वतयारी हुनु पर्ने बताए ।
नियोक कपिलवस्तुका संयोजक पशुपतिमणी त्रिपाठीले निर्वाचनमा बालबालिकाहरुको प्रयोग गर्नु स्वीकार्य नभएको बताए । यसैगरी माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुरले सर्वप्रथम त निर्वाचन आयोग निश्पक्ष हुन जरुरी देखिएको बताए । उनले मधेश मानव अधिकार गृह माहुरी होमको संयोजकत्वमा इन्सेक तथा बिभिन्न मानव अधिकारकर्मीहरु र संचारकर्मीहरुको टोलिले मतदाता नामावली दर्ता हुँदा, मतदान गर्नु पूर्वसन्ध्यामा र मतदानको दिनमा स्थलगत अनुगमन गरेको थियो । सो समयमा सम्पूर्ण स्थानिय तहहरुका गाउँगाउँमा निर्वाचन आचार संहिता उल्लघंन भएको पाइएको हुँदा आगामी निर्वाचनमा विष्पक्ष र भएरहित बनाउन निर्वाचन कार्यालयबाट मतदाता शिक्षा संचालन गर्नुपर्ने बताए ।

यस्तै इन्सेक प्रतिनिधि पार्वती आचार्यले अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा मतदान केन्द्रहरु ज्येष्ठ नागरिकमैत्री, आपांगमैत्री, बिरामी, सुत्केरी र गर्भवती मैत्री हुनुपर्ने बताइन् । साथै ०७९ को निर्वाचन सम्पन्न गर्नका लागि प्रहरी प्रशासनले महत्वपूर्ण भूमिका खेलेको अनुगमनका क्रममा देखिएको बताइन् ।
कार्यक्रममा आपाङ्गताको तर्फबाट शिवानन्द बर्माले मतदान केन्द्रहरु आपाङ्मैत्री नहुँदा अपांगता भएका व्यक्तीहरुले सहज रुपमा मतदान गर्न नसकिएको बताए । हिडडुल गर्न नसक्ने अपांगहरुको मतदाता नामावलीमा नाम छुटेकोमा ध्यानाकर्षण गराए ।
कार्यक्रममा संवाद समूहका लुम्बिनी प्रदेश सदस्य बाबुराम खनालले संवाद समूहको परिचय, उद्देश्य, काम, कर्तव्य र अधिकारको बिषयमा जानकारी दिए ।

संवाद समूहका जिल्ला संयोजक तुल्सिराम यादवको स्वागत तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा शम्शेरदल गण गोरुसिंगेका सेनानी जगदिश कार्की, शसस्त्र प्रहरीका प्रमुख सूर्यबहादुर सेन वली, राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र केसी, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख जेसी शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यलगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।