बिश्व स्तनपान सप्ताहको अवसरमा सरोकारवाला बिच अन्तरक्रिया

बच्चाको लागि आमाको दुध नै अमृतः स्त्री तथा प्रसुती रोग बिशेषज्ञ

मेचीकाली संवाददाता

२० श्रावण २०७९, शुक्रबार
511 shares

पार्वती आचार्य

कपिलवस्तु । बच्चाको लागि आमाको दुध नै अमृत भएको कपिलवस्तु अस्पतालका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर प्रशंसा गुरुङ्गले बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको बिश्व स्तनपान सप्ताहको अवसरमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । गर्भदेखि बच्चा जन्मेको २ बर्ष सम्म बच्चाको ८० प्रतिशत मानसिक बिकास बृद्धि हुने भएको हुँदा बच्चा जन्मेको ६ महिना पश्चात आमाको दुधको साथै थप आहार खुवाउनु पर्ने बिषयलाई जोडदिनु भएको थियो ।

यस्तै कार्यक्रममा अस्पतालका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर गुरुङ्गले सहभागिहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिंदै आमाले बच्चालाई पन्ध्र मिनेट देखि आधा घण्टा सम्म स्तनपान गराउनु पर्ने बताउनु भयो । सुत्केरी आमाले दुध आएन भनेर बच्चालाई स्तनपान गराउन छाड्ने होईन आमाले ज्वानाको झोल प्रस्सस्त मात्रामा पिउनुका साथै पोषिलो खानेकुराहरु खाएमा दुधको मात्र बढ्दै जाने बताउनु भयो ।

उहाँले आमाको दुध नआएमा आफ्नो मनोमानीले बजारमा पाईने ल्याक्टोजिन नखुवाउन आग्रह गर्दै स्तनपान गराउँदा गराउँदै पनि दुध नआएमा डाक्टरको सल्लाह अनुसार व्यवस्थापन गर्न अनुरोध गर्दे बच्चा जन्मेको ६ महिना सम्म पुर्ण स्तनपान गराउनु पर्ने बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले आमाको दुध अमृत समान मान्ने कुरालाई प्रवर्धन गर्नकालागि नेपालमा मात्र नभएर बिश्वभर स्तनपान दिवस मनाईदैं आएको बताउनु भयो । बच्चालाई आमाको दुध आएन भने डाक्टरको सल्लाह अनुसार मात्र बिकल्प सोच्नु पर्ने उहाँको भनाई छ । पछिल्लो समयमा आमाहरुले आफ्नो बच्चालाई राम्रो संग स्तनपान नरगराउँदा आमाको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने बताउँदै जिल्लाभर स्तनपान सप्ताह दिवस मनाउनकालागि सरोकारवालाहरुलाई आग्रह गर्नु भएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्यले आमाको दुध नै अमृत भएको हुँदा पूर्ण रुपमा स्तनपान गराए बच्चा तन्दुरुस्त हुने बताउनु भयो । बच्चा जन्मेको २ बर्ष भित्र बच्चाको मानसिक बिकास ८० प्रतिशत हुने हुँदा एउटा बालकलाई सुपोसित बनाउनका लागि आमाको दुध अमृत समान हुने बताउनु भयो ।

सारोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले स्तनपान सप्ताहका उद्देश्यहरु , स्तनपान तथा आमाको दुध सम्बन्धि जानकारी , आमाको दुधमा हुने तत्व र आमाको दुधमा हुने रोग प्रतिरोधात्मक तत्वहरु , स्तनपानबाट आमामा हुने फाईदाको बारेमा सहजी करण गर्नुभएको थियो ।

यसैगरी स्तनपानले शिसुलाई हुने फाईदा र आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्रि बितण ऐन , २०४९ तथा नियमावली २०५१ लगाएतका बिषयमा जानकारी दिंदैै ऐनको प्रावधान उल्लघंन भएमा रु. १ हजार सम्म जरिवाना वा १ महिना सम्म कैद वा दुबै सजाय हुने जानकारी दिनु भयो ।

कार्यक्रममा बरिष्ठ महिला अधिकारकर्मी पुष्पा रेग्मी तथा संचाकर्मीहरुले स्तनपान दिवस मनाउँदै गर्दा कार्यालयहरुमा कर्मचारी आमा र सेवाग्राहीहरुका लागि स्तनपान कक्षको अवस्था , चौबिस घण्टामा कतीपटक स्तनपान गराउनपर्ने र सुत्केरी पश्चात आमाको दुध नआएमा के गर्ने लगाएतका बिषयमा जिज्ञासाहरु राख्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत अनिरुद्ध कुमार श्रीवास्तव , सुआहारा दोश्रो कार्यक्रम , स्वास्थ्यका लागि सक्षम प्रणली , कालीका स्वावलम्वन सामाजिक केन्द्र , स्वास्थ्यकर्मीहरु , महिला स्वास्थ्य स्वयमं सेविकाहरु , आमाहरु , बरिष्ठ महिला अधिकारकर्मी , क्रियाशिल पत्रकारहरु लगाएका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।