घनश्याम कोइराला
मकर सङ्क्रान्ति अर्थात् सूर्यले धनु राशिबाट मकर राशिमा संक्रमण गर्ने अर्थात् सर्ने भनिएको हो । आजदेखि सूर्यलाई क्रमशः उत्तरतिर देखिन्छ । यसैले आजको दिनदेखि उत्तरायण अर्थात् सूर्यको उत्तरतर्फको बाटो प्रारम्भ हुने भनिएको हो ।
यस मौसममा उपलब्ध हुने र जाडोमा अनुकूल हुने पौष्टिक खान्कीहरू तरुल, साग, तिल, गुँड (चाकू), घिउ खाने प्रचलन रहेको पाइन्छ । यस दिनलाई फरक–फरक क्षेत्र र जाति–समुदायका बिचमा फरक–फरक मान्यतासाथ मनाउने गरिन्छ । जे होस्, यो पर्व मूलतः प्रकृतिमा आधरित परम्परागत सांस्कृतिक पर्व हो । मकर सङ्क्रान्तिका दिन गरिने स्नानलाई मकर स्नान भनिन्छ । मकर स्नान गरेपछि तिलका सिक्रा बालेर आगो तापिन्छ । तिलले नै देवताको पूजा गरिन्छ र त्यसलाई तिलार्चन भनिन्छ । त्यसमा तिलको हवन गरिन्छ । तिलकै भस्मको तिलक धारण गरिन्छ । त्यसै अवसरमा न्यानो वस्त्र दान गर्ने र तिल दान गर्ने नियम शास्त्रले बताएको छ । तिलका लड्डु खाइन्छ । माघ महिनाका विषयमा माघ महात्म्यमा विस्तृत कुराहरू छन् । यी सबै नियम पालन गर्नुपर्छ भनेर सिकाइयो । पालन गर्नेहरूले पनि हस् भन्दै पालन गर्दै आएका पनि छन् । किन गर्नुपर्छ भनेर सोध्ने र यस कारणले गर्नुपर्छ भनेर बताउने परम्परा कहिलेदेखि छुट्यो त्यसको लेखो छैन ।
यस दिन वा माघ महिनामा तिलको यति धेरै प्रयोग हुने त शास्त्रले बताएको छ भनी मानिन्छ तर तिलका गुण के कति छन् भन्ने कुरा त आधुनिक प्रयोगशालाले खोज्न, बुझ्न सक्ने कुरा हो तर त्यो खोजिएको छैन । बरु उल्टै ‘अन्धविश्वास’ नाक खुम्च्याउने ‘प्रगतिवादी अन्धविश्वास’ प्रकट गर्नेहरूको सङ्ख्या मनग्गे देखिन्छ । थोरै पनि ध्यान दिने हो भने माघ महिनाको ऋतु परिवर्तनसँग तिलको सम्बन्ध के छ भनेर खोज्ने अर्को अवसर छ । आखिर तिल नै भनेर तोक्नुको अर्थ त केही होला नै ।
यो दिनलाई सूर्य मकर राशिमा प्रवेश गर्ने दिनको रूपमा ठम्याइयो । यस कारण यस दिनको नाम मकर सङ्क्रान्ति भयो । मेष, वृष आदि बाह्र राशिका नाम हाम्रै पुर्खाले खोज गरेर राखे । तिनै राशिको नाम अनुसार महिनाको नाम राखे । अझ महिनाको नामसँग त्यस महिनामा पर्ने पूर्णिमामा पर्ने नक्षत्रको समेत अध्ययन गरे । उदाहरणका लागि–मघा नक्षत्रमा पूर्णिमा पर्ने भएर माघ भयो, पूर्वाफाल्गुनीमा पूर्णिमा पर्ने फल्गुन(फागुन) भयो, चित्रामा पर्ने चैत्र (चैत) ।
जहाँ सुकैको, जुनसुकै पात्रो (क्यालेण्डर) होस् आजसम्म वर्षमा बाह्र महिना नै मानिन्छ । त्यसअनुसार नै संसारभरि बाह्र महिने पात्रो र क्यालेन्डर बनेका छन् । अहिले हामीले वैज्ञानिक खोजकर्ता भनेकाहरूले पनि तिनै बाह्र महिनाको वर्ष मानेका छन् । हाम्रै वैदिक ग्रन्थ विश्वमा सर्वप्राचीनमध्येका हुन् भनेर मानेका छन् । यी सबै हेर्दा र बुँदा हाम्रा पुर्खाले खोज गरी पत्ता लगाएका बाह्र राशि र बाह्र महिनाको खोज वैज्ञानिक रहेछ भन्ने प्रमाण स्वतः सिद्ध छ । त्यसरी नै नौ ग्रहहरू, २७ नक्षत्रहरू, छ ऋतुहरू र दक्षिणायन र उत्तरायण गरी दुई अयनहरू हाम्रै पुर्खाले ठम्याएका छन् । ऋतु भनेको मूलतः मौसम हो । मौसमअनुसार ऋतुहरूको सङ्ख्या थोरै वा धेरै भए पनि अरू कुरा आजका विज्ञानले मानेको छ । आजको वैज्ञानिक भनिएको युगले बहुमूल्य मानेका सुन, चाँदी, हीरा, मोती आदिलाई हाम्रा पुर्खाले त्यही नै भन्दैआएका हुन् । यी सबैमा ख्याल गर्ने हो भने हाम्रा पुर्खाले बनाएका–लेखेका शास्त्र विना परीक्षणका गफ मात्र होइनन् भन्ने पुष्टि हुन्छ ।
यद्यपि, हामीले गर्ने आजापूजा र अन्य पितृकार्यहरूमा गरिने सङ्कल्पमा अन्य कुराका अतिरिक्त अयनको उच्चारण पनि महत्वका साथ गरिन्छ । यसको धेरैलाई सम्झना हुने प्रसङ्ग महाभारतमा रहेको छ । सो प्रसङ्गअनुसार महाभारतमा वर्णित प्रसिद्ध पात्र भीष्म पितामह छ महिनासम्म बाणको शैयामा सुतेका थिए । उनले स्वेच्छाले मर्न पाउने वरदान पाएका थिए । त्यसैले उनी मृत्युका लागि उचित समय पर्खेर बाणको ओछ्यानमा सुतिरहे । मकर सङ्क्रान्ति सुरु भएपछि उनले स्वेच्छाले प्राण त्यागे । दक्षिणायनमा भएको मृत्यु अशुभ हुने मानिएकोले त्यसैले उत्तरायणमा प्राण त्याग्न उनी पर्खेर बसेका थिए । इच्छामरणको वरदान पाएका भीष्मले उत्तरायण सुरु भएपछि प्राण त्याग गरेका थिए ।
उत्तरायणमा सूर्य आकाशको केही उत्तरी भागमा आउने हो । दक्षिणायनमा सूर्य दक्षिणको बाटो आकाशमा गएको देखिन्छ । उत्तरायणमा दिन लामा, रात छोटा र जाडो कम हुन्छ । दक्षिणायनमा दिन छोटा, रात लामा र जाडो बढी हुन्छ ।
यी विषय हामीले देख्दै र भोग्दै आएका छौँ र बुझेका पनि छौँ । जुन देखिने बुझिने र प्रस्ट छ, त्यही प्रामाणिक हो र प्रामाणिक विचार वा व्यवहार नै वैज्ञानिक पनि हो । हाम्रै पुर्खाले खोजेका यस्ता कुरा बिर्सँदा गइरहेका छौँ । हामीले अभ्यासमा ल्याउन छोडिरहेका छौँ । तर पनि हामीले अनुभव भने गरेकै छौँ । यसैले आज आएर अर्कातिर आफ्ना रीतिरिवाज, संस्कृति, परम्परालाई रुढी र अन्धविश्वास भनियो भने पुर्खाका मिहिनेतलाई अपमान हुन्छ । यस्ता विषयहरूप्रति आस्था राख्ने र यस्ता विषयलाई अन्धविश्वास भन्दै हिँड्नेहरूले पनि अझ गहिरो अध्ययन हुँदा पक्कै अझ राम्रा कुरा फेला पर्न सक्छन् । हाम्रा पुर्खाले खोज गरेका वार, महिना, तिथि, ऋतु, अयन, ग्रह, नक्षत्र, आदि सबै आज पनि जस्ताका तस्तै चल्दै छन् । यी सबै वैज्ञानिक रहेका छन् भने अन्य कुराहरूमा पनि विज्ञान हुनुपर्ने भनेर खोजी गर्ने हो भने हाम्रा प्राचीनताको गरिमा अझ उच्च हुने थियो ।
चीनताको खोजी गर्नु भनेको पछौटे हुनु होइन, बरु आफ्नो पुरानो संस्कृति र प्राचीन समृद्धिका गौरव फेला पार्ने प्रयत्न हो ।
हाम्रा चाडपर्व प्रकृतिमा आधारित छन्, मूल्यमान्यतामा आधारित छन्, परम्पराबाट यहाँसम्म आइपुगेका छन् र संस्कृति बनेका छन् । पुर्खाबाट प्राप्त यस्ता गौरवपूर्ण सांस्कृतिक विरासतलाई विलुप्त हुन नदिऊँ । नयाँ संस्कृति निर्माण गर्न पुराना संस्कृतिको विरोध गरेर नभई आवश्यक अध्ययन एवं सापेक्ष रूपान्तरण आवश्यक हुन्छ ।
समाज पुरानो हो भने सामाजिक व्यवहार पनि पुरानो नै हो । सामाजिक व्यवहार भनेका समाजले स्वीकार गरेका आचार हुन् । ती आचारहरू त्यहाँको प्रकृति, प्राकृतिक स्रोत, भूगोल, जलवायु र उपलब्ध हुने खाद्य बाली आदिका आधारमा जीवनको व्यवस्था चलाउन निश्चित गरिएका हुन्छन् । तिनै आचारबाट नै नियम बनेका हुन् भन्ने कुरामा दुई मत नहोला । आचारबाट बनेका तिनै नियमहरू लिपिबद्ध भएपछि ऐन कानुन बनेका हुन् । सामाजिक नियमभन्दा विपरीत ऐन कानुन लिखित रूपमा ल्याउँदैमा समाजले स्वीकार गर्दैन । समाजले स्वीकार नगर्ने नियम बनाएर लाद्ने तानाशाही हुन्छ । तानाशाहको पतन भएका इतिहास जति पनि पाइन्छन् । माघे सक्राती, माघी आदि भनिने सूर्य मकर राशिमा सङ्क्र्रमण मकर सङ्क्रान्तिको अवसरमा सबैले सबैलाई हार्दिक शुभकामना दिऊँ ! आफूले गतिला र पौष्टिक खान्कीका परिकारहरूको स्वाद लिइरहँदा गरिबीका कारण यी सबैबाट वञ्चित रहेकाहरू प्रतिको दायित्व पनि सम्झना गरौं । त्यस्ताहरू प्रतिको सामाजिक दायित्व पूरा गर्न सानो भए पनि सार्थक कदम चालौँ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)