कोरला नाका: व्यापार र पर्यटनको नयाँ द्वार

कालीगण्डकी करिडोरबाट नेपाल–भारत–चीन जोडिँदै, इभी आयातसँगै मुस्ताङमा चहलपहल, जलवायु परिवर्तनले हिमाली गाउँमा चिन्ता बढाउँदै

मेचीकाली संवाददाता

२१ आश्विन २०८२, मंगलवार
20 shares

अमृत गिरी

बुटवल । नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने गरी कालीगण्डी करिडोर निर्माण भएको छ । यो करिडोरले नेपाल–भारत र चीन तीन देशलाई जोडेको छ । भारतीय सीमाना बेलहियादेखि चिनियाँ सीमाना कोरलासम्मै मोटर पुग्ने सडक निर्माण भएको छ । योसँगै कोरला नाकाबाट आयात निर्यात् सुरु भएको छ । यही दसैंको छेको पारेर कोरला नाकाबाट आयात सुरु भएको छ ।

खासगरी चीनसँगका नाका तातोपानी र रसुवागढी नाका बन्द भएपछि त्यहाँसम्म आइपुगको कन्टेनरहरु उता कोरलातर्फ डाइभर्ट भएका छन् । कोरोलाबाट दसैं आसपासमा मात्रै हजारौं इभी र सयौं मालबाहक गाडी भित्रिएका छन् ।
अहिले यो कोरला नाका दुई देशको सीमा स्थल मात्रै होइन, प्रमुख हिमाली पर्यटन गन्तव्य बनिरहेको छ । कोरला नाका पछिल्ला वर्षहरूमा तीव्र रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको र नाकाबाट आयातनिर्यात पनि खुलेपछि त झन चहलपहल बढाएको अपर मुस्ताङकी अगुवा शर्मिला गुरुङको भनाइ छ ।

नेपाल–भारत–चीनलाई जोड्ने कालीगण्डकी करिडोर
राष्ट्रिय गौरवको कालीगण्डी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड कतै पिच, कतै ग्राभेल भएको र ठाउँठाउँमा पुलसमेत बनेपछि यहाँसम्मको यात्रा सहज बन्दै गएको छ । बेलहियाबाट मुक्तिनाथको दर्शन गरेर, ठाउँठाउँमा दृश्यावलोकन गरेर दुई दिनमा सहजै कोरला नाकासम्म पुग्न सकिन्छ । ठाउँठाउँमा प्रष्टसंग बुझिनेगरी सूचना बोर्डहरु र संकेतहरु राखिएको छ । केही किमीको दूरीमा खाजा, खाना र आवासको समेत प्रबन्ध भएका होटलहरु छन् । डिजल, पेट्रोलका पम्प नभएपछि पसलैपिच्छे केही बढी शुल्कमा उपलब्ध छ । सडकको भने कतिपय ठाउँमा मर्मतसम्भारको खाँचो छ । करिडोर खुलेपछि अपर मुस्ताङमा पुग्ने आन्तरिक पर्यटकको संख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।

समुद्री सतहदेखि करिब ४,६१० मिटर उचाइमा रहेको नेपाल–चीन सीमाको कोरला नाका (२४ नं सीमास्तम्भ) मा एकातिर नेपाल र अर्कोतिर चिनियाँ भासामा चीन लेखिएको छ । यहीँ सीमा स्तम्भमा उभिएर राष्ट्रिय झण्डा फहराएर तस्बिर लिनेहरुको संख्या वर्षेनी बढिरहेको यहाँका स्थानीयहरुको भनाइ छ ।
तल कागबेनी र मुक्तिनाथ दर्शनका लागि पुग्ने करिब ५० प्रतिशत आन्तरिक पर्यटकहरु अप्पर मुस्ताङ र कोरला नाका अवलोकन गर्न पुग्ने गरेको पूर्वउपाध्यक्ष समेत रहेकी अगुवा गुरुङको भनाइ छ । दशैं पर्वसँगै पर्यटकको चहलपहल झनै बढेको उनले बताइन् ।

बाइकमै र सानाठूला सबैजसो सवारीमा पुग्छन् पर्यटक
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार असोज १७ र १८ गते दुई दिनमा मात्रै ६,१७३ आन्तरिक र ६८८ विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन् । कतिपय विदेशी पर्यटकहरु ट्रेकिङ गर्दै पनि अप्पर मुस्ताङ डुल्ने गरेका भेटिन्छन् । प्रहरी कार्यालयका अनुसार केही दिनको अवधिमा २,२१७ सवारीसाधनहरु मुस्ताङ जिल्लामा भित्रिएको तथ्यांक छ । प्रहरी पोस्ट तथा चौकीहरुमा यस्ता विवरण टिपोट गरिन्छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) न्हेचुङका इञ्चार्ज विष्णुहरि थापाका अनुसार सोही दुई दिनमा मात्रै दैनिक करिब १,५०० आन्तरिक पर्यटक कोरला नाका पुगेका थिए ।

बुटवलका युवा सिद्धार्थ आचार्य यसपटक सपरिवार दसैं मान्न मुस्ताङ पुगेका थिए । उनको परिवार दसैंभन्दा चार दिनअघि मुस्ताङ गएको थियो भने दसैं उतै मानेर टीकाको तीन दिनपछि मात्रै बुटवल फर्किएको थियो । उनले मुस्ताङलाई मुलुकको पर्यटनको खानी भन्दै कैयन् भिडियो र तस्बिरहरु अपलोड गरेका छन् ।
मुस्ताङ उच्च भू–भागमा रहेको यो जिल्ला हो । यहाँका कैयन् क्षेत्रमा चिसो र अक्सिजनको कमी हुने गर्छ । जसका कारण धेरैलाई समस्या हुने गरेको बताइन्छ । यस कारण सुरक्षा निकायले अबदेखि बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म मात्रै नाकामा आऊजाऊको अनुमति दिने कार्यतालिका लागू गरेको छ ।

नाकामा पुगेका नेपाली पर्यटकले नेपाल–चीन सीमास्थित जङ्गे पिल्लरमा राष्ट्रिय झन्डा फहराउँदै फोटो र भिडियो खिच्ने, साथै सीमावर्ती व्यापारीसँग चिनियाँ सामान किनमेल गर्ने गर्छन् ।

कठ्याङ्ग्रिने चिसोमा त्रिपाल टाँगेर सुपर मार्केट
लोमानथाङ र त्योभन्दा तल्ला तीन चारवटा गाउँसम्मका नेपाली नागरिकलाई पालिकाको पासका आधारमा चिनियाँ नाकाको केही परसम्म मात्रै आऊजाऊको अनुमति छ । अरुलाई भने मुस्ताङकै भएपनि अनुमति छैन । अनुमति पाएका तिनै नेपालीले चिनमा गएर सामान किनेर ल्याउँछन् । केही समयसम्म कोरलामै बसेर व्यापार गर्छन् । चिसो बढेपछि भने तिनीहरु त्यहाँमात्रै होइन, अप्पर मुस्ताङका बस्तीमा चाँजोपाँजो मिलाएर पोखरासम्म झर्ने गर्छन् । कतिपय त तराईमा आएर कपडाको सिजनल व्यापार पनि गर्ने गर्छन् ।

नेपालीहरु चिसो ठाउँमा चिनियाँ त्रिपाल लगाएर ससाना पसल सञ्चालन गरेका छन् । केही दिनयता तल लोमानथाङसम्म पनि चिनियाँ सामानको किनमेल हुने गरेको छ । लोमानथाङमा रहेको सात सय वर्ष पुरानो दरबार परिसरमा चिनियाँ सामानका कैयौं पसलहरु खुलेका छन् । यसले स्थानीय व्यवसायीमा उत्साह थपेको छ ।

पूर्वाधार अभाव र हिउँ पर्न कम भएपछिको चिन्ता
भौतिक पूर्वाधार अभाव र जलवायु परिवर्तनको असरले मुस्ताङका बासिन्दामा चिन्ता बढाएको छ । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनका अनुसार पछिल्ला दुई वर्षदेखि हिउँ राम्रोसँग परैकै छैन । पहिला त कम्मरभन्दा माथिसम्म हिउँ पर्ने ठाउँमा अहिले मुस्किलले पैतला मात्रै ढाक्नेगरी पर्छ । लामो समयदेखि हिउँ नपरेपछि भूबनोट कमजोर हुँदै गएको र पहिरोको जोखिम बढेको उनको गुनासो छ ।

हिउँ नपर्दा जमिनभित्र रहेको हिउँ पग्लिन्छ, भूबनोट कमजोर हुन्छ र जति बेला पनि पहिरो जाने खतरा रहने विज्ञहरु बताउँछन् । जलवायु परिवर्तनका कारण स्याउ खेतीमा समेत असर परेको र पर्यटन समय निर्धारणमा पर्यटक दोधारमा पर्ने अवस्था आएको लालचनको गुनासो छ ।

घरपझोङ गाउँपालिकाले मुस्ताङमा जलवायु परिवर्तनका प्रभावबारे राष्ट्रिय सम्मेलनको तयारी गरेको बताइएको छ । ७५३ वटै स्थानीय तहका प्रमुख सहभागी हुने उक्त सम्मेलनले संघीय, प्रदेश र स्थानीय सरकारलाई जलवायु नीतिमा प्राथमिकता दिन सन्देश दिने उद्देश्य राखेको बताइएको छ ।