के गर्भावस्थाको जीवनशैली र वातावरणले पनि अटिजम हुनसक्छ ?

मेचीकाली संवाददाता

९ आश्विन २०८२, बिहीबार
1212 shares

अमृत गिरी

बुटवल । गर्भावस्थामा आमाबाबुको जीवनशैली, स्वास्थ्य, वातावरणीय जोखिम र अन्य कारकहरूले अटिजमसँग सम्बन्ध राख्छन् कि भन्ने विषयमा नेपालमा पहिलोपटक औपचारिक अनुसन्धान सुरु भएको छ । पछिल्ला वर्षहरूमा अटिजमको समस्या बढ्दो क्रममा देखिएको छ तर नेपालमा यस विषयमा अझै पर्याप्त सचेतना र अनुसन्धानको कमी छ । सामाजिक तथा मानसिक पक्षले अटिजम भएका बालबालिकाका अभिभावकलाई ठूलो चिन्ता थपिरहेको अवस्थामा यसबारे गहिरो अध्ययनको आवश्यकता बढेको छ ।

स्वास्थ्य विज्ञका अनुसार अटिजम किन हुन्छ भन्ने कुरा अझै स्पष्ट छैन । तर गर्भकालीन कारकहरू–जस्तै लिङ्ग, वातावरणीय अवस्था, आमाबुबाको उमेर, परिवारमा अटिजमको इतिहास, गर्भावस्थामा प्रयोग गरिएका औषधी–अटिजमसँग सम्बन्धित हुनसक्ने देखिन्छ ।
अटिजम एक मस्तिष्क रोग हो, जुन प्रायः बालबालिकामा हुन्छ, पत्ता लगाउन धेरै गाह्रो छ । बच्चा एकदुई वर्षको नभएसम्म अटिजमका लक्षणहरू पत्ता लाग्दैन । यो रोग बच्चाको व्यवहार, उसले देखाउने असामान्य प्रतिक्रिया र इशाराले मात्र पत्ता लगाउन सकिन्छ । यदि तपाईंको बच्चा अन्य बालबालिकाको तुलनामा मौन रहन्छ वा कुनै पनि कुरामा ढिलो प्रतिक्रिया दिन्छ भने यी लक्षण अटिजमका हुन सक्छन् ।

विज्ञहरुले यसलाई एक विकाससम्बन्धी विकार मान्छन् । जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक सम्बन्ध बनाउन कठिनाइ हुन्छ । अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गर्छ । एकै समयमा अटिजमबाट पीडित व्यक्तिहरू पनि एकअर्काभन्दा फरक हुन्छन् ।

विकसित मुलुकमा अनिवार्य जस्तै मानिने अटिजमसम्बन्धी यसप्रकारको अध्ययन नेपालमा ढिलो गरी सुरु भए पनि अहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आइओएसटी) मार्फत इथिकल प्रक्रिया पूरा गरेर अनुसन्धान प्रारम्भ गरिएको छ ।
अनुसन्धानको प्रारम्भिक चरणमा सामान्य सन्तान भएकी आमा र अटिजम भएका सन्तान भएकी आमाबिचको जीवनशैली तथा गर्भावस्थाको अवस्थाबिच तुलना गरेर सम्भावित कारण पत्ता लगाउने उद्देश्य राखिएको छ । एकजना अनुसन्धानकर्ताले भने,‘नतिजा नआउँदासम्म विस्तृत जानकारी सार्वजनिक गर्न सकिँदैन तर अहिले डेटा संकलनको काम सुरु भएको छ र सबै विवरण गोप्य राखिनेछ ।’

यसका लागि अनुसन्धान टोलीले गुगल फारममार्फत आमा/पतिको जीवनशैली, आहार, बसोबास, स्वास्थ्यसम्बन्धी अवस्थालगायतका विवरण संकलन गरिरहेको छ । यो काम सुरक्षित र उत्तरदाताको गोपनीयतालाई प्राथमिकतामा राखेर गरिएको छ ।
फारममा धुम्रपान, मदिरा सेवन, औषधी उपयोग, तनावस्तर, प्रदूषण, सन्तानको स्क्रिन समय, पारिवारिक अटिजम इतिहास जस्ता सरल प्रश्नहरु समावेश गरिएका छन् । सहभागीहरूले सन्तानको उमेर, लिङ्ग, नाम र गर्भावस्तार प्रसूतिको समयको कठिनाइको संक्षिप्त विवरण दिनुपर्ने भए पनि ती सबै जानकारी गोप्य राखिने उल्लेख गरिएको छ ।

यस्तो अनुसन्धानको उपयोगिता के हुन सक्छ ?
अहिले प्रायः परिवारमा बालबालिकामा कुनै न कुनै समस्या देखिने गरेको छ । यसमा पनि अटिजमको समस्या धेरै परिवारमा देखिएको छ । बालबालिकामा अटिजम र ज्येष्ठ नागरिकमा अल्जाइमर्शको समस्या बढिरहेको भन्दै विज्ञहरुले चिन्ता गरिरहेका बेला हुने यसप्रकारको अनुसन्धानले एउटा यथार्थ तथ्य दिनसक्छ । यसप्रकारको मिहीन अध्ययनबाट वैज्ञानिक निष्कर्ष निकाल्ने आधार तयार हुन सक्छ र त्यसका आधारमा स्वास्थ्य नीति बनाउने आधार बन्नसक्छ । यदि तथ्याङ्क यथार्थ, पर्याप्त र विश्लेषण विश्वसनीय भयो भने सरकार, स्वास्थ्य संस्था वा गैरसरकारी संगठनहरूले गर्भावस्थामा स्वास्थ्य सुझाव, पूर्व सावधानी, परीक्षण कार्यक्रम वा जागरुकता अभियान बनाउन महत्वपूर्ण आधार तयार हुने निश्चित छ । साथै आमाबाबुलाई गर्भावस्थामा अपनाउनुपर्ने उत्तम अभ्यास र सम्भावित जोखिमबारे सचेत बनाउन पनि यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

उपचारभन्दा रोग लाग्नै नदिने उपाय खोजौं
स्वास्थ्यविद्हरू भन्छन्‘रोग भएपछि मात्र उपचार गर्नेभन्दा रोग हुनै नदिने उपाय खोज्नु उत्तम हुन्छ ।’ अटिजमसम्बन्धी यस प्रकारको तथ्यपरक अनुसन्धानबाट भविष्यमा अभिभावक, शिक्षक र नीति निर्माण तहमा रहेका निकायले प्रभावकारी कदम चाल्न सक्ने यसको अनुसन्धानमा खटिएकाहरुको विश्वास छ । रोग लागेपछि हायल कायल हुने, हतोत्साहित हुने परिवारको जुन पीडा छ त्यो पीडाको दिगो समाधान भनेकै रोग लाग्न नदिने उपायको खोजी गर्नु हो ।

अटिजमका प्रमुख लक्षणहरू
अटिजम (Autism Spectrum Disorder– ASD) का लक्षणहरू प्रायः बालबालिकामा प्रारम्भिक उमेरमै देखिन थाल्छन् तर ती लक्षणको गहिराइ र स्वरूप व्यक्तिअनुसार फरक–फरक हुन्छन् ।
सामाजिकः आँखा नजोड्ने, साथी बनाउन गाह्रो, भावनाबारे बुझ्न कठिनाई ।
भाषा/संचारः बोल्न ढिलो, शब्द दोहो¥याउने, संवाद निरन्तर राख्न नसक्ने ।
व्यवहारः एउटै काम दोहो¥याउने, नियम÷दिनचर्या परिवर्तन नमान्ने ।
संवेदी संवेदनशीलताः आवाज, बत्ती, गन्ध वा स्पर्शमा असामान्य प्रतिक्रिया । विशेष विषय वा वस्तुमा अत्यधिक चासो (जस्तैः गाडी, घडी, अक्षर, संख्यामा) । असामान्य तरिकाले हिँड्ने (जस्तै पाउँका औंलामा हिँड्ने) । समस्या समाधान वा कल्पनाशील खेलमा कठिनाई आदि ।