रुपन्देहीमा चालकको हत्या गरेर १८ लाखको चामल लुटपाट

मेचीकाली संवाददाता

२६ श्रावण २०७८, मंगलवार
1036 shares

भैरहवा । रुपन्देहीमा ट्रकचालकको हत्या गरी १८ लाख मूल्यबराबरको खाद्यान्न लुटिएको घटना सार्वजनिक भएको छ। भारतीय नम्बर प्लेटको युपी ५३ एटी ०१४१ नम्बरको ट्रकका चालक भारत महाराजगन्ज ग्राम एकडेगवा टोल बुडवा बस्ने तौफिक अहमद पठानको हत्या गरेर खाद्यान्न चामल लुटपाटमा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

चालकको शव सिद्धार्थनगर नगरपालिका– १३ डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा प्रहरीले साउन २० गते फेला पारेको थियो।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ निवासी वर्ष ३० का सद्दाम कुजडा, सोही स्थानका वर्ष २७ का रिजवन भन्ने अली मुसलमान, वर्ष २८ का महेश कहार र तनहुँ शुक्लागण्डकी– १० बस्ने वर्ष २७ को सुनिल पौडेलको संलग्नतामा चालकको हत्या गरी चामल लुटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए। काठमाडौंमा रहेका नन्दन गुप्ता नाम गरेका व्यापारीले मगाएको चामल रुपन्देहीमा लुटिएको हो।

कसरी भयो हत्या ?
घटना विवरणअनुसार भारतबाट नेपाल चामल सप्लाई गर्ने व्यापारीले काठमाडौंमा रहेका नन्दन गुप्ता नाम गरेका व्यापारीलाई साउन २० गते १८ लाख मूल्यबराबरको चामल पठाएका थिए। चालक भारतीय भए पनि रुपन्देहीको रोहिणी गाउँपालिका– २ मा उनको ससुराली छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ निवासी वर्ष ३० का सद्दाम कुजडाले काठमाडौंका नन्दन भन्ने व्यापारीले चामल मगाएको भन्ने पत्ता लगाएर उनको मोबाइल नम्बर खोजी गरी दोस्रो व्यापारीका रूपमा नन्दनसँग पटक–पटक कुरा गरेको प्रहरीको भनाइ छ।

नन्दन र सिद्धार्थनगका सद्दामबीच चिनजान नभए पनि नगद कारोबारमा चामल खरिद गर्ने भन्ने फोनमा डिल भएपछि गाडीचालकसँग सम्पर्क गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ। नन्दनले गाडीचालकलाई पैसा लिएर मात्र अनलोड गर्नु भनी पठाएको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ।

भैरहवा भन्सारमा साउन २० गते भन्सारसँग सम्बन्धित सबै काम सकेपछि भन्सार कार्यालयदेखि करिब एक किलोमिटर बाइपास रोडमा आई सद्दाम कुजडा, रिजवन भन्ने अली मुसलमान र महेश कहारले चालकसँग मादकपदार्थ सेवन गरेको र राति हिँड्दै डण्डा खोलानजिक पुगेपछि इँटा प्रहार गरी खोलामा फालेको खुलेको छ।

त्यसपछि ट्रक लिएर नवलपरासीको भुमईमा लगी दुईवटा नेपाली ट्रकमा चामल अनलोड गरी भारतीय ट्रकलाई पुनस् सुनौली ल्याएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

दुईवटा ट्रकमा रहेको चामललाई तनहुँ शुक्लागण्डकी– १० बस्ने वर्ष २७ को सुनिल पौडेलले अर्को चामलको बोरा तयार गरी नयाँ ब्रान्डको चामल बनाएर बिक्री गर्ने जिम्मा लिएका थिए। त्यसका लागि उनीहरूले चामलको बोरासमेत बनाइसकेको प्रहरीको भनाइ छ।

रुपन्देही ससुराली भएका मृतक परिवारको सम्पर्कमा नआएपछि प्रहरीकोमा खोजतलासका लागि निवेदन परेको थियो। सोही आधारमा डण्डा नदीमा भेटिएको लासको सनाखत गराउने क्रममा यो घटना बाहिर आएको हो। प्रहरीले लुटिएको चामल र हत्या र लुटपाटमा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।