अर्घाखाँची कारागारका ६० कैदीमा कोरोना संक्रमण पुष्टि

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
1076 shares

रुद्रमणि भुसाल

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोभिड पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

कारागारमा रहेका ९३.७५ प्रतिशतमा पोजेटिभ देखिएकाले सबैले जनस्वास्थ्यका मापदण्ड अपनाइ सुरक्षित रहन सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले आग्रह गरेका छन् ।कारागारमा रहेका ६० जना कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताएका छन् ।

अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ । साउन १६ गतेदेखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ । जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।