कपिलवस्तु । मानव बेचबिखन सामाजिक अपराध हो, मानव बेचबिखन नियन्त्ररणका लागि सक्रिय नीतिको आवश्यक छ । यसलाई नियन्त्रण गर्न सरकार बढी जिम्मेवार हुनुपर्छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिकी उपप्रमुख तारावती चौधरीले मानव बेचबिखन अपराध भएकोले यसलाई रोक्न सबैले हातेमालो गर्नुपर्ने बताइन् । माइती नेपाल र सम्मान परियोजनाको आयोजनामा मानव बेचबिखन सम्बन्धी तौलिहवामा भएको छलफल कार्यक्रममा मानव बेचबिखनलाई रोक्न स्थानीयतहहरु सक्रिय भई निति बनाएर कार्यान्वयन गर्नुपर्ने उपप्रमुख चौधरीले बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिका अध्यक्ष चक्रपाणी पाण्डेले मानव बेचबिखन विश्वव्यापी रुपमा फैलिएको सामाजिक अपराध भएको बताए । नेपाल पनि यो समस्याबाट अछुतो रहन नसकेको बताए । मानव बेचबिखन तथा ओसारपसार, महिला तथा बालबालिकाहरू माथि हुने यौन तथा श्रम शोषण, निकृष्ट प्रकारका बालश्रम, व्यक्ति माथि हुने दासता र दासत्वको व्यवहारविरूद्ध मानवअधिकार, महिलाअधिकार र बालअधिकारलाई सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय र सार्क स्तरका महासन्धि र तिनका इच्छाधीन आलेखहरूलाई नेपाल सरकारले अनुमोदन गरी सकेको सन्र्दभमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणप्रति प्रतिबद्धता र जिम्मेवारी झनै बढेको बताए ।
नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ को कार्यान्वयनको माध्यमवाट यो समस्या समाधानका लागि नेपाल क्रियाशील रहेको जनकारी दिए । उनले जिल्लाका सबै पालिकाले यससम्बन्भी नीति बनाएर काम गर्नुपर्ने बताउँदै नीति र कार्ययोजना बनाउँदा समाजका अगुवा नागरिकलाई समेत समावेश गर्नु पर्ने बताएका थिए ।
कपिलवस्तु नगरपालिका, कृष्णनगर र वुद्धभुमि नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यक्रम विनर इन्टरनेशनलले गरेकोले बाँकी पालिकाहरुमा अन्य संघसंस्थाले जिम्मा लिएर अगाडि लैजानुपर्नेमा जोड दिए । सोहीअनुरुप शिवराज नगरपालिका र शुद्धोधन गाउँपालिकामा युएनएफपिएले, विजयनगर गाउँपालिकामा दलित सामाजिक विकास केन्द्रले, मायादेवी गाउँपालिकामा सनसाइन सामाजिक विकास केन्द्रले र वाणगंगा नगरपालिकामा लिडो नेपालले जिम्मा लिई मानववेचविखन नियन्त्रणको कार्य अगाडि बढाउने निर्णय भएको छ । त्यस्तै यशोधरा र महाराजगञ्ज नगरपालिका माहुरी होमले जिम्मा लिने भएको छ ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता दामोदर गौतम, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्की, विनर इन्टरनेस्नलका संयोजक लालवाबु कुशवाहाले मानव वेच विखन नियन्त्रणसम्बन्धी प्रस्तुती गरेका थिए । माइती नेपालका संयोजक माया क्षेत्रीको सहजिकरणमा सम्पूर्ण स्थानीय तहका उपप्रमुखहरु, उपाध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समिति सदस्य पुष्पा रेग्मीले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।