सैनामैनाको मुर्गीयामा बन्दैछ सरकारी अस्पताल

मेचीकाली संवाददाता

१३ असार २०८०, बुधबार
858 shares

रुपन्देहीको सैनामैना नगरपालिका–४, मुर्गियामा धमाधम निर्माण भइरहेको ५० शैयाको सरकारी अस्पताल भवन । तस्बिरः अमृत गिरी/मेचीकाली

अमृत गिरी

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा ५० शैयाको सरकारी अस्पताल धमाधम निर्माण भइरहेको छ । केपी ओली नेतृत्वको यसअघिको संघीय सरकारले ल्याएको ‘एक पालिका एक अस्पताल’ को नीतिअन्तर्गत वडा नं ४ मुर्गियामा व्यवस्थित अस्पताल निर्माण भइरहेको छ ।

अहिले अस्पताल भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको सशर्त अनुदानमा बनिरहेको १५ शैयाको अस्पताललाई रि–डिजाइन गरेर ५० शैयाको चलाउन सक्नेगरी संरचना निर्माण भइरहेको छ । यसका लागि नगरपालिकाले सम्बन्धित स्वास्थ्य मन्त्रालयबाट यसअघि नै स्वीकृति लिइसकेको थियो । २०७८ साउन १० गतेदेखि बनाउन सुरु गरिएको अस्पतालको निर्माणकार्य अहिले करिब ९० प्रतिशत पूरा भएको बताइएको छ ।

सुरुआत १५ बेडको, संरचना बन्यो ५० बेडको
सैनामैना नगरपालिकामा बनिरहेको अस्पताल भवन एक पालिका, एक अस्पतालको योजनामध्येको सबैभन्दा प्रभावकारी योजना मानिएको छ । सुरुआत गर्दा १५ बेडको भनिएपनि यसको संरचना ५० बेड सहज रुपमा चलाउन मिल्नेगरी तयार भएको छ ।
अस्पताल भवनमा इमर्जेन्सी, बहिरङ्ग विभाग, अन्तरङ्ग विभाग, प्रसूति इकाइ रहनेछन् । भवनको माथिल्लो तलामा प्रशासनिक कार्यालय, लाइब्रेरी, सभा हललगायत आधारभूत अस्पतालमा हुने सबै सुविधा रहने छन् । भवनमा एउटा भ¥याङ, एउटा लिफ्ट र एउटा ¥याम्प निर्माण हुनेछन् ।
चार तलासम्ममै बिरामी राखेर स्ट्रेचर लैजान मिल्ने गरी ¥याम्प निर्माण भइसकेको छ भने समग्र भवनलाई अपाङ्गमैत्री बनाइएको छ । अस्पतालमा पोस्टमार्टम गृह पनि बन्ने छ ।

सञ्चालनमा ल्याउन आतूर छौं ः प्रमुख शर्मा
अस्पताल भवनको निर्माणकार्य फटाफट भइरहेको र यसले नगरबासीमा हौसला बढाएको नगरप्रमुख फणिन्द्र शर्माले बताए । प्रमुख शर्माले तोकेको समयको सेरोफेरोमै निर्माण सकेर सञ्चालन गर्न नगरपालिका आतू्र रहेको बताए । अस्पतालका लागि यसअघि जुटेका सामानहरुको विज्ञहरुद्वारा निरीक्षण गराई नपुग हुने र आवश्यक उपकरणहरु तीनै तहका सरकार र निजी क्षेत्र मिलेर जुटाइने प्रमुख शर्माको भनाइ छ । नगरबासी नागरिक, सामाजिक संघ संस्था, तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यको उत्कृष्ट नमुना बनाउनेगरी काम भइरहेको प्रमुख शर्माले बताए ।

‘त्यसबेला सुरु भएको अभियानमा स्वतःस्फुर्त रुपमा नगरबासीले सहयोगमा हातेमालो गरेर हौसला दिनुभएको थियो जसले एउटा साकार रुप लिने भएको छ,’ उपप्रमुख बिना राना भन्छिन्,‘सैनामैनाबासीले गौरव गर्न मिल्नेगरी अस्पताल निर्माण कार्य पूरा हुनैलाग्दा हामी सबैलाई खुशी लागेको छ ।’ एचडीयू र आईसीयू बेड, एक्सरे मेसिन, प्रयोगशालाका उपकरण विभिन्न दाताबाट प्राप्त भएको रानाले बताइन् । उनले यसअघिका जनप्रतिनिधिको पहलमा सुरु भएका ऐतिहासिक काममध्येको एउटा सपना अहिले साकार हुने चरणमा पुगेको बताइन् ।

अधिकांश उपकरण यसअघि नै इन्तजाम
५० शैयाको अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने अधिकांश उपकरण यसअघिका मेयर चित्रबहादुर कार्कीको पहलमा यसअघि नै जुटिसकेको र नपुग उपकरणहरु खरिद गर्नेगरी प्रक्रिया अगाडि बढेको बताइएको छ । खासगरी कोरोना महाकारीको कहरका बेलामा सैनामैनाबासी र सैनामैनालाई माया गर्ने विभिन्नस सामाजिक संघसंस्था र नागरिक अगुवाहरुले निशुल्क रुपमा स्वास्थ्यका उपकरणहरु नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

पहिलेको डिजाइनमा नगरपालिकाको आन्तरिक स्रोतबाट तला थपेर ५० शैयाको अस्पताल सञ्चालन गर्न मिल्नेगरी संरचना बनाउन सुरु गरिएको र अब साकार रुप लिन लागेकाले आफूहरुलाई खुशी लागेको संस्थापक नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । अस्पतालमा ३० वटा एचडीयू बेड, १० वटा आइसीयू बेड, १० वटा जनरल बेड र आवश्यकताअनुसार इमर्जेन्सी बेड रहने गरी त्यतिबेलै नयाँ डिजाइन गरिएको कार्कीको भनाइ छ ।

अस्पताल निर्माणपछि नजिकै रहेको पर्रोहा स्वास्थ्य चौकीमा जनस्वास्थ्य सम्बन्धित कार्यक्रमहरु सञ्चालन, स्टोर, कर्मचारी आवास र प्रशासनिक प्रयोजनमा प्रयोग गर्नेगरी तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । बाहिरी संरचना पूरा गरी अहिले इन्टेरियरको काम भइरहेको थापाको भनाइ छ । संघीय सरकारबाट तोकिएको रकम आउन करिब छ महिना जति ढिला भएको तर पछि रिलिज भइसकेकाले काममा अब कुनै बाधा नपरेको थापाले बताए ।

‘एक पालिका, एक अस्पताल’ को प्रभावकारी कार्यान्वयन
सैनामैनामा निर्माण भइरहेको अस्पताल यसअघिको सरकारले लिएको ‘एक पालिका, एक अस्पताल’को नीतिको सबैभन्दा प्रभावकारी र उदाहरणीय कार्यान्वयन भएको योजना भन्दै स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले प्रशंसा गरेको थियो । मन्त्रालयबाट आएको खेमनाथ आचार्य नेतृत्वको टोलीले हालै निर्माणकार्यको निरिक्षण तथा अनुगमनसमेत गरेको थियो ।
टोलीले निर्माणकार्यको निरिक्षण तथा अनुगमन गर्दै मुलुकभर बनिरहेका पालिकास्तरीय अस्पताल भवनहरुमध्येको सबैभन्दा प्रभावकारी र उदाहरणीय कार्यान्वयन सैनामैनामा भइरहेको भनि प्रशंसा गरेको त्यसबेला संगै अनुगमनमा रहेका नगरपालिकाका प्राविधिक चिरञ्जीवी पाण्डेले बताए ।

उक्त अस्पतालको पूर्वप्रम केपी ओलीले भर्चुअल माध्यमबाट र पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं.२ का सांसद विष्णुप्रसाद पौडेलले फिल्डमा उपस्थित भएर गरेका थिए । मुर्गियाको प्रगतिटोलमा रहेको १० कठ्ठा जग्गामध्ये साढे ३ कठ्ठा क्षेत्रफलमा व्यवस्थित र आधुनिक भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको नगरपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरज न्यौपानेले जानकारी दिए । उनले अस्पतालका लागि व्यवस्थित र आकर्षक संरचना निर्माण भइरहेको बताए ।
निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ः निर्माण व्यवसायी
अस्पतालको निर्माणको जिम्मेवारी पाएको यसक्षेत्रको प्रतिष्ठित कम्पनी श्यामसुन्दर एनबी जेभीका सञ्चालक नारायण भुसालले अस्पतालको करिब ९० प्रतिशत काम पूरा भएको र अबको केही समयमै निर्माण कार्य पूरा हुने बताए । उनले तोकेको समयअगावै निर्माण सक्ने लक्ष्यका साथ काम गरिएको तर, समयमै सरकारबाट सहज भुक्तानी नहुँदा काम प्रभावित भई केही पर सरेको बताए ।

करिब १५ करोड लागत अनुमान गरिएपनि कुल ११ करोड ३६ लाख रुपैयाँमा अस्पतालको भवन निर्माणको ठेक्का लागेको थियो । नगरपालिका र निर्माण कम्पनी बीच ०७८ असार २७ गते सम्झौता भई सोही वर्षको साउनमा निर्माणकार्यको शिलान्याश भएको थियो ।

अस्पतालको निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको छ । २०८० साल साउन १० गते भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । यहीँ मितिकै सेरोफेरोमा निर्माणकार्य सक्नेगरी काम भइरहेको भुसालले बताए । भुसालकै कम्पनीले दाङको गढवा र परासीमा पनि अस्पताल भवन निर्माण गरिरहेको छ ।