बुटवलमा गायक सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

मेचीकाली संवाददाता

१ कार्तिक २०८१, बिहीबार
32 shares

बुटवल, कार्तिक १ । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट शुरू भएर काठमाडौंसहित देशका ५ प्रमुख शहरमा आयोजना गर्न लागिएको ‘एकादेशमा नेपाल टुर २०२४’अन्तर्गत आगामी शनिबार बुटवलमा लाइभ कन्सर्ट हुन लागेको हो । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुने कन्सर्टमा ६ हजारभन्दा बढी दर्शक सहभागी हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
बुटवलमा विभिन्न ४ वटा इभेन्ट अर्गनाइजरहरूको सहकार्यमा कन्सर्ट आयोजना गर्न लागिएको आर्विडरी इभेन्टसका निर्देशक विपिन नकर्मीले जानकारी दिए । उनका अनुसार दर्शकका लागि अनलाइन पे खल्तीमा टिकट बुकिङ खुला गरिएको छ । लोकल इभेन्ट अर्गनाइजर हिमाल आचार्यका अनुसार जनरल, फ्यान अडियन्स र भीआईपी गरी ३ समूहमा विभाजन गरी १ हजार ५००, २ हजार र २ हजार ५०० टिकट दर कायम गरिएको छ । शनिबार दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा अनलाइन बुकिङ नगरेका दर्शकका लागि क्यास काउन्टरबाट पनि टिकट उपलब्ध गराइने एमएन प्रोडक्सनका निर्देशक अक्षर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा लागि आफ्नै साउण्ड सिस्टम तथा लाइटिङ तथा विश्वका चर्चित व्याण्डहरूमा अनुभव प्राप्त ७ जना साउण्ड इन्जिनियर रहेको आयोजकले जनाएको छ । बुटवलमा हुने इभेन्ट गर्नका लागि ९० लाख बढी खर्च हुने अनुमान गरिएको छ । कन्सर्टबाट हुने आम्दानीको केही रकम बुटवलमै आँखा शिविर सञ्चालनका लागि सहयोग गर्ने आयोजकले जनाएको छ । यो इभेन्ट बुटवलमा हालसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।
सज्जन राज वैद्य हालका सफल र श्रोताहरूका प्रिय संगीतकर्मीमध्ये एक हुन् । ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ जस्ता उनका गीतहरू नेपाली युवा पुस्तामा अत्यधिक चर्चित छन्, । उनका गीतहरूले पछिल्लो समय युट्युबमा करोडौं भ्युज पाउने गरेका छन् । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउँदै आएका सज्जनका गीतहरूले उनलाई समकालीन नेपाली संगीतको आइकन बनाइसकेका छन् । यो टुर सज्जनको पहिलो आधिकारिक नेपाल टुर हो । यस सांगीतिक यात्राका अन्य कार्यक्रमहरू कात्तिक १६ गते पोखरा, कात्तिक २४ गते इटहरी र मंसिर १ गते काठमाडौंमा आयोजना गरी समापन हुने छ ।