कार दुर्घटनामा त्रिविका सहप्राध्यापक भण्डारीको मृत्यु

मेचीकाली संवाददाता

१६ असार २०७८, बुधबार
680 shares

बुटवल, असार १६ । रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा भएको कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शंकर भण्डारीको मृत्यु भएको छ ।

चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टमा बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परेको हो । सडकबाट कार खोलामा खसेपछि गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारीको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्‍याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । कार भण्डारी आफैले चलाएका थिए । कार खोलामा खसेपछि घाइते भएका उनको खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो ।

भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । उनी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत थिए। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले भण्डारीसँगै आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको जानकारी दिए।