लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन: चार महिनामा २५ प्रतिशत भौतिक प्रगति

मेचीकाली संवाददाता

१३ असार २०८२, शुक्रबार
88 shares

अमृत गिरी

बुटवल। बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन तीव्र गतिमा अगाडि बढिरहेको छ । मुलुकमै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको सरकारी अस्पताल बन्ने उद्देश्यसाथ निर्माण भइरहेको यो भवनले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको छ । निर्माण कार्यको जिम्मा लिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । यो निर्माण सुरु भएको करिब चार महिनाको अवधिको तथ्याङ्क हो ।

मुख्य संरचना बेसमेन्टसम्म तयार, क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ । दोस्रो बेसमेन्टको ढलान सकिएको छ भने लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीले जानकारी दिए । त्यस्तै, क्यान्सर उपचार भवनको ¥याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको छ ।

अवरोधविना कार्य, सम्झौताअघि सम्पन्न गर्ने लक्ष्य
‘हालसम्मको कार्ययोजना र प्रगति तुलना गर्दा काम निर्धारित ढाँचामा अघि बढेको छ,’ प्राधिकरणका सीइओ इन्जिनियर छवी पोखरेलले बताए । कुनै प्राकृतिक विपत्ति वा आर्थिक संकट नभएमा यो आयोजना सम्झौता भएको समयभन्दा अघि नै सम्पन्न हुने इन्जिनियर पोखरेलको दाबी छ ।

पाँच वर्षभित्र ६ अर्ब १८ करोडको परियोजना
सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ रहने अनुमान गरेको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ । विसं.२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । ५ वर्षको म्याद (२०८५ पुस २५) भित्र ६ अर्ब १८ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको प्राधिकरणका साइट इन्जिनियर सुवेदीले बताए ।

अत्याधुनिक संरचनाः १२ सय बेड, एकीकृत विशेषज्ञ सेवा
नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपीडी, आपत्कालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको थियो । अहिले सोहीअनुरुपको निर्माणकार्य भइरहेको छ । यसको सुपेरीवेक्षणसमेत निरन्तर भइरहेको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रोएन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् ।

गुणस्तर अनुगमनमा काठमाडौँ विश्वविद्यालयको दक्ष टोली
अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाण्डौ विश्वविद्यालयअन्तर्गतको ‘काठमाण्डौ यूनिकसल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको छ । प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको छ ।

२२० जनाको निर्माण टोली खटिएको
निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा विभिन्न कार्यमा खटिएका छन् । उनीहरुले रातिमा समेत सिफ्ट र सेफ्टी मिलाएर धमाधम काम गरिरहेको प्राधिकरणका साइट इन्जिनियर सुवेदीले बताए । कामदारहरुमा ‘सेफ्टी फस्ट’ को मापदण्ड लगाएर काममा खटाइएको छ ।

ऐतिहासिक अस्पतालको विकास यात्रा
राणाकालका प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १९६७ सालमा ६ बेडको रूपमा स्थापना भएको अस्पताल २०२४ मा ५०, २०५० मा १००, २०७२ मा सरकार र विकास समिति समेटेर ४०० बेडमा विस्तार भएको थियो । हाल ५३० भन्दा धेरै बेड सञ्चालनमा छन् । अस्पतालबाट दैनिक ३ हजार बिरामी ओपीडी सेवा लिन्छन् भने वार्षिक १० लाखभन्दा बढी बिरामीले सेवा लिइरहेको अस्पतालका प्रशासन प्रमुख राजन केसीको भनाइ छ । ११५ वर्ष पुरानो अस्पतालका २०१६ सालमा बनेका पुराना संरचना भत्काइएको छ । डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति, महिला तथा बालरोग, जनरल वार्ड र शल्यक्रिया भवनहरू यथावत राखिएको केसीले बताए ।

१७ भन्दा बढी विभागीय सेवा, ७४ विशेषज्ञ चिकित्सक
अस्पतालका सूचना अधिकारी ज्ञानहरि मरासिनीका अनुसार अहिले जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, सर्जरी, अर्थोपेडिक, प्लास्टिक सर्जरीलगायत १७ भन्दा बढी विभागीय सेवा, साथै प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, ईईजी र इकोकार्डियोग्रामलगायत परीक्षण सेवाहरू सञ्चालनमा छन् । हाल अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी, साथै सरकार र विकास समितिबाट सयौं कर्मचारी कार्यरत छन् । भवन निर्माणसँगै जनशक्ति र प्रविधिमा थप सुधार गरिने सूचना अधिकारी मरासिनीको भनाइ छ ।