गुणस्तरीय परीक्षण सेवामा अग्रसर जनस्वास्थ्य प्रयोगशाला

–सिकलसेलदेखि क्यान्सरसम्म निशुल्क परीक्षण, एक वर्षमा ६०० भन्दा बढी परीक्षण सेवा, आइएसओ मान्यताका लागि पहल जारी

मेचीकाली संवाददाता

२० श्रावण २०८२, सोमबार
32 shares

मिलन गाहा

बुटवल । लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगरमा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउँदै उच्चस्तरीय गुणस्तरीय परीक्षण सेवा दिँदै आएको छ । अत्याधुनिक उपकरणले सज्जित यो प्रयोगशालाबाट सिकलसेल, क्षयरोग, क्यान्सरदेखि कोभिड–१९ र यसको भेरियन्टसम्मको परीक्षण सहज रुपमा उपलब्ध छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पहलमा निर्माण गरी पछि लुम्बिनी प्रदेश सरकारलाई करिब डेढ वर्षअघि हस्तान्तरण गरिएको थियो । प्रयोगशाला हाल प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत सञ्चालनमा छ रहेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए ।

प्रयोगशालाका प्रमुख राजेशकुमार गुप्ताका अनुसार यहाँबाट माइक्रोबायोलोजी, इम्युनोलोजी, प्याथोलोजी र मलिक्युलर विश्लेषण जस्ता विशिष्टीकृत सेवा दिइँदै आएको छ । विगत एक वर्षदेखि परीक्षण सेवा सुरु गरेको यस प्रयोगशालाबाट प्रदेशका १२ वटै जिल्लाका रिफर केसहरू परीक्षण हुँदै आएको र एक वर्षमा ६ सयभन्दा धेरैको परीक्षण गरिएको गुप्ताले बताए ।
८ करोड ७० लाख रुपैयाँभन्दा बढीको लगानीमा निर्माण भएको भवन सेभ द चिल्ड्रेनमार्फत प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । यस परियोजनामा ग्लोबल फन्ड, यूकेएडलगायतका दातृ निकायहरूको आर्थिक तथा उपकरण सहयोग र सहकार्य रहेको थियो ।

स्वास्थ्य मन्त्री सारुले यस प्रयोगशालालाई प्रदेशभित्रको विविध स्वास्थ्य समस्या समाधान गर्ने प्रयासको महत्वपूर्ण पाटो भएको बताएका छन् । प्रयोगशालामा ३० जना दक्ष प्राविधिक कर्मचारी कार्यरत छन् भने सबै प्रक्रिया प्रविधिमैत्री बनाइएको छ । क्युआर कोडमार्फत रिपोर्ट पढ्न सकिने पनि व्यवस्था गरिएको अधिकृत शिवहरि मरासिनीले बताए ।

यस प्रयोगशालाबाट सिकलसेल, थालासेमिया, एचआइभी, पाठेघरको क्यान्सर, मलेरिया, क्षयरोग (जिनएक्सपर्टसहित) लगायतका परीक्षण निशुल्क गरिँदै आएको छ । मिर्गौला, फोक्सो, थाइराइड, विभिन्न हर्मोन परीक्षणजस्ता सेवा भने न्यून शुल्कमा उपलब्ध रहेको प्रयोगशालाका प्रमुख गुप्ताको भनाइ छ । परीक्षणका विषयमा नागरिक वडापत्रमार्फत बाहिरै सार्वजनिक गरिएको र सहज सेवा प्रवाह गरिएको उनको दाबी छ ।

प्रयोगशालामा जडान गरिएका अत्याधुनिक स्वचालित मेशिनहरूले परीक्षणको विश्वसनीयता र गुणस्तरमा सुधार ल्याएको छ । प्रमुख गुप्ताका अनुसार यो प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता आइएसओ प्राप्त गर्नका लागि प्रक्रिया अघि बढाइएको छ र एक वर्षभित्रमा प्रमाणिकरण प्राप्त हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारद्वारा स्थापित यो प्रयोगशालाले न केवल नागरिकलाई सहज सेवा दिइरहेको छ, प्रदेशको राजस्व वृद्धिमा समेत योगदान पु¥याएको छ ।