विगतको सम्मान गरौँ !

मेचीकाली संवाददाता

२३ आश्विन २०८२, बिहीबार
108 shares

घनश्याम कोइराला

मानिसहरूले केही नयाँ गर्ने भनेपछि आफूभन्दा अघिल्लो पुस्ताभन्दा फरक गर्ने भन्ने बुझिन्छ । मानवजातिले यो काम विभिन्न ढङ्गले गदैआएको छ । नयाँ होस् वा पुरानो, यसको निर्माता प्रकृति हो, समय हो । तर, प्रकृतिले, समयले जेजति गर्छ, त्यति मात्र गरेर पुग्दैन, मानिसले आफ्नो अनुकूल बनाउने प्रयत्न गर्दैआएको छ, गरिरहन्छ । समय त एउटा नापो मात्र हो ।

समयभन्दा ठूलो निर्देशक केही र कोही पनि छैन । यसलाई राक्न सकिँदैन । यो चलिरहन्छ, हिँडिरहन्छ र बितिरहन्छ । मानिसले यसलाई टुपुक्क नाप्न पनि सकिँदैन । नाप्दानाप्दै यो अघि बढिरकेर ‘भूत’ बनिसकेको हुन्छ । यसको गतिलाई नियन्त्रण गर्न नसके पनि मानवजातिले यसको नामकरणसम्म गर्न सिकेको रहेछ—भूत, वर्तमान र भविष्य । मानिस आफूले लगाएको लुगा पुरानो भएर च्यातिएपछि त्यसलाई प्mयाँक्दछ र नयाँ लगाउँछ । अहिले पुरानो भएर प्mयाँकिएको लुगा पनि आज पहिरिँदै गरेको जत्तिकै नयाँ थियो । तर, के गर्नु ? आङ् र लाज ढाक्न नसकेपछि त्यसले अवकाश पाउनु स्वाभाविक हो । त्यो कुनै जमानाको नयाँ लुगा विस्तारै अस्तित्व विहीन बन्न पुग्दछ ।

कसैकसैले मानिसको विषयमा पनि यसरी सोच्दछन् र आफ्ना पुर्खा र बाआमाप्रति पनि यस्तै संवेदनाहीन सोच बनाउँछन् । जीवनको विषयमा यसरी सोच्न सकिँदैन र सोच्न पनि हुँदैन । मानिस मरेर गए पनि हामीलाई महत्वपूर्ण योगदान दिएर, हामीलाई जीवन दिएर अमर भएका हुन्छन् । तर, जीवनचक्रका हिसाबले उस्तै हो–नयाँ, पुरानो नष्ट…। यो जीवनचक्रको मात्र विषय हो, योगदान र महत्वका दृष्टिले इतिहास वर्तमानको जग हो । यही जगमा उभिएर नै भविष्यमा केही हुने हो । भनिएको छ, ‘प्रासादस्य विनिर्माणे मूलभित्तिरपेक्षते ।’ अर्थात्, ठूलो भवन निर्माणमा जग अनिवार्य हुन्छ । कुनै पनि निर्माण वा सिर्जनाको आधार ‘शून्य’ हुन सक्दैन ।

आफ्नो जीवनको मूल्य, आत्मसम्मान र सफलताको चाहना राख्ने मानिसले विगतप्रति आदर वा सम्मान गर्नैपर्ने हुन्छ । हिजोेको भूत (विगत) वर्तमान (आज) र भविष्य (भोलि) बन्ने हो । हरेक भोलि आजहुँदै हिजो बन्ने हो । त्यसैले हरेक मानिसले विगतप्रति सम्मान गर्नु पर्दछ । यो विगत भनेको इतिहास हो । विगत पूर्वज–पुर्खा, बाअमा र अग्रज हुन् र विगत आफ्नै पनि हुन्छ ।
पूर्वज–पुर्खा र बाआमासँग विगतको अनुभवहरूको भण्डार हुन्छ । वहाँहरू जीवित हुँदा तपाइँहाम्रो इतिहास जीवित रहेको छ । वहाँहरू नै तपाइँ–हाम्रा जीवत इतिहास हुनुहुन्छ । वहाँहरू जीवित नहुनुभएको अवस्था छ भने अब यो इतिहासको जिम्मेवारी तपाइँ–हामीमा सरेको छ–विरासत, नासो वा धरोहरका रूपमा ।

तपाइँहाम्रो विगतले नै तपाइँहामीलाई जन्माएको, हुर्काएको, परम्परा तथा नामथर, राष्ट्रियता, धर्म, संस्कृतिका रूपमा पहिचान र शिक्षा दिएको छ । तिनै पहिचान र शिक्षालाई फेर्ने, हटाउने, समृद्ध पार्ने काम हामी गरिरहेका छौँ । सोचौँ त यी सबै हामीले आफै सिर्जना गर्न परेको भए……? !

विगतको सम्मान गर्नु भनेको आफ्नो पनि सम्मान हुनु हो । तपाइँहामी आफ्नो जमानाका जतिसुकै सुन्दर, बुद्धिमान, बलियो र सक्रिय छौँ, विगतकै कारणले छौँ अर्थात् यसमा विगतको योगदान छन् । आफ्नो जमानाको जतिसुकै सुन्दर, बुद्धिमान, बलियो र सक्रिय भए पनि अर्को जमानाले ती सबैलाई विगतमा धकेलिदिन्छ, कुनै पनि मानिस त्यस्तै रहिरहन सकिँदैन । विगतप्रति सम्मान गर्नु भनेको आफूभन्दा पाका–पुराना, अग्रजहरूका अनुभवहरूबाट लाभान्वित हुनु हो । वहाँहरूका कुरा सुन्नु, भावना बुझ्नु र वहाँहरूका अनुभव र ज्ञानलाई सम्मान गर्नु र कृतज्ञ हुनु हो । वहाँहरूका कुरा सुनिरहँदा आफूलाई मनपर्ने वा मन नपर्ने दुवै हुन सक्दछ । मन परेको त परि नै हाल्यो, त्यो मज्जाले पचाइन्छ, मन नपरेको चाहिँ अलि पच्दैन । तर, ती मन नपरेकाभित्र के होला ? किन मन नपरेको होला ? यस्तो किन भनिएको होला ? भनेर सोच्न सकिन्छ र यस्तो मन नपर्ने विषय अरूलाई भन्न हुँदो रहेनछ भन्ने शिक्षा त अवश्य नै लिन सकिन्छ । विगत फेर्न नसकिने भएको हुनाले त्यसको विरोध गर्नुको, त्यसलाई सत्तोसराप गर्नुको कुनै अर्थ छैन । तपाइँहामी आफैँ पाको–पुरानो र अग्रजका स्थानमा पुग्दा आफूले पनि त्यही पाइने मेसो हो ।

हाम्रो संस्कृति विगतप्रति कृतज्ञ हुने संस्कृति हो । विगतलाई तिर्ने कुरा के नै हुन्छ र ? हामीले तिरेको लिइदिने को नै हुन्छ र ? त्यसैले हाम्रो संस्कृतिमा इतिहासको सम्मान गर्ने प्रचलन छ । यस्तो प्रचलनका रूपमा विभिन्न पर्वहरू मनाउने गरिँदैआएको छ । शिवरात्रि, कृष्णजन्माष्टमी, रामनवमी, बुद्धजयन्ती, क्रिसमस, ईद (मुहम्मद पैगम्बर जयन्ती) आदि मनाउने गरिन्छ । यी पर्वहरू आआफ्नो आस्था, मान्यताअनुसार मनाइन्छ र आराध्यहरूको जीवनबाट शिक्षा–प्रेरणा लिने गरिन्छ । त्यसरी नै अन्य विशिष्ट व्यक्तिहरूको जयन्ती, स्मृति दिवस मनाउने गरिन्छ ।

सनातन संस्कृतिमा काजकिरिया गर्ने प्रचलन छ । किरिया गर्नु सहज छैन तर मरेर गएका बाआमालगायत आफन्तप्रतिको सम्मानका लागि यस्तो गर्ने प्रचलन रहिआएको छ । यो एउटा प्रसङ्ग हो । अझ बर्सैपिच्छे श्राद्ध गर्ने प्रचलन पनि रहिआएको छ । काजकिरिया, श्राद्ध आदि गर्नुलाई कसैकसैले अन्धविश्वास पनि भनेको सुनिन्छ । तरिका अरु पनि हुन सक्दछ, तर यी परम्परा विगतप्रति सम्मानका दृष्टिले महत्वपूर्ण छ । कतिपयले यस्तो अवसरमा अन्य कार्यक्रमहरू आयोजना गर्ने, मरेर गएका पूर्वज–अग्रजहरूको सम्झनामा छात्रवृत्ति कोश निर्माण गर्ने, छात्रवृत्ति प्रदान गर्ने, ग्रन्थहरू प्रकाशन गर्ने गरिएको पनि पाइन्छ । कतिपयले प्रतीक्षालय, धर्मशाला, विद्यालयका कोठा बनाइदिने गरेको पनि देखिन्छ ।

विगतप्रति सम्मान गर्नु भनेको अर्को विषय हो–विगतका सानोभन्दा सानो भए पनि आफ्नै सफलताको खोजी, विताइएका रमाइला क्षणहरू र जीवनमा घटेका घतलाग्दा घटनाहरूको सम्झना गर्ने, खुशी हुने र थप सफलताका लागि उत्साहसाथ अघि बढ्नु हो । समग्रमा विगत हाम्रो जीवनको, विकासको, पहिचानको आधार हो । आधारमा टेकेर नै अघि बढ्ने हो । विगत सच्याउन सकिँदैन, त्यसबाट शिक्षा लिन सकिन्छ । विगतलाई सम्मान गरौँ । वर्तमानमा पौरख गरौँ । भविष्यबारे सकारात्मक सोच राखेर अघि बढौँ ।

सकारात्मक सोच त्यस्तो सोच हो, जुन सोचमा हरेक विषय, घटना, व्यक्तिका असल कुराहरूमा ध्यान हुन्छ । प्रकृति र संस्कृतिका असल पक्षमा ध्यान दिइन्छ । सकारात्मक सोचलाई सिर्जनशील सोचका रूपमा लिन सकिन्छ । सकारात्मक सोच उज्यालो सोच हो । सकारात्मक सोचले मानिसलाई जुनसुकै अवस्था र परिस्थितिमा पनि अघि बढिरहन मद्दत गर्दछ । तर, यसले प्रतिकूलता नै छैन भन्ने कुरा गदैन बरु यसले प्रकृतिमा होस् या समाजमा राम्रो, नराम्रो, अँध्यारो, उज्यालो, काँडा, पूmल सबै छ, मानिसले त्यो खोज्नु, प्राप्त गर्नु र अवलम्बन गर्नुपर्छ जो अधिकतम कल्याणकारी छ । (लेखक कोइराला जीवनशैली अध्येता हुनुहुन्छ ।)