अब ब्युझने बेला भएन र ?

मेचीकाली संवाददाता

२० माघ २०८२, सोमबार
36 shares

कमल सिलवाल

अहिले नेपाली समाज चुनावी प्रतिस्पर्धा, वैचारिक ध्रुवीकरण, भ्रष्टाचार र सामाजिक अविश्वासको गहिरो संकटबाट गुज्रिरहेको छ । आज हाम्रो देशलाई चुनावी माहोलले तताएको छ । चुनावी प्रक्रियामा प्रवेश गरिरहेको यो अवस्थालाई सतहमा हेर्दा एक लोकतान्त्रिक अभ्यास को प्रकृयाका रुपमा हेर्न, बुझ्न र स्वीकार गर्न सकिएला, तर गहिराइमा हेर्ने हो भने यहाँ नैतिक चेतनाको संकट प्रष्ट देख्न सकिन्छ। नेतृत्वकर्ताहरू बीचको गाली(गलौज, समर्थकहरु बीचको द्वन्द्व, समाजमा बढ्दो अविश्वास, र भ्रष्टाचारको संस्थागत रूप, यी सबै केवल “राजनीतिक समस्या” होइनन्, यी मानव चेतनाको विघटनका लक्षणहरु पनि हुन् ।

गल्ली-गल्लीमा नारा घन्किएका छन्, चोक(चोकमा भाषण चर्किएका छन्, सामाजिक सञ्जालदेखि चिया पसलसम्म राजनीति नै मुख्य विषय बनेको छ। तर दुःखको कुरा, सेवा र समाधानको माध्यम हुनुपर्ने राजनिति, गाली, घृणा र विभाजनको कारण बनेको छ। नेतृत्व तहदेखि नै एकअर्कालाई दोषारोपण गर्ने चरित्र देखिएको छ भने, समर्थकहरू आपसमा शत्रु जस्तै व्यवहार गरिरहेका भेटिन्छन् । समाजमा लडाइँ(झगडा बढ्दो छ, भाइ(भाइबीच बोलचाल बन्द हुने अवस्था छ, र भ्रष्टाचार उच्च गतिमा फैलिइरहेको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ, के अब हामी ब्युझने बेला भएन र ?

हाम्रो समस्या बाहिर होइन, भित्र छ ।
हामी प्रायः सबै दोष नेतृत्व माथि थोपर्छौँ। “नेता खराब छन्”, “व्यवस्था असफल छ”, “सबै बिग्रिसक्यो” भन्ने गुनासो सर्वत्र सुन्न पाइन्छ। तर बुद्धले सिकाउनुभएको मूल सत्य के हो भने, समाजको रूपान्तरण व्यक्तिबाट सुरु हुन्छ, स्वयंबाट आरम्भ हुन्छ ।
बुद्धले भन्नुभयो:

मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया (धम्मपद) अर्थात “मन पुर्वगामी हो, मन नै सबै कुराको मूल हो ।”
यदि हाम्रो मनमै द्वेष, लोभ र अज्ञान छ भने त्यही मनबाट बनेको समाज कसरी शान्त, सुसंस्कृत र सभ्य हुन सक्छ रु
हाम्रा नेताहरू एक अर्कालाई दोष थोपरेर आफू सफा देखिन आतुर छन् । यस्तो लाग्छ सबै जना झगडालाई नै सफलताको सिढिं ठान्दछन् । यस्तो किन हुन्छ रु किनभने नेतृत्वकर्ताहरू पनि हाम्रो जस्तै मन लिएर त्यहाँ पुगेका हुन्। हामीमा जस्तै लोभ, द्वेष र अज्ञानले भरिएका छन् । यदि हामी स्वयम् परिवर्तन हुँदैनौँ भने, सत्तामा पुगेका व्यक्तिहरूबाट मात्र चमत्कारको अपेक्षा गर्नु आत्म(भ्रम मात्र होइन र ?

लोभ, द्वेष र मोह, समाजका वास्तविक शत्रु हुन् ।
बुद्धले जीवनभर सिकाउन खोज्नु भएको कुरा भनेकै स्वयंसँग स्वयंको प्रत्यक्षीकरण हो । अत्ता हि अत्तनो नाथो, कोही नाथो परो सिया (धम्मपद), बुद्ध भन्नु हुन्छ, मानिस आफ्नो मालिक आफैँ हो, अरु कोही हुनै सक्दैन । स्वयंले स्वयंको निरीक्षण गर्नु पर्दछ । आफुमा भएका अकुशल तत्वहरुको सरसफाइ गर्ने दायित्व पनि आफ्नै हो । बुद्ध शिक्षामा तीन प्रकारका तत्वलाई विष भनिएको छ, लोभ, द्वेष, र मोह ।
आजको परिवेशमा राजनैतिक, प्रशासनिक, व्यापारिक र सामाजिक सम्बन्ध यही तीन विषबाट प्रभावित भएको पाइन्छ । यी विषहरु यस्त डरलाग्दा हुन्छन् जसले मान्छेलाई मान्छेका रुपमा व्यवहार गर्नबाट वन्चित गराउँदछन् ।
–लोभले भ्रष्टाचार जन्माउँछ ।
–द्वेषले हिंसा र घृणा फैलाउँछ ।
–मोहले सत्य देख्न नसक्ने बनाउँछ।

जब नेतृत्वकर्ताहरु सत्ताको लोभमा अन्धा हुन्छन्, समर्थकहरु द्वेषमा डुब्छन्, र जनताहरु मोहमा परेर झुटा आश्वासनमा फस्छन्, त्यस्तो बेला समाज पतनतर्फ उन्मुख हुनु निश्चित हुन्छ । बुद्धले तीन विषको मात्र चर्चा गर्नु भएन, तिनको औषधिका बारेमा पनि बताउनु भयो । यी तीन विषहरुको दहन गर्ने औषधि भनेको, शील, समाधि, र प्रज्ञा हो ।

शीलस: सही आचरण बिनाको राजनीति खोक्रो हुन्छ ।
आज हाम्रो राजनीतिको अभ्यासमा सहि आचरणको खडेरी परेको देखिन्छ। पद र शक्ति पाउन जे पनि गर्न हुन्छ भन्ने सोच हावी भएको पाइन्छ । बुद्धले भन्नुहुन्छ, सही आचरण बिना कुनै पनि प्रणाली टिकाउ हुँदैन ।

यदि नेतृत्वकर्ताहरूले झूट नबोल्ने, चोरी नगर्ने, हिंसा नगर्ने, दुराचार नगर्ने, नशा र भ्रष्ट सोचबाट टाढा रहने जस्ता आधारभूत आचरणगत मूल्य अपनाए भने समाजको स्वरूप नै बदलिन सक्छ । वास्तवमा नेता हुनु भनेको आदर्शको प्रतिक बन्नु हो ।
तर शील केवल नेताका लागि होइन, हामी सबैका लागि हो। जब मतदाता हामी नै लोभमा फँसेर भोट दिन्छौँ, जब हामी नै ससानो फाइदाका लागि नियम तोड्छौँ, तब भ्रष्टाचारले जरा गाड्छ, अनि मौँलाउँछ ।

करुणा र मैत्री: विभाजित समाजलाई जोड्ने एक मात्र सेतु हो ।
आज भाइभाइबीच बोलचाल बन्द छ, परिवार विभजित अवस्थामा पुगेको छ । पार्टी, जात, विचार र धर्मका नाममा मानिसहरू एक अर्काबाट टाढाटाढा भएका छन्। भोलि गर्नु पर्ने आदान प्रदानको स्वभाविक सामाजिक व्यवहारलाई समेत बिर्सिएको अनुभुति हुनथालेको छ । तर बुद्धले त त्यस्तो कहिल्यै सिकाउनु भएन । बुद्धको मूल शिक्षा त करुणा र मैत्रीको हो, जो आज पनि अत्यन्त सान्दर्भिक र अति आवश्यक बन्दै गएकोछ।

मैत्री भनेको “मेरो कारणले तिमीलाई हानि नहोस्” भन्ने भाव हो भने करुणा भनेको “तिमी दुखी हुँदा म पनि संवेदनशील हुन्छु” भन्ने अनुभूति हो ।
यदि हामीले फरक विचार राख्ने व्यक्तिलाई पनि अर्को आफु जस्तै मानवको रूपमा हेर्ने र सोही अनुरुपको व्यवहार गर्ने हो भने, संवादको ढोका खुल्छ। झगडा र बैमनस्यताको साटो समझदारी बिकसित हुन्छ ।

सही दृष्ट: परिवर्तनको लागि चालिएको पहिलो पाइला ।

बुद्धदृष्टि समानताको दृष्टि हो । बुद्धले सिकाउनुभएको अष्टाङ्गिक मार्गको पहिलो अंग नै सम्यक दृष्टि हो, अर्थात सहि दृष्टिकोण । दृष्टि मानसिक हुन्छ र मानसिक विकारले दृष्टिविकार उत्पन्न गर्छ । आज हाम्रो दृष्टि विकृत छ । हामी आज बाहिरको शत्रु खोज्न र त्यसलाई पराजित गर्न आतुर छौँ तर आफु भित्र रहेको अहंकार, लोभ र द्वेष जस्तो खतरनाक शत्रु देख्ने, पहिचान गर्ने र त्यसलाई नष्ट गर्ने तर्फ एक कदम पनि पाइला सार्दनौँ ।ूसील पतिट्ठायो नारो सपञ्ञो, चितं पञ्ञञ्च भावयं । आतापी निपको भिक्खु सो झमं विजटये जटंू (संयुक्त निकाय), अर्थात शीलमा दृढ भएर बसेको बुद्धिमान व्यक्ति, चित्त र प्रज्ञाको विकास गर्दै, उत्साही र सजग साधक बनेर, संसारको जटिल गाँठो (बन्धन) फुकाल्न सक्छ। प्रज्ञाको बाटोमा हिड्न थाल्यौँ भने समाजका सबै पाटाहरुमा सुव्यवस्था कायम हुन्छ, गर्न सकिन्छ ।

सही दृष्टि भनेको, आफू पनि समस्याको हिस्सा हो भन्ने स्वीकार गर्नु, अरूलाई दोष दिनु भन्दा पहिला स्व:परीक्षण गर्नु, र घृणाको सट्टा संवाद रोज्नु हो ।

के अब ब्युझने बेला भएन र ?
एक छिन सोचौँ, हामी कति समय अझै गाली, घृण र भ्रष्टाचारमै बिताउने ? कति पुस्ताले अझै अन्याय, डर र विभाजन सहने ? कति समय मान्छे बन्ने क्रममा मात्र रहने रु कहिलेदेखि मानवीय व्यवहार सहितको मान्छे हुने ?
बुद्धको शिक्षा कुनै धार्मिक कर्मकाण्डमा सीमित धर्मको देशना या उपदेश मात्र होइन, यो त जीवन र जगत परिवर्तनको एक मात्र उत्तम मार्ग हो। यदि हामीले यसलाई व्यवहारमा उतार्यौँ भने शान्त, सुसंस्कृत र सभ्य समाजको निर्माण सम्भव छ।
त्यसैले अब प्रश्न केवल नेतृत्वसँग होइन, हामी स्वयंसँग पनि पटक पटक सोधौँ,
–के हामी आफ्नै मन परिवर्तन गर्न तयार छौँ ?
–के हामी घृणाको साटो करुणाको मार्ग रोज्न सक्छौँ ?
–के हामी लोभको साटो सहि आचरणको बाटो समात्न तयार छौँ ?

यदि उत्तर “हो र सक्छौँ” भन्ने हो भने, अब अवस्य ब्युझने बेला भइसकेको छ । भवतु सब्ब मंगलम् ।
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फ अध्ययनरत विद्यार्थी हुन् ।)