बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा मंगलबारदेखि खेलकुद सप्ताह सुरू भएको छ । तीन दिनसम्म चल्ने ‘खेलकुद सप्ताह’ को आइतबार एक कार्यक्रमका बिच जिल्ला खेलकुद विकास समितिका प्रमुख चन्द्रकान्त आचार्य उद्घाटन गरे । सो अवसरमा बोल्दै संयोजक आचार्यले विद्यालय तहबाट नैं खेलकुदको विकास गर्न आवश्यक रहेको बताए । विद्यालयमा पढाइको अभिवृद्धि गर्दै खेलकुदको विकास गर्न पनि अपरिहार्य रहेको आचार्यले बताए । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्ने आचार्यको भनाइ छ ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले वार्षिक कार्यतालिकाअनुसार खेल महोत्सव गर्दै आएको बताए । प्राचार्य अधिकारीले विद्यालयबाट राम्रा राष्ट्रिय खेलाडी उत्पादन भइरहेको बताए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्कुललले तृतीय स्थान विद्यालयले हासिल गरेको जानकारी दिए । कार्यक्रममा विद्यालयका अध्यक्ष झविन्द्र अधिकारी, भवानी टोल विकास संस्थाका अध्यक्ष फूलमाया कार्की, नेत्र पाण्डेलगायतले बोलेका थिए ।
तीनदिन चल्ने खेल सप्ताहमा १ हजार ५०० विद्यार्थी सहभागी हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरीले जानकारी दिए । खेल सप्ताहमा भलिबल, एथलेटिक्स, टेबलटेनिस, हाइजम्म, लङजम्प, टफी बाइट, म्यूजिकल चेयर, क्रिकेट, कबड्डी, ज्याबलिङ थ्रो, रिले रेस, इन आउट, बेलुन ब्लास्ट, तेक्वान्दोलगायतका खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने विद्यालयका मावि संयोजक समिर अधिकारीले जानकारी दिए । विद्यालयले कक्षा ३ सम्मका विद्यार्थीहरुको प्रतियोगिता सकेर कक्षा ४ देखि १० सम्म मंगलबारदेखि सुरु गरेको हो ।
मंगलबार बिहान विद्यार्थीहरुले म्याराथुन पनि गरेका थिए । स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल विद्यालयमा २ हजार ५४७ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा मावि शिक्षक समिर अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
