बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन ‘स्वर्णप्राशन’

बुटवलमा असोज २९ गतेदेखि अभियान सुरू हुने

मेचीकाली संवाददाता

२८ आश्विन २०८२, मंगलवार
27 shares

रमेश पराजुली

बुटवल । बालबालिकाको शारीरिक, मानसिक वृद्धि विकाससँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रियस्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियान बुटवलमा पनि शुभारम्भ हुने भएको छ । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा यही असोज २९ गते बुधबारदेखि यो अभियान सुरु गर्न लागिएको कार्यालय प्रमुख डा.कलावती विश्वकर्माले जानकारी दिइन् ।

सोमबार आयोजना गरिएको बालबालिकाहरुका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख विश्वकर्माले केन्द्र र प्रदेश सरकारले बालबालिकाहरुका लागि सुरु गरेको नयाँ अभियान भएकाले आबश्यक छलफल र आबश्यक तयारी गरेर ‘स्वर्णविन्दु प्राशन’ खुवाउने कार्यक्रम सुरु गर्न लागिएको बताइन् । ‘यही असोज २९ गतेदेखि सुरु हुन लागेको ‘स्वर्णप्राशन’ अभियानका लागि आबश्यक तयारी अन्तिम चरण पुगेको छ ।’ उनले भनिन् । यो अभियानअन्तर्गत पहिलो चरणमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन लागिएको हो । बिहान ६ बजेदेखि १० बजेसम्म खालि पेटमा स्वर्णप्राशन खुवाइने कार्यालय प्रमुख विश्वकर्माले बताइन् । तोकिएको उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन समयमै ल्याउनसमेत उनले सबैलाई आह्वान गरिन् ।

अभिमुखीकरण कार्यक्रममा दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा.अर्जुनराज शर्माले ‘स्वर्णप्राशन’ के हो ? कुन उमेर समूहका बालबालिकालाई खुवाउने ? कसरी तयार गरिन्छ ? यसको मात्रा ? बारे विस्तृत जानकारी गराएका थिए । बालबालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने डा.शर्माले बताए । ‘स्वर्णप्राशन’ कम्तीमा ३० मात्रासम्म खुवाउदा राम्रो मानिन्छ । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खाली पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।
आधुनिक वैज्ञानिक दृष्टिकोणबाट ‘स्वर्ण बिन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत नानो–मेडिसिन र न्युरो–इम्युनोमोडुलेटर फर्मुलेसन हो । यसमा प्रयोग हुने ‘स्वर्णभस्म’ सामान्य सुन नभई विशेष प्रशोधन विधिबाट तयार पारिएको नानो कण हो, जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलनमा राख्ने क्षमता राख्छ ।

के हो स्वर्ण बिन्दु प्राशन ?
‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।

त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ । शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्व हो, जसले संक्रमणबाट बचाउँछ । यी तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा राम्रो प्रभाव पार्छ ।

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधिलाई ‘स्वर्णविन्दु प्राशन’ भनिन्छ । यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो । स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन् ।

स्वर्णविन्दु प्राशन नेपालका लागि नयाँ नाम हैन । नेपालको आयुर्वेद चिकित्सामा यो औषधि राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको डा.शर्माले जानकारी दिए । ब्राह्मी र शंखपुष्पी जस्ता जडीबुटीहरूमा पाइने नूट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने उनले बताए । परम्परागत रूपमा प्रयोग हुँदै आएको स्वर्णविन्दु प्राशन नेपाल, भारतलगायतका अन्य देशहरूले पनि प्रयोग गर्दै आएका छन् ।

स्वर्णविन्दु प्राशनमा सुन पनि मिसाइएको हो ?
स्वर्णविन्दु प्राशनमा सुन नै खुवाउने नभइकन सुनबाट बनेको सानो अंशमात्र हुने तर त्यसमा मह र घिउ मिसाएर बनाइएको डा.शर्माले बताए । सुनको भष्म एकदमै सूक्ष्म मात्रामा रहेको र यसको एक थोपा खुवाउने भएकाले यसको नाम नै स्वर्णविन्दु प्राशन भएको हो । आधुनिक रासायनिक परीक्षणमा स्वर्णभष्ममा सुन धातुकै स्वरूपमा भेटिने र कणको आकार ३० न्यानोमिटर जति हुने देखिएको विभिन्न वैज्ञानिक शोधपत्रहरूले जनाएका छन् । १ न्यानोमिटर भनेको १ मिटरको १ अर्बाैं भाग हो ।

औषधीको सम्मिश्रण अनुपात एवं उमेरअनुसारको मात्रा
स्वर्ण भष्म ३ मि.ग्रा, मह १ मि.ली, बाह्मी घृत २ मि.ली. ।
औषधी तयार गर्दा यही अनुपातमा सम्मिश्रण तयार गर्नुपर्छ । यसरी कुल घोलको सम्मिश्रण १ मि.ग्रा. स्वर्ण भष्म प्रति मि.लि. (घोलक) युक्त हुनुपर्छ । तयारी औषधी मात्रा १ थोपा बराबर ०.०५ मि.लि. हुनुपर्छ । जसअनुसार ६ महिनादेखि १ वर्षसम्मका बालबालिकाहरुलाई १ थोपा, १ देखि २ वर्षसम्म २ थोपा, ३ देखि ५ वर्षसम्मका लागि ४ थोपा खुवाउनुपर्छ ।

कसले खान हुँदैन ?
६ महिनामुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने डा.शर्माले बताए । यस्तै बालबालिकालाई स्वर्णप्राशन खाने दिन ज्वरो, रुघाखोकी, आउ, झाडापखाला, अरुची, पिनास, निमोनिया, खाना पचाउन समस्यालगायतका समस्या देखिएमा वा बिरामी भएमा अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन पनि डा.शर्माले सुझाव दिए ।

बालबालिकालाई सानैमा यो पोषक तत्व खुवाएमा पछि गएर स्वस्थ शरीर बन्ने भएकाले यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको डा.शर्माको दाबी छ । यो कार्यक्रमले रोग लाग्नुभन्दा पहिला नै प्रतिरक्षा प्रणाली बलियो बनाउने हुनाले निरोगी नेपाल अभियानलाई सहयोग पुग्ने उनले बताए । साथै बालबालिकालाई स्वर्णप्राशन निर्धक्क भएर खुवाउन पनि सबै अभिभावकलाई डा.शर्माले आग्रह गरे ।

यस्तै कार्यक्रममा लुम्बिनी आयुर्वेद चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटा, आयुर्वेद चिकित्सक योगेश ढकाललगायतले स्वर्णप्राशन केवल परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन भएकाले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने बताए । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका कविराज निरीक्षक यमलाल भुसालले स्वस्थ जनशक्ति उत्पादनका लागि यो कार्यक्रम प्रभावकारी हुने विस्वास व्यक्त गरे । साथै उनले यो अभियान सञ्चालनका लागि बुटवल उपमहानगरले आयुर्वेद चिकित्सालयसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

स्वर्णप्राशन कार्यक्रमलाई देशव्यापी रूपमा व्यवस्थित, सुरक्षित र एकरूपताका साथ सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ समेत स्वीकृत गरिसकेको छ । चालु आर्थिक वर्षमा २५ जिल्ला र आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी कार्यक्रम अघि बढाएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।